पर्यटकको रोजाइमा गाजा दह, सडक बिग्रिँदा भने पुग्नै मुस्किल

बागलुङको गाजाको दह गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा छ । हरेक वर्ष यहाँ हजारौं पर्यटक पुग्छन् । जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सीमानामा पर्ने गाजाको दह उच्च पहाडमा रहेको हुँदा आन्तरिक पर्यटकको रोजाइमा पर्छ । तर, यहाँ पुग्नका लागि राम्रो सडकको पहुँच नहुँदा यहाँ पुग्ने पर्यटक तथा स्थानीयले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् ।  

बागलुङको सिङ्गो दक्षिण भेगलाई जोड्ने गरी निर्माण भएको बागलुङ–सिगाना–बरेङ सडकको ट्रयाक खुलेको एक दशक बितिसक्दा पनि स्तरोन्नति हुन सकेको छैन । यस सडकलाई बागलुङ निर्वाचन क्षेत्र नम्बर १ को गौरवको आयोजनाका रूपमा राखिएको छ । बागलुङ बजारदेखि सिगानासम्मको सडकलाई स्तरोन्नति गर्न थालिए पनि सिगानादेखि बरेङसम्मको खण्ड भने जोखिमपूर्ण छ ।

गाजाको दह सिगाना र बरेङबीचमा पर्ने हुँदा यहाँसम्म जोडिने सडक स्तरोन्नति हुन सकेको छैन । यही सडक भएर जैमिनी नगरपालिका–३ दमेक र बरेङ गाउँपालिकाका नागरिक दैनिक सदरमुकाम बागलुङ बजार आउजाउ गर्छन् । जोखिमपूर्ण सडक कै कारण गाजाको दह पुग्ने पर्यटक पनि घट्न थालेका छन् । सिगानादेखि गाजाको दहसम्मको सडक स्तरोन्नतिका लागि स्थानीयले बारम्बार माग गरे पनि सुनुवाइ हुनसकेको छैन । 

बर्खामा हिलो र हिउँदमा धुलोले पर्यटकसमेत आजित बनेका छन् । दर्जनौँ हिमश्रृङ्खलाको दृश्य अवलोकन, ग्रामीण जनजीवन बुझ र उच्च पहाडको हावापानीसँग स्वादन गर्नका लागि यहाँ ओइरिने पर्यटक सडकको दुरावस्थाका कारण घट्न थालेको जैमिनी नगरपालिका–३ का प्रेमबहादुर विकको भनाइ छ । 

पहिले–पहिले दैनिक पर्यटक आउने गरे पनि अहिले निकै कम आउन थालेको उनले बताए । आफूहरू दैनिक यही सडक भएर सामान किनमेल र कामकाजका लागि बजार झर्ने भन्दै सडकमा भएको धुलो र ठूला–ठूला खाल्डाखुल्डीले यात्रालाई असहज बनाएको विकको गुनासो छ । लामो समयसम्म पनि सडक नबन्दा गाउँमा आउने पाहुना र गाजाको दहमा आउने पर्यटक बढाउन नसकिएको विकले बताए । 



नेताहरूले स्तरोन्नति गर्ने आश्वासन दिए पनि बजेट विनियोजन गरेर काम गर्न भने नसकेको उनको भनाइ छ । ‘यो सडक निकै साँघुरो छ, हिलो र धुलोको त झन् के कुरा गरौँ, भनिनसक्नु छ, जङ्गलबीच हुँदै आएको छ सडक, बर्खामा भत्किएपछि गाउँलेले नै खनेर बनाउँछन्,’ विकले भने, ‘सुरुमा ट्रयाक खोलेदेखि अहिलेसम्म एकपटक पनि सम्याउने, नाली निर्माण गर्ने काम भएको छैन, केही फराकिलो बनाएर नाली निर्माण गरिदिए त सहज हुन्थ्यो तर कसको ध्यान जाने ?’ 

बरेङ गाउँपालिका–२ का मीनबहादुर थापाले यो सडक स्तरोन्नति गर्न नसक्दा धेरैले ज्यान गुमाउनु परेको समेत सुनाए । सडक साँघुरो भएका कारण समय–समयमा दुर्घटना हुने गरेको उनको भनाइ छ । बजार पुग्ने मुख्य सडक भएकाले दैनिक सयौं मान्छे यही बाटो भएर यात्रा गर्ने थापाले बताए ।



स्थानीय, प्रदेश र केन्द्र सरकारसँग सडक स्तरोन्नतिका लागि माग गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ । बागलुङ बजारदेखि सिगानासम्मको सडक निर्माणको जिम्मा कर्ण बिल्डर्सले धमाधम गरेको थियो । तर, पछिल्लो समय भुक्तानी नपाएपछि काम रोकिएको छ । ३० महिनाको अवधि पाएको निर्माण कम्पनीले हालसम्म ४५ प्रतिशत बढी काम गरेको छ । भुक्तानी नपाएपछि करिब छ महिनादेखि काम रोकिएको हो । 

निर्माण कम्पनीका प्रमुख नवीन गुरुङले गत वर्ष गरेको कामको साढे २ करोड अहिलेसम्म पाउन नसक्दा काम रोक्न बाध्य भएको बताए । निर्माणका लागि सडक डिभिजन कार्यालयसँग २९ करोडको सम्झौता गरेको काम सुरु गरेको भन्दै हालसम्म साढे ९ करोड रुपैयाँभन्दा बढीको काम गरेको उनको दाबी छ । रासस

  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार १३:३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया