logo-img

बंगलादेशको कारागारमा पाँच विपक्षी नेताको मृत्यु

बंगलादेशका प्रमुख विपक्षी दलका पाँच सदस्यको पछिल्लो दुई सातामा कारागारमा मृत्यु भएको अधिकारी र आफन्तहरूले आइतबार बताएका छन् । 

बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले आगामी जनवरी ७ मा हुन गइरहेको आमनिर्वाचनलाई बहिष्कार गरेको छ । उक्त निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिना पुनः निर्वाचित हुने निश्चित भएको छ । 
    
बिएनपीका अनुसार अक्टोबर २८ मा राजधानी ढाकामा विपक्षीहरूको एउटा विशाल र्यालीपछि भएको ‘अभूतपूर्व कारबाही’मा पछिल्ला पाँच सातामा उसको सम्पूर्ण नेतृत्व र २० हजारभन्दा बढी राजनीतिज्ञलाई पक्राउ गरिएको छ । प्रहरीले बिएनपीको गिरफ्तारीको आँकडालाई अस्वीकार गरेको छ, तर कति विपक्षी कार्यकर्तालाई हिरासतमा लिइएको हो भन्नेबारे कुनै विवरण सार्वजनिक गरेको छैन । 

कैदी परिवारका केही सदस्यसहित बिएनपीका केही हजार समर्थक कार्यकर्ताको रिहाइको माग गर्न आइतबार मध्य ढाकामा जम्मा भएका थिए । गत महिना न्युयोर्कस्थित ह्युमन राइट्स वाचले अक्टोबर २८ को र्यालीपछि कम्तीमा १० हजार विपक्षी समर्थकलाई गिरफ्तार गरिएको अनुमान गरेको थियो । 

प्रहरीका अनुसार सो र्यालीपछि भएको हिंसामा एक प्रहरी अधिकारी र पाँच सर्वसाधारणको ज्यान गएको तथा करिब तीन सय बसमा आगजनी भएको थियो । यद्यपि बिएनपी र सबैभन्दा ठूलो इस्लामी दल जमात–ए–इस्लामीले कम्तीमा २० मानिसको ज्यान गएको बताएका छन् । जमात–ए–इस्लामीमाथि गत महिना प्रतिबन्ध लगाइएको थियो । 

बिएनपीले पछिल्ला दुई सातामा हिरासतमा आफ्ना पाँच कार्यकर्ताको मृत्यु भएको गणना गरेको पार्टीका कानुन प्रमुख कैसर कमालले एएफपीलाई बताए । ‘हामी मृत्युको पूर्ण न्यायिक र निष्पक्ष अनुसन्धान चाहन्छौँ, यो गम्भीर छ,’ उनले भने, ‘राष्ट्रव्यापी कारवाहीमा गिरफ्तार गरिएपछि धेरै बिएनपी कार्यकर्तालाई प्रहरी हिरासतमा प्रताडित गरिएको थियो भन्ने हामीलाई थाहा भएको छ ।’





  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार २३:६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया