logo-img

मानव सिर्जित जलवायु परिवर्तनका कारण विश्व संकटमा छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरी प्रभावित क्षेत्रका मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौती रहेको बताएका छन् । मंगलबार ललितपुरमा इसिमोड स्थापनाको ४०औँ वार्षिकोत्सव समारोहमा नवनिर्मित भवनको उद्‍घाटन गर्दै उनले नेपालमा हिउँ पग्लिने, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले तहसनहस बनाएको बताए ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनजन्य घटनाका कारण देशको अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी पुगेको जिकिर गरे । उनले नेपाल जस्ता मुलुकले हरित गृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शून्य सरह योगदान गरे पनि जलवायु परिवर्तनको प्रभाव अत्यधिक रहेको बताए । 

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाल लगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुक रहेको बताए । उनले अहिलेको विश्व मानव सिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदूषणका कारणले संकटमा रहेको पनि बताए ।  

राष्ट्रपति पौडेलले आगामी दिनमा अहिले देखिएका महत्वपूर्ण मुद्दालाई समाधान गर्दै अघि बढ्नुपर्ने बताए । उनले इसिमोडलाई हिन्दुकुश हिमाली क्षेत्रबाट वातावरणीय सेवा प्राप्त गर्ने र यसको प्रभाव क्षेत्रमा रहेका झन्डै २ अर्ब नागरिक तथा सामुद्रिक तटका देशलाईसमेत साथ लिई थप सहकार्य गर्नु उपयुक्त हुने सुझाव दिए । 





  • प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार १३:२४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया