logo-img

बरहथवा तनाव : लफडा गर्ने कांग्रेस-एमाले, गोली खाने आमनागरिक

सर्लाहीको बरहथवा पछिल्लो तीन दिन यता तनावग्रस्त छ । नहोस् पनि कसरी निहत्था एक युवाको कन्चटमा प्रहरीको गोली लागेर शव सडकमा छ । अस्पताल सञ्चालनको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेबीचको राजनीतिक द्वन्द्वले बरहथवामा हिंसा निम्तिएको हो । 

बरहथवा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा गत शुक्रबार प्रहरीको गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६, का ३० वर्षीय जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो । परिवार र प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव आजसम्म पनि उठाउन मानेका छैनन् । गोली लागेर मृत्यु भएका जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै छ । 

प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रदेश अस्पतालको रूपमा विकास गर्नुपर्ने कांग्रेसको अडान र त्यो प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहत लैजान नहुने, नगरअस्पतालकै रूपमा विकास गर्नुपर्ने एमालेबीचको अडानले बरहथवामा हिंसा निम्तिएको हो । 

अस्पतालमा संघ सरकारले ठूलो लगानी लगाइसकेको छ भने प्रदेशले पनि अस्पतालमा लगानी लगाउने घोषणा गरिसकेको छ । संघ सरकारले १८ करोड रुपैयाँ लगानी लगाएर स्वास्थ्य चौकीमा नयाँ भवन निर्माण गरिसकेको छ । त्यस्तै मधेस प्रदेश सरकारले पनि आर्थिक वर्ष २०८०/०८१ को बजेटमा बरहथवामा ५० शय्याको अस्पताल बनाउने घोषणा गरेको थियो । 

यो भवनमा १५ शय्याको अस्पताल नै चलाउने या ५० शय्या अस्पताल बनाएर प्रदेश सरकारलाई चलाउन दिने भन्ने विवाद बढेको हो । बरहथवा नगरपालिकाको नगर कार्यपालिकाले ९ असोज २०८० मा बैठक बसेर प्राथमिक स्वास्थ्य चौकीको भवन ५० शय्याको अस्पताल सञ्चालन गर्न प्रदेशलाई दिने निर्णय पनि गरिसकेको थियो । एमालेबाट निर्वाचित नगर प्रमुख कल्पनाकुमारी कटवालले प्रदेश सरकारलाई सहमति पत्र दिएकी थिइन् । 

तर, प्रदेश सरकारले अरू अस्पताल राम्रोसँग सञ्चालन नगरेको भन्दै उनले नगरपालिकाले नै १५ शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने मत राखिन् । प्रदेश सरकारले अस्पताल चलाए कांग्रेस लगायतका सत्तारुढ दल हाबी हुने स्थानीय सरकारको नेतृत्व गरेको दल एमालेको बुझाइबन्दा नगर प्रमुख कटवालले त्यस्तो मत राखेको बताइन्छ ।  तर, कांग्रेससहित सत्ता गठबन्धनका दलहरूले कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न दबाब दिइरहे । 



कांग्रेस र एमालेबीचको यही राजनीतिक विषयका कारण बरहथवामा हिंसा निम्तिएको हो । युवाको ज्यान जाने गरी भएको घटनापछि कांग्रेस र एमालेले जारी गरेको विज्ञप्तिमा पनि एकअर्कामा आरोपप्रतिआरोप मात्रै देखिन्छ । विज्ञप्तिमा घटना हुनुमा एक अर्कालाई दोष लगाइएको छ भने आफूलाई चोखो देखाउने प्रयास गरिएको छ। 

यो हेर्नुहोस् विज्ञप्ति 



 

यो हिंसामा निहत्था युवा साहले ज्यान गुमाउनुका साथै दर्जनौँ घाइते भएका छन् । सवारीसाधन जलाइएका छन् । आइतबार पनि  पुनः तनाव भएको छ । स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी प्रमुख कटवालको घरमा ढुंगामुढा गरिदिएका छन् ।

घटना पछि सरकारले जयशंकरको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी गर्दै उक्त घटनामा मृत्यु भएका जयशंकरको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने जनाएको हो । 

साथै सो घटनाबारे सत्य तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ । सामान्य घटनामा प्रहरीले गोली चलाउने र सरकारले राहतस्वरुप भन्दै १० लाख रुपैयाँ दिन थालेपछि सरकारको उक्त निर्णयप्रति पनि जनताको आक्रोश बढ्न थालेको छ । हालै इपिएस परीक्षाको विषयमा भएको विवादमा प्रहरीले गोली चलाउँदा दुई युवाको मृत्यु भएको थियो । उक्त घटनामा पनि पीडितलाई सरकारले प्रतिपरिवार १०/१० लाख दिने निर्णय गरेको थियो । 

  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार १८:२९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया