logo-img

‘वर्षमा तीन ठाउँ सर्ने भगवती माई आज माइत झरिन्’

सयौं मानिसको भीड । अघिअघि पञ्चेबाजासँगै युवाहरूले नाङ्गो खुडा, खुकुरी बोकेका छन् । दियो, कलश, शङ्ख, घण्ट पनि सँगसँगै छ । प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौं मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा गर्दै थिए । 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोटबाट भगवती माइको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेँसी सारिएको छ । सयौंँ मानिसको लावालस्करसहित रातो घुम्टोले सिँगारिएर त्रिपुरासुन्दरी भगवती माई आज बिहान माइत झरेकी छिन् ।  

भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइत र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ । यही परम्पराअनुसार आज बिहान भगवतीको घरको रूपले परिचित सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रूपमा चिनिने माइथानबेँसीको मन्दिरमा सारिएको स्थानीय शिवप्रसाद सापकोटाले जानकारी दिए । रोचक कुरा बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले छुन भने नपाउने उनको भनाइ छ । 

‘पहिलेदेखिको चलन यही हो । भगवानलाई छुन र हेर्न पाइँदैन । बाहिरबाटै दर्शन गर्ने फूलअक्षेता चढाउने हो,’ सापकोटाले भने । देवीको दर्शन गर्न सयौंको सङ्ख्यामा भक्तजनले मध्यरातिदेखि नै बाटो कुरेर बस्ने गर्दछन् । मूर्ति देख्न र छुन नपाए पनि गल्लीगल्लीमा जम्मा भएका भक्तजनले टाढैबाट दर्शन गर्ने गरिएको उनले बताए ।

वडादसैँको चतुर्थीका दिन पूर्वतर्फ दसैँ घरबाट मूल मन्दिर सल्यानकोट सारिएको मूर्तिलाई आइतबार बिहानै न्वाघी घर आगिन्चोक हाँसे बजार मन्दिरमा सारिएको हो । 

रानामगर, तिमिल्सिना र सापकोटा थरका पूजारीले त्रिपुरासुन्दरी भगवतीमाइको मूर्ति र सरसामानलाई आफ्नो पिठ्युँमा बोकेर यात्रा गराउन परम्परा रहेको सापकोटाले जानकारी दिए । वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ । रानामगर थरका स्थानीय पूजारी, सापकोटा र तिमल्सिना बाहेक अरू कसैले हेर्न र छुन नपाउने उनको भनाइ छ ।  



यी तीन थरिबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मूल ढोकाबाटै भगवतीलाई पूजाआजा गर्नुपर्ने नियम रहेको स्थानीय अगुवा कृष्णकुमार श्रेष्ठले बताए । उनका अनुसार यहाँ आइपुग्ने भक्तजनले आफ्नो मनोकाङ्क्षा पूरा गर्न परबाट नै देवीलाई फूलअछेताले पूजा गर्ने गर्दछन् । 

विवाहित नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दसैँ–तिहारलगायत चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाइँलाई तुलना गरिएको श्रेष्ठले जानकारी दिए ।



सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । जुन मामाघरको रुपमा प्रसिद्ध छ । रासस 

  • प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार १४:८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया