logo-img

२० वर्षदेखि सुन्तलाखेतीमा चापागाईँ : एउटै बगानबाट बिक्री गरे १० लाखको सुन्तला

इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ । 

सुन्तला लगाएको पहिलो वर्ष ३ हजारमा बिक्री भएको सम्झिँदै उनले यो वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै १० लाखमा बिक्री भएको बताए । ‘मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यो वर्ष सबैभन्दा बढी १० लाख रुपैयाँमा बेचेँ’, चापागाईँले भने ।

‘गत वर्ष ४ लाखमा बिकेको यो बगानमा यो वर्ष उत्पादन राम्रो छ,’ उनले भने, ‘धेरैतिर उत्पादन कम भएपछि व्यापारीले पोहोरको तुलनामा दोब्बरभन्दा बढी मूल्य दिएका छन् ।’

कृषि ज्ञान केन्द्र इलामले पनि चापागाईँको बगान नै इलाममा अहिले सबैभन्दा बढी सुन्तला उत्पादन हुने बगान रहेको हुनसक्ने जनाएको छ । केन्द्र प्रमुख टोनी बर्देवाले केन्द्रले किसानलाई सुन्तलाखेतीमा अनुदान र प्राविधिक सहयोग गरिरहेको बताए । 

गत वर्ष २ हजार ७४४ मेट्रिक टन सुन्तला उत्पादन भएको इलाममा यो वर्ष २ हजार ७४० मेट्रिक टन सुन्तला उत्पादन भएको बर्देवाले बताए । कार्यालयका अनुसार यो वर्ष इलाममा विगतको तुलनामा सुन्तलाखेती गर्ने क्षेत्रफलसमेत घटेको छ । आर्थिक वर्ष २०८०/८१ मा २७८.५ हेक्टरमा मात्र सुन्तलाखेती भएको छ ।

गत आव २०७९/८० मा २८० हेक्टरमा सुन्तलाखेती गरिएको थियो । इलाम नगरपालिका–५ माइजोगमाईको नामसालिङ, रोङको वडा नं ६ लगायत क्षेत्रमा व्यावसायिकरूपमा सुन्तला उत्पादन भएको उनले बताए ।



‘पुरानो बोट, रोग–कीरा, मौसम परिवर्तन, समयमा छाँटकाँट, सिँचाइ अभाव, जलवायु परिवर्तनको असर आदि कारणले पनि बगान मासिँदैछन्’, चापागाईँले भने, ‘अहिले उच्च क्षेत्रमा पनि सुन्तला फल्न थालेको खबर आएका छन् । किवीखेती हुने स्थानतिर सुन्तला फलेको पाइएको छ।’ केन्द्रले पनि सुन्तला मासिन नदिन बगैँचा व्यवस्थापन सुदृढीकरण कार्यक्रम सुरु गरेको बर्देवाले बताए ।

सुन्तलाको आम्दानीलाई नियमित बनाउन जिल्लाका किसानको मेहनत घटेको छैन । किसान चापागाईँ बिहान उज्यालो नहुँदै सुन्तला स्याहार्न पुग्छन् । साँझसम्म पनि सुन्तलाको स्याहारसुसारमै दिन बित्छ । 



सुन्तलामा लाग्ने कीरा नियन्त्रणका लागि उनले बेग्लै प्रविधि निर्माण गरेका छन् । उनको बगान हेर्दा सफाचट देखिन्छ । बेला–बेला सिँचाइसमेत गर्नुपर्छ । ‘बोटदेखि भुइँसम्म लत्रिएका दाना, देख्दै टिपौँ–टिपौँ लाग्ने सुन्तला स्याहार्दै दिन बिताउन खुब मज्जा लाग्छ’, चापागाईँले भने ।

बगानमा केही पुराना बोट मरे पनि नयाँ थपेको उनले सुनाए । ‘एउटा उत्कृष्ट बगान बनाउन मन छ, त्यसमै लागिपरेको छु,’ चापागाईँले भने । यो समय सुन्तला उत्पादनको मुख्य सिजन पनि हो । कात्तिक दोस्रो सातादेखि बजारमा निस्किएको सुन्तलाको खुद्रा मूल्य अहिले प्रतिकिलो १२० देखि १५० छ । तर, धेरैजसो बगान बोट सुकेर रित्तिइसकेका छन् । 

वर्षैपिच्छे बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित भएका छन् । रासस 

  • प्रकाशित मिति : पुस १७, २०८० मंगलबार ९:२४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया