गृहमन्त्री श्रेष्ठले भने– बालकुमारी घटनामा भौतिकमन्त्रीको आगमनले स्थिति असामान्य बन्यो
‘भीड देखेपछि मन्त्रीज्यू किन किन रोकिनु भएन, आश्चर्य लागेको छ’
फाइल तस्बिर

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन् ।  

सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले घटनामा इपिएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गरे । गृहमन्त्री श्रेष्ठले गृह मन्त्रालय आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको बताए । 

उनले मन्त्री ज्वालाले आन्दोलनकारीसँग सवाल–जवाफ गरेको, त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको अवस्था प्रारम्भिक अध्ययनबाट निकालिएको बताए । गृहमन्त्री श्रेष्ठले फायरिङपछि मात्रै गाडी जलेको देखिएको बताए ।  

‘मन्त्रीज्यूको गाडी आइसकेपछि मन्त्रीज्यू बाहिर निस्किएर सवाल–जवाफतिर पनि लाग्नुभएछ । त्यसपछि त्यो भएन भनेपछि धकेलाधकेल भएको भिडियोमा देखिन्छ । त्यसपछि मन्त्रीज्यूलाई नेपाल आर्मीको बडिगार्डले लिएर जानुभयो र बैठक भएको ठाउँमा पुग्नुभयो । मन्त्रीको गाडी घेराबन्दीमा परेको भनेपछि फिल्डको कमान्डरहरू त्यो दिशातिर जान खोजे, त्यहीक्रममा गोली प्रहार भएको देखिन्छ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘एक जनाको गोलीद्वारा घटनास्थलमा लडेपछि पाटन लगेको देखिन्छ र अर्को त्यहीँ निलडाम देखिन्छ, ग्यास वा अरू हतियारले लागेको के हो छानबिन समितिले निष्कर्ष निकाल्नेछ, फायरिङपछि मात्रै गाडी जलेको देखिन्छ ।’ 

उनले वास्तविक अवस्था पत्ता लगाउनका लागि तीन सदस्यीय आयोग गठन गरिएको पनि बताए ।  






  • प्रकाशित मिति : पुस १६, २०८० साेमबार १०:४९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया