logo-img

जाडो मौसममा कस्ता खानेकुरामा जोड दिने ? यस्ता छन् पोषणविद्का सुझाव

चिसोयाम सुरु भइसकेको छ । जाडो मौसममा फ्लु, चिसो र अन्य संक्रमणको जोखिमबाट बच्नका लागि खानपानको महत्वपूर्ण भूमिका हुन्छ ।

चिसोमा सामान्यतः शारीरिक क्रियाकलाप पनि कम हुने हुँदा पनि स्वास्थ्य समस्या बढी निम्तिरहेका हुन्छन् । त्यसैले यस मौसममा खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । चिसोयाममा तापक्रम कम हुन्छ । अन्य समयको तुलनामा यस मौसममा भोक धेरै लाग्छ । 

चिसो मौसममा स्वतः चिसो हुने नै भइहाल्यो । यो मौसममा शरीरको तापक्रम पनि कम हुन्छ । त्यसैले शरीरको तापक्रमलाई सन्तुलनमा राख्नका लागि धेरै तागत/ऊर्जा चाहिन्छ । जसका लागि हामीलाई धेरै भोक लाग्ने, बेलाबेला खानेकुरा खाइरहनुपर्छ ।  

चिसोयाममा रोग प्रतिरोधात्मक क्षमता पनि कम हुने सम्भावना हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम हुँदा रुघाखोकी, ज्वरोले पनि सताउने हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि प्रोटिनयुक्त खानेकुरालाई प्राथमिकता दिनुपर्छ ।  

गेडागुडी झोल तथा क्वाँटीमा जोड

क्वाँटी तथा टुसा उम्रिएको गेडागुडीमा एन्टी–अक्सिडेन्ट, भिटामिन ए, बी, सी र ई प्रचुर मात्रामा पाइन्छन् । एन्टी–अक्सिडेन्टले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ । टुसा उम्रिएको गेडागुडीमा आइरनको मात्रा बढी हुने भएकाले यसले रक्तअल्पतालगायत रोगबाट पनि बचाउँछ । 



यस्ता गेडागुडीमा फस्फोरस, आइरन, क्याल्सियम, जिंक, म्याग्नेसियम आदिका मात्रा उच्च हुन्छन् । त्यसैले चिसोयाममा गेडागुडीको झोल तथा क्वाँटी जस्ता खानेकुरालाई बढी जोड दिनुपर्छ ।

हरियो सागपात 



चिसोयाममा प्रायः हरियो सागपात प्रशस्त मात्रामा पाइन्छन् । हरियो सागमा भिटामिन बी ६, भिटामिन बी १२, फोलेट र आइरन पाइन्छ । हरियो सागपातमा म्याग्नेसियम र क्याल्सियम पनि प्रशस्त हुन्छ । जुन हाम्रो स्वास्थ्यमा अपरिहार्य छ । नियमित हरियो सागपात खानाले विभिन्न रोगको जोखिमबाट बचाउँछ ।

कन्दमुल

पुस–माघमा प्रायः चिसोयामसँगै कन्दमुल पाइने मौसम समय पनि हो । पिँडालु सखरखण्ड, तरुलमा पाइने क्यालोरी स्टार्च, फाइबर, एन्टिअक्सिडेन्ट, क्यौरोटिनायड, भिटामिन ए, भिटा क्यारोटिनले हाम्रो स्वास्थ्यलाई चाहिने आवश्यक पोषक तत्व प्रदान गर्दछन् । यी खानेकुरालाई नियमित खाँदा रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्छ । 

तातो खानेकुरामा जोड

जाडोयाममा हामीले तातो खानेकुरामा बढी जोड दिनुपर्छ । चिसोयाममा सकेसम्म तुरून्त पकाएको खानेकुरा खानुपर्छ । यसले शरीरमा तातोपन बढाउनुका साथै चिसोले निष्क्रिय भएको शारीरिक अंगलाई फाइदासमेत पुर्याउँदछ ।

झोलिलो खानेकुरा खाने

चिसोयाममा झोलिलो खानेकुरा अत्यधिक मात्रामा खानुपर्छ । मांसाहारीले जाडोमा कुखुराको सुप बनाएर पिउनाले निकै लाभ मिल्छ । कुखुराको मासुले शरीरलाई तातो दिने काम गर्छ । यसले रुघाखोकीसमेत निको पार्छ । यस्तै, साकाहारीले गेडागुडी, दालको झोल अत्यधिक मात्रामा पिउनुपर्छ । 

मौसमअनुसारको फलफूल

हिजोआज सुन्तलाको मौसम छ । हामीले देख्छौँ धेरैजना घाममा बसेर सुन्तला खाइरहेका हुन्छन् । चिसो मौसम सुख्खा समय भएकाले यसबेला निबुवा, भोगटे, सुन्तला पाइन्छ । यस्ता फलफूलमा भिटामिन सी प्रशस्त मात्रामा पाइने भएकाले यसले सुख्खापनलाई कम गर्छ । यसले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउन पनि मद्दत गर्छ । त्यसैले मौसमअनुसार प्राप्त हुने खानेकुरा खानुपर्छ । यस्ता खानेकुरा स्वास्थ्यलाई धेरै नै फाइदा गर्छ । 

  • प्रकाशित मिति : पुस ९, २०८० साेमबार ८:४८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया