logo-img

काठमाडौंका तीन पालिकामा अझै लागू भएन स्वास्थ्य बीमा कार्यक्रम

देशभरि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौं जिल्लाका तीन पालिकामा अझै सुरु भएको छैन । काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकामा बीमा कार्यक्रम अझै सुरु भएको छैन । ललितपुर महानगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बीमा कार्यक्रमको सुरुआत गरेका हुन् ।   

सबै नागरिकलाई सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि २०७२ सालदेखि बीमा कार्यक्रम कार्यान्वयनमा आएको थियो । बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले तीन स्थानीय तहको प्रथम सेवा विन्दुको निर्क्यौल नभएकाले लागू गर्न समस्या भइरहेको छ ।  

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल अस्पताल, निजामती कर्मचारी अस्पतालमा प्रथम सेवा विन्दुबाट रिफर गरेर आएका बिरामीको चाप रहेकाले ती अस्पतालले तीनवटा स्थानीय तहको प्रथम सेवा विन्दु मान्न तयार नभएको उनको भनाइ छ । 

काठमाडौं महानगर पालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले चाँडै नै महानगरले बीमा कार्यक्रम लागू गर्नका लागि स्वास्थ्य बीमा बोर्डसँग सम्झौताको तयारी गरेको जानकारी दिए । उनले वडा कार्यालयमा रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई प्रथम सेवा विन्दुका रूपमा रहने जानकारी दिए ।   

उनका अनुसार ३२ वडामध्ये २४ वडामा रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र उपकरण र जनशक्तिको सबै तयारी पूरा गरिसकेको र अन्य वडामा पनि तयारी सुरुआत गरिएको छ । बोर्डमा हालसम्म ७४ लाख बीमित भइसके पनि करिब ४७ लाख मात्र सक्रिय रहेका छन् । 

२५ चैत २०७२ मा गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्‍याउनका लागि स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको थियो । अहिले ७७ जिल्लामा लागू गरिएको स्वास्थ्य बीमा बोर्डले एक लाखसम्म बीमित परिवारले निःशुल्क उपचार सेवा पाउनेछन् । रासस  





  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार १२:३७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया