logo-img

कांग्रेसमा जुँगाको लडाई : एकअर्कालाई ‘नेता’ नै मान्दैनन् खड्का र कोइराला

नेपाली कांग्रेसमा निरन्तर रहेको वरियता विवाद यति बेला छताछुल्ल भएको छ । १४ औँ महाधिवेशनपछि नेताहरूबीच एक अर्कामा को वरिष्ठ र को कनिष्ठ भन्ने आधारमा एकले अर्कालाई अस्वीकार गर्ने जुँगाको लडाई चलेको छ । महाधिवेशन सम्पन्न भए लगत्तै केन्द्रीय कार्यसमिति बैठकबाटै सुरु भएको त्यस्तो विवाद अहिले आएर छताछुल्ल बनेको हो । 

सभापति शेरबहादुर देउवासँग सभापतिमा पराजित नेता शेखर कोइराला र निर्वाचित उपसभापति पूर्णबहादुर खड्काले एक–अर्कालाई नेता स्वीकारेका छैनन् । कोइराला उपस्थित कार्यक्रममा खड्का पुग्दैनन्, खड्का पुगेका कार्यक्रममा कोइराला जाँदैनन् ।

खड्का र कोइराला पार्टीका बैठकबाहेक एउटै कार्यक्रममा सँगै उपस्थित नै हुँदैनन् । दोस्रो वरियता नपाउने अवस्था भए दुवैले कार्यक्रम बहिष्कार गर्दै आएका छन् । बिहीबार हुन लागेको मधेस प्रदेश सम्मेलनमा कोइरालाले सभापति देउवापछिको वरियता नपाउने भएपछि सम्मेलनमै नजाने निर्णय लिएका छन् । यसअघि सभापति देउवापछिको वरियतामा कोइरालालाई राखिएको भन्दै उपसभापति खड्का लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा गएनन् । 

हाल कांग्रेसको वरियता क्रममा सभापति देउवापछि उपसभापति खड्का छन् । तर पछिल्लो समय पार्टीकै दर्जनौँ कार्यक्रमहरूमा सभापति देउवापछिको वरियतामा नेता कोइरालालाई राखिएको छ । जहाँ उपसभापति खड्का सहभागी भएनन् । तर अर्का उपसभापति धनराज गुरुङसहित अन्य पदाधिकारीले भने कोइरालालाई देउवापछिको वरियतामा स्वीकारेका छन् । 

महाधिवेशनयता देउवा–कोइराला एकै मञ्चमा देखिएका सबैजसो कार्यक्रममा उपसभापति खड्का उपस्थित छैनन् । यसबाट विगतदेखि नै कोइराला र खड्काबीच वरियताको लडाइँ रहेको प्रस्ट छ । तर त्यो विवाद बिहीबार हुन लागेको मधेस प्रदेश सम्मेलनबाट छताछुल्ल भएको छ । 

जनकपुरधाममा हुने प्रदेश सम्मेलनमा प्रदेश कार्यसमितिले सभापति देउवासँगै पदाधिकारीलाई निम्ता गरेको छ । नेता कोइरालालाई पनि निम्ता गरेको छ, तर देउवापछिको वरियतामा राखेर विशिष्ट अतिथिका रूपमा होइन, केन्द्रीय सदस्यको रूपमा । 



यसअघि गण्डकी र लुम्बिनी प्रदेश सम्मेलनमा सभापति देउवापछिको वरियतामा विशिष्ट अतिथिका रूपमा आसन र भाषण पाएका कोइरालाले मधेसमा त्यो नपाउने भएपछि कार्यक्रममै नजाने निर्णय गरे । उनीनिकट नेताहरूले प्रदेश कार्यसमिति बैठकमा बुधबार ‘नोट अफ डिसेण्ट’ नै लेखे ।

नेता रविन कोइरालाले भने, ‘पार्टी सभापतिमा पराजित नेतालाई वरिष्ठ नेता मान्ने पुरानै संस्कार हो । लुम्बिनी र गण्डकीमा त्यो पालना भयो । हामीले मधेसमा पनि त्यसको पालना गरौँ भनेका हौँ । तर प्रदेश सभापतिले मान्नुभएन । त्यही भएर प्रदेश सम्मेलनमा हाम्रो नेता आउनुहुन्न ।’नेता कोइराला बिहीबार सुनसरीको इनरुवामा हुने कार्यक्रममा सहभागी हुँदै छन् । 



त्यसो त नेता कोइरालालाई सभापति देउवा स्वयम्ले भने वरिष्ठ नेताका रूपमा स्वीकारेकै अवस्था छ । देउवा प्रमुख अतिथि रहेका कार्यक्रममै कोइरालालाई वरिष्ठ नेताको सम्बोधन भइसकेको छ । नेताहरूका अनुसार उपसभापति खड्काकै कारण सभापति देउवाले कोइरालालाई वरिष्ठ नेता नबनाएका हुन् । 

वरियता निर्धारण गर्ने बेला नै संस्थापन इतर पक्षले नेता कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेको थियो । १३ औँ महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएपछि उनीसँग पराजित रामचन्द्र पौडेल वरिष्ठ नेता घोषित भए ।

सुशील कोइराला सभापति हुँदा देउवा नै वरिष्ठ नेता थिए । त्यही परम्पराअनुसार १४ औँ महाधिवेशनपछि देउवासँग पराजित शेखरलाई वरिष्ठ नेता बनाउनुपर्ने कोइरालानिकट नेताहरूको माग थियो । तर देउवाले मानेनन् । त्यही कारण महाधिवेशनपछि लगत्तै केन्द्रीय समिति बैठकमा वरियता विवाद चर्किएको थियो । 

उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापाले आफ्नो समूहका सभापतिका उम्मेदवार कोइरालालाई वरिष्ठ नेता बनाउन नसकेपछि कसैलाई पनि वरिष्ठ नेता घोषणा गर्न दिएनन् । त्यस बेला केन्द्रीय कार्यसमितिले बनाएको वरियता क्रममा कोइराला २५ औँ नम्बरमा छन् । 

त्यसयता सभापति देउवाले नेता कोइरालालाई निरन्तर पेलेर अघि बढे । तर आमनिर्वाचनअघि सिट बाँडफाँड गर्ने बेला भने देउवा–कोइराला सम्बन्ध उल्टियो । देउवालाई भेट्न समय माग्दा समेत नपाउने कोइराला पछि देउवाकै निमन्त्रणामा साँझ बिहान धुम्बाराही पुग्न थाले । 

संसदीय दलको निर्वाचनपछि देउवा–कोइराला सम्बन्ध झन् प्रगाढ बन्यो । त्यही बेला देउवाले कोइरालालाई वरिष्ठ नेता बनाउने आश्वासन समेत दिए । त्यस बेला कोइरालाले मन्त्री छनोटमा समेत आफ्नो समूहमा छलफल नगरी एकलौटी गरे । 

एक वर्षसम्म केन्द्रीय कार्यसमिति बैठक नबोलाउँदा समेत सभापति देउवालाई साथ दिएका कोइराला देउवाप्रति यति नरम देखिए कि त्यसबीचमा न उनको गुट बैठक चल्यो, न गुटको नेतृत्व । बरु त्यहीबीच कोइरालाका लागि केन्द्रीय कार्यालयमा अलग्गै कार्यकक्ष तयार भयो । 

श्रावण पहिलो साता बसेको केन्द्रीय कार्यसमिति बैठकमा देउवा पक्षका नेताले कोइरालाको प्रशंसा गरे, बैठकको शक्ति संघर्ष सभापति देउवा भर्सेस महामन्त्री थापा देखियो, कोइराला ओझेलमा रहे । नेताहरूका अनुसार कोइरालाले सो बैठकमा देउवाले आफूलाई वरिष्ठ नेताको घोषणा गर्ने अपेक्षा राखेका थिए । तर त्यस्तो घोषणा नभएपछि भने कोइरालाले आफू र सभापति देउवाबीच निकटता बढेको भन्ने समाचार मिथ्या भएको दाबी गरे । 

नेताहरूका अनुसार देउवालाई कोइरालालाई खड्काको असहमतिका कारण वरिष्ठ नेता बनाउन नसकेको बताएका छन् । त्यसयता देउवाले सार्वजनिक मञ्चहरूमा भने कोइरालालाई दोस्रो वरियतामै राखेर सम्बोधन गर्ने गरेका छन् । 

सभापति देउवाले भक्तपुर, नुवाकोट र ओखलढुंगा जिल्ला सम्मेलनमा पनि कोइरालालाई दोस्रो वरियतामा राखेर सम्बोधन गराए । जबकि लुम्बिनी र गण्डकीका प्रदेश सभापति कोइरालानिकट भए पनि ओखलढुंगा र भक्तपुर सभापति भने देउवानिकट नै हुन् । 

पार्टीमा पटक–पटक केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्री हुँदै उपसभापति निर्वाचित भएका खड्का कोइरालाभन्दा आफू सिनियर भएको दाबी गर्छन् । जबकि कोइराला भने यसअघि पार्टीको केन्द्रीय सदस्य मात्रै रहेका नेता हुन् । उनी १३ औँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । 

त्यसो त कोइराला र खड्काबीचको संघर्षलाई आगामी महाधिवेशनसँग समेत जोडेर हेर्न थालिएको छ । खड्का सभापति देउवापछि त्यही समूहबाट सभापतिको प्रत्याशी बन्ने दाउमा छन् भने अघिल्लो महाधिवेशनमा पराजित भएका कोइराला स्वाभाविक प्रतिस्पर्धी हुन् ।

गुट संरचनामा ठूलो फेरबदल नभए आगामी महाधिवेशनमा सभापतिका लागि कोइराला र खड्काबीचमै प्रतिस्पर्धा हुनेछ । महाधिवेशनका लागि आफ्नो पक्षमा माहौल बनाउनका लागि पनि कोइराला र खड्काबीच अहिल्यैदेखि अघोषित दौड सुरु भइसकेको छ ।  

  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार १२:३०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया