logo-img

कसको कारणले आयो देश छाड्न गोली खानुपर्ने दिन ?

५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौतापछि मात्रै देशले १४ पटक नयाँ प्रधानमन्त्री पाइसकेको छ । सरकारको नेतृत्व गर्नेहरू पटक–पटक दोहोरिएका छन् । जनताको अवस्था रूपान्तरण गर्न भन्दै तत्कालीन राज्यसत्ताविरुद्ध सशस्त्र विद्रोह गरेको माओवादीले अहिले पनि सत्ताको बागडोर सम्हालेको छ । 

माओवादीले नेपालमा संसद् र सरकार यात्रा निरन्तर राखेको छ । हाल माओवादी नेतृत्वमा गठन भएको यो चौथो सरकार हो ।  हालको सहित तीनपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्दा एकपटक तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने । 

फाइल तस्बिर

पाँच–पाँचपटक प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले पनि शान्ति प्रक्रिया पछि दुवै गरेर तीनपटक सरकार चलाए भने नेकपा एमालेका केपी शर्मा ओली तीनपटक प्रधानमन्त्री बने । यो बीचमा तत्कालीन एमाले (हाल एकीकृत समाजवादी) बाटै माधवकुमार नेपाल, झलनाथ खनाल पनि प्रधानमन्त्री बने । त्यस्तै, मन्त्रिपरिषद् अध्यक्ष भएर खिलराज रेग्मीले देशको नेतृत्व सम्हाल्दा कांग्रेसका सुशील कोइराला पनि प्रधानमन्त्री बने । 

सरकारको नेतृत्व गर्न यी नेताहरूले पटक–पटक शपथ मात्रै खाएनन् हरेक पल्ट जनतामाझ सुनौला सपना बाँडे । आफू प्रधानमन्त्री बनेपछि गरिवी अन्त्य गर्ने दाबी गरे । आफ्नै कार्यकालमा देश कायापलट बन्ने बताए । सबै प्रधानमन्त्रीले समृद्धि आफैंले ल्याइसकेको दाबी गरे । 

नेपाललाई कहिले सिंगापुर त कहिले स्विजरल्याण्ड बनाउने झुटा आश्वासन दिँदै हिँडेका प्रचण्ड अहिले पनि सरकारको नेतृत्वमा छन् । आफ्नो पालाको विकास देखेर विश्व चकित हुने भएकाले आफूलाई सरकारबाट हटाएको ‘गफ’ अहिले पनि ओलीले दिन छाडेका छैनन् ।



सबै ठाउँमा बाटोघाटो पुगेको बताउँदै त्यही नै ठूलो विकास भएको देउवा दाबी गर्छन् । तर, देशको अवस्था नेताहरूले दाबी गरेजस्तो छैन । देश हुने खानेहरूको कब्जामा छ । 



हुँदा खानेहरूलाई यो देशको महँगीले उठ्नै नसक्ने गरेर ढाड सेकिरहेको छ । भलै नेताहरूलाई उनीहरूले दाबी गरेजस्तै पुगेको छ । आफन्तीले जागिर पाएका छन्, आवश्यक परे आफ्नो निम्ति कानुन नै फेरेका छन् । र, भनेका छन् राजनीतिमा सबै सम्भव छ । तर, जनतालाई सुख शान्ति कहिल्यै सम्भव भएन । 

नेता र नेतृत्वको भाषणले देश बन्ने भए आज दिनकै हजारौं नेपालीले रोजीरोटीको लागि देश छोड्नु पर्ने बाध्यता आउने थिएन । नेपालमा रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा प्रत्येक वर्ष लाखौँ युवाहरू कामका लागि विदेशिने गरेका छन् । अहिले त विदेशिनेको सङ्ख्या महिनामै झन्डै लाख पुग्न थालेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार मंसिर महिनामा मात्रै नयाँ र पुनः श्रम स्वीकृति लिएर ७१ हजार २७६ जना नेपाली विदेश गएका छन् । 

चालू आवको पहिलो पाँच महिनामा अर्थात् गत साउनदेखि मंसिरसम्म कुल २ लाख ७७ हजार ५ सय भन्दा बढी नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएको तथ्याङ्कले देखाउँछ । 

अब लागौँ पछिल्लो घटनातर्फ 

कोरियाको लागि रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फाराम खुल्यो । उत्पादनमूलक कामको भाषा परीक्षाका लागि निर्धारित समयभित्र १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिए । तर, सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर अनुत्तीर्ण भएका २८ हजारभन्दा बढीले उक्त फाराम भर्न पाएनन् । 

इपिएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गर्दा  यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई आवेदन दिन नपाउने व्यवस्था गरिएपछि उनीहरू आन्दोलित भए । 

उसो त यो मुद्दा अदालतसम्म पुगिसकेको थियो । उच्च अदालत पाटनमा यस विषयमा मुद्दा दायर गरिएको थियो । जसबारे अदालतमा मुद्दा दिने सुरज पाठकसहित १८ जनालाई मात्रै आवेदन फाराम भर्न दिन र सबै प्रक्रियामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेपछि अन्य युवाहरू आन्दोलित भएका हुन् । 

उक्त आन्दोलनले यति उग्ररूप लियो कि दुई युवाले ज्यानै गुमाउनु पर्‍यो । विरोध प्रदर्शन गर्न पुगेका दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाहको मृत्यु भयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाइयो । यो आजको घटना मात्रै होइन । देशको बिबसता र कहाली देखाउने दृश्य हो । देश छोड्नकै लागि छातीमा गोली खानुपर्ने भएको हो । 

नेपालको राजनीति र सरकारी निकायप्रति जनतामा चरम निराशा र अविश्वास बढ्दै गएको छ । सक्दो देश छाड्ने रहरमा युवाहरू छन् । नेताहरूप्रति जनतामा वितृष्णा र आक्रोशसमेत बढ्दै गएको छ । विभिन्न ‘काण्ड’हरूले देशमा आएका नयाँ नेता र पार्टीहरूले समेत जनताको विश्वास जित्न सकेका छैनन् । नेताहरूले देशलाई सिंगापुर बनाउँछु भनेर गफ दिएको तर देश श्रीलंकाको गतिमा पुगेको भन्दै देश छाड्न तँछाडमछाड छ । 

आज नेपाली समाज चरम भ्रष्टाचार, अराजक भिड र भ्रममा फसेको छ भने अर्थतन्त्र धराशायी बन्न पुगेको छ । नेपालका राजनीतिक दल र नेताले आफ्नो लागि नभएर जबसम्म देशको लागि सोच्दैनन् तबसम्म यसबाट निस्कन निकै मुस्किल छ । 

  • प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार १९:४९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया