एनसेल सेयर खरिद-बिक्री प्रकरण : तात्यो सडकदेखि सदन, एक सातामा के-के भए ?

एनसेलको सेयर खरिद–बिक्री प्रकरणको विषयले पछिल्लो एक साता बजार तताएको छ । सर्वसाधारणमा मात्र होइन, यो विषयमा सडकदेखि सदनसम्म व्यापक चर्चा–परिचर्चा भइरहेको छ । 

नेपाल सरकार र नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई पूर्वजानकारी नै नदिई एनसेलको मुख्य लगानीकर्ता आजियाटाले आफ्नो ८० प्रतिशत सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बेचेको हो । खरिद–बिक्री विदेशमै हुनुले पनि ‘एनसेल बिक्री प्रकरण’ रहस्यमय देखिएको छ । त्यति मात्र होइन, करिब आठ वर्षअघि एक खर्ब ४३ अर्ब रुपैयाँमा खरिद भएको र निरन्तर नाफामा चलेको कम्पनी एनसेललाई आजियाटाले ‘कौडीको भाउ’मा बिक्री गर्नु थप उदेकलाग्दो विषय छ । 

आजियाटाले र स्पेक्ट्रलाइट युके लिमिटेडबीच ६ अर्ब ६० करोड रुपैयाँमा एनसेल बिक्रीको अनौठो व्यावसायिक डिल भएसँगै सर्वत्र यसको आलोचना भएको हो । वार्षिक ३५ अर्ब रुपैयाँभन्दा माथिको कारोबार गर्ने देशको ठूलो कम्पनी कसरी साढे ६ अर्ब रुपैयाँमै बिक्री भयो ? यसभित्रको रहस्य पर्दाफास हुन बाँकी छ । 

हेरौँ एक साताभित्रका गतिविधि

मंसिर १३ गते 

एनसेलबाट बाहिरिने आजियाटाको घोषणा



गत मंसिर १३ गते निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलबाट विदेशी लगानीकर्ता आजियाटा बाहिरिने घोषणा गर्यो । आजियाटा समूहको सञ्चालक समितिले नेपालको अवस्था चुनौतीपूर्ण रहेकाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको हो । एनसेलको आम्दानी निरन्तर खुम्चिएपछि कम्पनीले यस्तो निर्णय गरेको बताइएको छ ।

मंसिर १५ 



दुई महिनाअघि खोलिएको कम्पनीले किन्यो एनसेल

दुई महिनाअघि बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको सूचना सार्वजनिक भयो । नेपाली मूलका सिंगापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट युके लिमिटेडले यसअघि कम्पनीमा रहेको आजियटाको उक्त स्वामित्व खरिद गरेको हो । बेलायतको लन्डनस्थित वन फ्लिट प्लेसमा दर्ता ठेगाना रहेको उक्त कम्पनीको एनसेलमा प्रवेशसँगै स्वामित्व खरिदबिक्रीको नयाँ चरण सुरु भएको छ । उक्त कम्पनी असोज ९ गते दर्ता भएको देखिन्छ ।

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व स्पेक्ट्रलाइटलाई बिक्री गरेको आजियाटाले शुक्रबार विज्ञप्ति जारी गर्दै जनाएको थियो । नेपालको विद्यमान व्यावसायिक वातावरण र कर प्रणालीलाई कारण देखाउँदै आजियाटाले बाहिरिएको उल्लेख गरेको छ । 

एनसेल बिक्री गैरकानुनी भन्दै प्राधिकरणले सोध्यो स्पष्टीकरण

एनसेललाई सेयर किनबेचअघि स्वीकृति लिन नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन जारी गर्यो । एनसेलको ८० प्रतिशत हिस्सा बेलायती कम्पनीले किनेको सार्वजनिक भएपछि मात्रै नियामक निकायले निर्देशन दिएको हो । ‘त्यस कम्पनीको सेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको भनी विज्ञप्ति प्रकाशित भएको देखिएको र यस विषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा समाचार समेत प्रकाशित भइरहेको विषयमा प्राधिकरणको ध्यानाकर्षण भएको छ,’ प्राधिकरणले विज्ञप्तिमा उल्लेख छ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । त्यसैलाई आधार मानेर प्राधिकरणले बिक्रीको जानकारी गराउन एनसेललाई पत्राचार गरेको हो ।

आजियाटाको निर्णयविरुद्धको रिट, अदालतले दुवै पक्षलाई छलफलमा बोलायो

एनसेलमा रहेको सेयर बेच्ने आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । धितोपत्र बोर्डमा सूचीकृत भएर सेयर बेच्नुपर्ने व्यवस्था भए पनि त्यसो नगरी आजियाटाले सेयर बेच्ने निर्णय गरेको भन्दै गोकुलबहादुर रोकायाले रिट दर्ता गरेका थिए ।

कम्पनी रजिस्ट्रारको कार्यालयलाई विपक्षी बनाई परेको रिटमा न्यायाधीश दीपेन्द्र अधिकारीले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएका हुन् । अदालतले मंसिर २५ गतेको पेसी तोकेको छ । साथै, निवेदकको मागअनुसारको आदेश दिनुनपर्ने कारण भए १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत उच्चको आदेशमा भनिएको छ ।

मंसिर १७ 

लेखा समितिलेको प्रवेश दूरसञ्चार प्राधिकरणलाई सोध्यो प्रश्न

एनसेलको सेयर बिक्री तथा स्वामित्व हस्तान्तरणबारे प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर नौ प्रश्न सोध्यो ।  आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्टारको कार्यालय र प्राधिकरणलाई पनि समितिले आइतबारै पत्र पठायो । 


स्वामित्व हस्तान्तरण भएको सन्दर्भमा कम्पनीले सरकारलाई तिर्नुपर्ने कर के हुन्छ ? भन्दै समितिले प्रश्न गरेको छ । खरिद बिक्रीअघि प्राधिकरणलाई जानकारी गराउनु पर्ने/नपर्ने विषयमा पनि समितिले चासो दिएको छ ।

एनसेलको ८० प्रतिशत सेयर व्यवसायी सतिशलाल आचार्यको स्पेक्ट्रलाइट कम्पनीले मंसिर १५ गते खरिद गरेको थियो । खरिद बिक्रीबारे सार्वजनिक रुपमा प्रश्न उठ्न थालेपछि समितिले पनि विषय प्रवेश गराएको हो।

मंसिर १८

राजनीतिज्ञले उठाए प्रश्न

नेपालको निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको सेयर खरिदबिक्रीमा राजनीतिज्ञहरूले प्रश्न उठाए । कम्पनीमा रहेको मलेसियाली आजियाटा समूहको सेयर किनबेच अपारदर्शी भएको भन्दै विभिन्न राजनीतिक दलका नेताहरूले प्रश्न उठाएका हुन् । आठ वर्षअघि एक खर्ब ४३ अर्ब रुपैयाँमा खरिद भएको र निरन्तर नाफामा चलेको कम्पनी एनसेललाई आजियाटाले ‘कौडीको भाउ’मा बिक्री गर्नु रहस्यमय भएको उनीहरूको भनाइ छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एनसेलको सेयर खरिद–ब्रिकीमा अनियमित भएको भन्दै निष्पक्ष छानबिनको माग गरेको छ । बुधबार सिंहदरबारमा बसेको संघीय संसदको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा रास्वपाका सांसदहरूले एनसेलको सेयर खरिद–बिक्रीमा अनियमितता भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका हुन् । 

कार्यक्रममा रास्वपा सांसद विराजभक्त क्षेष्ठले भने, ‘एनसेल प्रकरणले देशमा कुन चरणको भ्रष्टाचार छ भन्ने कुरा देखाइदिएको छ । आजियाटा कम्पनीले जुन खालको नेपालको बारेमा अभिव्यक्ति दिएको छ, त्यसले भोलि नेपालका लगानीको वातावरण कसरी बन्छ ?’

एउटा कम्पनीको एकजना व्यक्तिले देशमा लगानीको वातावरण छैन भनेको भन्दै यसको जिम्मेवारी कसले लिन्छ भन्दै प्रश्नसमेत गरेका छन् । 

यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आजियाटाको सेयर खरिदबिक्रीमा तीन सवाल उठाएका छन् । उनले एनसेलको सेयर खरिदबिक्री प्रकरणले प्रथमदृष्टिमै ‘दालमा केही कालो भएको’ संकेत गरेको बताएका छन्। यसले नेपालमा वैदेशिक लगानीका गम्भीर समस्या उजागर गरेको उनले उल्लेख गरेका छन् । 
भट्टराईको पहिलो प्रश्न छ, ‘यदि साँच्चै कुनै विदेशी कम्पनी आफ्नो सेयर लगानी वास्तविक मूल्यभन्दा २८ गुणा कम मूल्यमा बेचेर बाहिरिन बाध्य भएको हो भने भोलि को लगानीकर्ता यहाँ भित्रिन्छ?’

‘त्यसो होइन र पुँजीगत लाभकर र अन्य कर छल्नकै निम्ति यो नाटक गरिएको हो भने देशलाई यस्ता छलकारी लगानीको के अर्थ रहन्छ?’, उनले अरु प्रश्न गर्दै भनेका छन्, ‘अर्बौं रकम बराबरका यस्ता हर्कत देशका ऐन नियमविपरीत हाकाहाकी कसरी हुनसक्छन् ? यसमा राज्यका विभिन्न अंगमा हालिमुहाली गर्नेहरूको संलग्नता नभइरहन सक्छ ?’ 

यसरी प्रश्न उठाउनेमा अरु पनि छन् । 

मंसिर १९

एनसेलको सेयर खरिदबिक्री चलखेलविरुद्ध प्रदर्शन

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले एनसेल कार्यालयअगाडि विरोध प्रदर्शन गर्यो । विद्यार्थीहरूले  एनसेलको सेयर खरिदबिक्री चलखेलविरुद्ध एनसेल कार्यालयअगाडि मंगलबार बिहान प्रदर्शन गरेका हुन् । नो ट्याक्स, नो सिम रिजेक्ट एनसेल, करछली गर्नेलाई कारबाही गर, पुँजीगत लाभकर छल्न पाइँदैन, आय व्यय सार्वजनिक गर, माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, विवादास्पद एनसेल सेयर बिक्रीको छानबिन गरजस्ता नारा लेखिएका प्लेकार्डहरू लिएर उनीहरू विरोधमा उत्रिएका थिए । आफ्ना माग पूरा नभएसम्म एनसेलका गाडी चल्न नदिने चेतावनीसमेत सो संगठनले दिएको छ । 

एनसेल सेयर खरिदबिक्रीमा सरकारको एक्सन, छानबिन समिति बन्ने

सरकारले एनसेलको सेयर खरिदबिक्री प्रक्रियाको छानबिन गर्ने निर्णय गरेको छ । सत्तारुढ दलहरुसँगको परामर्शपछि सरकारले खरिदबिक्रीका विषयमा केही स्वाभाविक प्रश्न उठेको भन्दै छानबिन गर्ने निर्णय गरेको हो । नियामक निकायलाई खरिदबिक्रीबारे जानकारी नगराएकोमा पनि ध्यानाकर्षण भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । 

सरकारका तर्फबाट वक्तव्य नै जारी गरेर नियामकको स्वीकृति र जानकारी बिना नै खरिदबिक्री भएको तथा प्रचलित कानुन, अन्तर्राष्ट्रिय विधिको पालना लगायतका विषयमा ध्यानकर्षण भएको जनाएको छ । 

मंसिर २० 

एनसेलको सेयर बिक्रीबारे जानकारी छैन– कम्पनी रजिस्टार

​कम्पनी रजिस्टारको कार्यालयले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबारे आफूहरुलाई आधिकारिक जानकारी नभएको जनाएको छ ।

लेखा समितिले सोधेको प्रश्नको बुधबार जवाफ दिँदै कार्यालयले एनसेलको सेयर खरिदसम्बन्धी कागजात पेस नगरेकाले आधिकारिकता थाहा नभएको जनाएको हो । कम्पनी रजिस्टार दीपककुमार पहाडीले लेखा समितिलाई जवाफ लेखेका छन्, ‘यस कार्यालयमा अभिलेख भएको एनसेल आजियटा लि.को सेयरधनी दर्ता किताबमा उक्त कम्पनीमा ८० प्रतिशत रेनोल्ड होल्डिङ्स लि.को नाममा रहेको देखिएको र सो सेयर खरिदबिक्री सम्बन्धी कुनै पनि कागजात यस कार्यालयमा पेस नगरेकाले सो सम्बन्धमा आधिकारिकता थाहा नभएको व्यहोरा अनुरोध छ ।’

एनसेलले पठायो सरकारलाई पत्र

एनसेल आजियाटाले सेयर खरिद–बिक्री सम्झौतामा नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ । एनसेल आजियाटाले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुधबार जवाफी पत्र पठाउँदै यस्तो प्रतिबद्धता जनाएको हो । मंसिर १५ गते सेयर खरिद बिक्रीको पूर्वस्वीकृति नदिई एनसेल आजियाटा बिक्री सम्झौतामा भएको खुलासा भएको थियो । सोलगत्तै प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेख्दै सेयरधनीको सेयर खरिद–बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था स्मरण गराएको थियो ।  

पत्रमा कम्पनीको सेयर धनी रेनोल्ड होल्डिङ लिमिटेडको शतप्रतिशत सेयर खरिद बिक्री गर्ने सम्बन्धमा आजियाटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडका बीच सेयर खरिद–बिक्री सम्झौता भएकोले त्यहाँको पत्रमा उल्लिखित दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) परिपालना प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लिखित सेयर खरिद कागजातहरू संकलन हुनासाथ तत्काल सो कागजातहरू संलग्न गरी प्राधिकरणसमक्ष सेयर खरिद–बिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने कम्पनीले जनाएको छ । 
एनसेल आजियाटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकोले आफ्नो कानुनी कर्तव्य पालनामा सदैव जागरूक र कटिबद्ध रहेको बताएको छ ।

एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न सरकारलाई निर्देशन दिएको छ । बुधबारको बसेको बैठकले सरकारलाई उक्त खरिदबिक्री सम्झौता रोक्न निर्देशन दिने निर्णय गरेको हो ।
यस्तै, लेखा समितिले एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । त्यस्तै, यस विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै बोलाउने निर्णय पनि गरेको छ ।

सत्तारुढ दलका नेता बालुवाटारमा, एनसेलको सेयर खरिदबिक्रीबारे छलफल

सत्तारुढ दलका नेताहरू बालुवाटारमा जम्मा भएका छन् । एनसेलको सेयर खरिदबिक्रीमा भएको चलखेलका विषयमा छलफल गर्न उनीहरू भेला भएका हुन् ।

आजै मात्र संसदीय समितिमा पनि यस विषयमा छलफल भएको थियो । सार्वजनिक लेखा समितिले यसअघि नै यस विषयमा चासो देखाएर नौ जिज्ञासाको जवाफ मागिसकेको छ ।

एनसेलले आफ्नो सेयर बिक्री गर्दा चलखेल गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । हिजो मात्रै सरकारले एनसेलको सेयर खरिद बिक्रीलाई लिएर सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउने निर्णय गरेको थियो ।

  • प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार १८:५३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया