logo-img

बालकुमारीमा अस्ताएका सुजन राउत, जो बुबा बितेपछि ऋण तिर्न कोरिया जाने तयारीमा थिए

दैलेखको महाबु गाउँपालिका–६ का २१ वर्षीय सुजन राउतको काँधमा परिवारको धेरै जिम्मेवारी थियो । उनी परिवारको सो जिम्मेवारी पूरा गर्न रोजगारीका विभिन्न स्रोतको खोजीमा थिए ।

सोहीक्रममा सुजन कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिने तयारीमा जुटे । तर, उनको कोरिया जाने सपना शुक्रबार बालकुमारीमा भएको आन्दोलनमा टुट्यो । अर्थात् उनी यो संसारबाट बिदा भए ।  

सुजनले गत वर्ष मात्र ‘ब्रेन ट्युमर’का कारण बुबा भक्तबहादुर रावतलाई गुमाएका थिए । उनी बुबाको उपचारमा लागेको ऋण तिर्नका लागि भन्दै कोरिया जाने तयारीमा थिए । तर, आज भएको आन्दोलनमा उनी प्रहरीको निर्घात कुटपिटबाट सडकमै ढले ।

घाइते अवस्थामा रहेका सुजनलाई उपचारका लागि किष्ट अस्पतालमा लगियो । तर, त्यहाँ डाक्टरले उनलाई मृत घोषणा गरे । सुरुमा प्रहरीको गोली लागेर मृत्यु भएको भनिए पनि प्रहरीको निर्घात कुटपिटबाट मृत्यु भएको उनका दाजु (मामाका छोरा) रोशन कटुवालको भनाइ छ ।

सुजन शुक्रबार आन्दोलनमा नभइ त्यहाँको अवस्था हेर्नका लागि त्यहाँ पुगेको रोशनको भनाइ छ । उनका अनुसार सुजनको घर महाबु भए पनि उनको सम्पूर्ण परिवार दैलेख सदरमुकाममा बस्छन् । उद्योग वाणिज्य संघ दैलेखका पूर्वउपाध्यक्षसमेत रहेका भक्तबहादुरले लामो समयदेखि सदरमुकाममा हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए ।

उनी बिरामी भएपछि व्यवसाय पनि कमजोर हुँदै गयो । धेरै सम्पत्ति उपचारमै खर्च भयो । उपचारका लागि राउत परिवारले लाखौँ रकम ऋण पनि काढेको थियो । तर, भक्त बचेनन् ।



उपचारकै क्रममा ०७९ मङ्सिरमा उनको मृत्यु भयो । बुबाको मृत्यु र व्यवसाय पनि संकटमा भएकाले सबै जिम्मेवारी काँधमा बोकेका सुजनलाई कोरिया जानुपर्ने बाध्यता बनेको दाइ रोशनको भनाइ छ ।   

उनका अनुसार सुजन निकै मेहनती र इमानदार थिए । यसअघि सुजन नेपालगन्ज बसेर ओभरसियर पढ्थे । अन्तिम सेमिस्टरमा एउटा विषय बाँकी थियो । बुबाको मृत्यु भएपछि उनले पढाइ पनि पूरा गर्न पाएका थिएनन् ।  



यस्तै, शुक्रबारको आन्दोलका क्रममा प्रहरीले अन्धाधुन्ध लाठी चार्ज र गोली प्रहार गर्दा डोटीका वीरेन्द्र शाहको पनि मृत्यु भएको छ । आन्दोलनकारी युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाएपछि वातावरण तनावपूर्ण बनेपछि प्रहरीले लाठी चार्ज र गोली प्रहार गरेको थियो । 


  • प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार २१:५३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया