logo-img

नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघको सातौँ राष्ट्रिय अधिवेशन सुरु

नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघको सातौँ राष्ट्रिय अधिवेशन सुरु भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सातौँ राष्ट्रिय अधिवेशनको उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा. महतले संस्कृत शिक्षाको महत्त्व दिनप्रतिदिन बढिरहेको र विश्वस्तरबाटै संस्कृतको खोजी गर्न थालेपछि मात्र नेपालीहरुले संस्कृत शिक्षा पनि महत्त्वपूर्ण रहेछ भनी सम्मान गर्ने वातावरण बढ्न थालेकोमा खुसी व्यक्त गरे । 

'संस्कृत भाषा र यसभित्र रहेको विशाल ज्ञानराशिलाई हामीले जनतासमक्ष पनि चिनाउनु पर्छ,’ अर्थमन्त्री महतले भने, ‘सारासंसारले यसको खोजी गरिरहेको छ, तर हामीहरु संस्कृत कण्ठस्थ सुनाउनेमा मात्र सीमित भएका छौँ ।'

संस्कृत शिक्षाको सर्वस्वीकार्यता बढे पनि नेपालमा यसको अपेक्षाकृत विकास हुन नसकेको उनको भनाइ थियो । संस्कृत शिक्षाको विकासका लागि नेपाल सरकारले सक्दाे सहयोग गर्ने उनले बताए । 


 
नेपालकै दाेस्राे विश्वविद्यालय नेपाल संस्कृत विश्वविद्यालय २०३३ सालमा महाविद्यालयका रुपबाट विकसित हुँदै २०४३ सालमा यसको विधिवत् स्थापना भएको थियो । 

यो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयपछिको दोस्रो तथा पूर्वीय वाङमयमाथि अध्ययन गराउने दक्षिण एसियाकै प्रतिष्ठित विश्वविद्यालयका नाउँमा चिनिन्छ । यस विश्वविद्यालयले उत्पादन गरेका विज्ञहरु आज बेलायत, जर्मनी, भारत, चीनदेखि विश्वका प्रतिष्ठित विश्वविद्यालयहरुमा अध्यापन तथा अनुसन्धानमा संलग्न छन् । 



विश्वविद्यालयहरु खोल्ने होड चलिरहेजस्तो देखिने नेपालमा पुराना विश्वविद्यालको संरक्षण र सम्बद्र्धन तर्फ भने सरकारको पर्याप्त ध्यान नगएको विज्ञहरुको गुनासो छ । 



मुलुकमा यतिबेला डेढ दर्जनभन्दा बढी विश्वविद्यालय सञ्चालनमा छन् । तर, प्राचीन संस्कृत भाषा, सभ्यता र त्यससम्बद्ध विशाल वाङमयको अध्ययन गराउने संस्कृत विश्वविद्यालयलाई युग सुहाउँदो अध्ययन तथा अनुसन्धानका लागि युग सुहाउँदो सुविधासम्पन्न गराउनेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने प्राध्यापकहरुको माग छ । 

देशैभरबाट करिब एक सय हाराहारी प्राध्यापक प्रतिनिधि सहभागी हुने यो अधिवेशनले अबको तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । आयोजक ने.सं.वि. प्राध्यापक संघ अनुसार यो अधिवेशनको बन्द सत्र शनिबार प्रदर्शनमार्गस्थित वाल्मीकि विद्यापीठमा चलिरहेकाे छ ।

  • प्रकाशित मिति : मंसिर ३०, २०८० शनिबार १२:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया