logo-img

असुरक्षित गर्भपतन : जाेखिममा आमा-छोरी

बैतडी पुर्चौडी घर भएकी ३५ वर्षीया जानकी बम (नाम परिवर्तन)ले लगातार तीन छोरीपछि चौथो सन्तानका रूपमा छोरालाई जन्म दिइन् । गत असार ४ गते छोरालाई जन्म दिएपछि मात्रै जानकीले राहतको सास फेरिन् । सामाजिक परिवेश र घरायसी दबाबका कारण तीन सन्तानकी आमा भएर उनले सन्तोषको सास फेर्न पाएकी थिइनन् । छोराको जन्मपछि जानकीको मुहारमा वर्षौंपछि खुसी छाएको छ । तर, त्यो खुसीका लागि उनले कति त्याग गरेकी छिन्, त्यसको कुनै हिसाब छैन । उनका दिनहरू त घर–खेतबारीको काम गर्दै जसोतसो बित्थ्यो, कैयौँ रातहरू भने उनले ननिदाएरै कटाइन् । 

१६ वर्षको कलिलो उमेरमा विवाह गरेकी जानकीले १८ वर्षमा जेठी छोरी आरतीलाई जन्म दिइन् । त्यसपछि लगातार छोरा पाउने आसमा तीनवटी छोरी जन्माइन् । तीन छोरीपछि उनले छोरा पाउने आसमा दुईपटक भ्रूणको लिंग पहिचान गरेर गर्भपतन गराइन् । त्यसबीचमा उनले आफ्नी सासू र श्रीमान्बाट शारीरिक र मानसिक तनाव त कति झेलिन्, त्यसको कुनै लेखाजोखा नै छैन ।

जानकीकी सासुले छोरा नभएको निहुँमा उनलाई नानाथरी सुनाइरहन्थिन् । उनलाई सन्चो, विसञ्चो भन्नसमेत पाउने अधिकार थिएन । ‘गाउँघरको काम, सुत्केरी भएकै बेला पनि बिहानै उठेर घाँस, दाउराको जोहो गर्न हिँडेर एक घण्टा लाग्ने जंगलमा जानुपथ्र्यो,’ जानकी पुराना दिन सम्झिन्छिन्, ‘सुत्केरीमा दिनरात नभनी काम गर्थें, त्यसमाथि सासूका नमीठो वचन सुन्नुपथ्र्यो । छोरा नजन्माएको भन्दै श्रीमान्ले पनि राति रक्सी खाएर आएर अर्को बिहे गर्ने धम्की मात्रै दिन्थेनन्, दिनहुँजसो हातपात पनि गर्थे ।’ सासू र श्रीमान्को करकापमा नै जानकीले दुईपटक भ्रूणको लिंग पहिचान गराइन् र उनीहरूकै दबाबमा गर्भपतन गराइन् । 

छोरा भएपछि वंश धान्छ, बुढेसकालको सहारा नै छोरा हो, छोरा भएपछि स्वर्ग जान पाइन्छ भन्नेजस्ता समाजमा व्याप्त रुढिवादी सोचका कारण पनि कैयौँ महिलाले गर्भपतन गराइरहेका छन् ।

‘दुईपटक भारतको पलियामा गएर गर्भपतन गराएँ । साथमा श्रीमान् थिए । सासूले घरबाट हिँड्नै लाग्दा गर्भमा छोरी भए उतै फाल्नू भनेर ठाडो आदेश दिएकी थिइन्,’ जानकी निरास सुनिइन्, ‘दुईपटक भ्रूण पहिचान गर्दा गर्भमा छोरी नै भएको चिकित्सकले जानकारी दिए । दुवैपटक साढे तीन महिनाको गर्भपतन गराएँ । तेस्रोपटक गर्भवती हुँदा भने कमजोरीका कारण आफैँ गर्भ खेर गयो । जति नै कमजोर भए पनि भन्न नपाउने र नबुझ्ने श्रीमान्को साथमा थिएँ । सातौँपटक गर्भवती भएँ र बल्ल छोरा पाएँ ।’ 

तीनवटा छोरीको जन्मपछि लगातारको गर्भपतनले जानकीको शरीर कमजोर भइसकेको थियो । तर, जानकी र उनको परिवारलाई जुनसुकै हालतमा पनि छोरा चाहिएको थियो । त्यसैले जानकीको नेपालसँगै भारतका विभिन्न अस्पतालमा उपचार गराइयो । अहिले जानकीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । र, परिवारमा पनि पहिलेको तुलनामा कम हेपाइ सहनुपरेको उनी बताउँछिन् । 



जानकी त एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्ता कैयौँ नेपाली महिलाले बाध्यता वा रहरले गर्भपतन गराइरहेका हुन्छन् । छोरा भएपछि वंश धान्छ, बुढेसकालको सहारा नै छोरा हो, छोरा भएपछि स्वर्ग जान पाइन्छ भन्नेजस्ता समाजमा व्याप्त रुढिवादी सोचका कारण पनि कैयौँ महिलाले गर्भपतन गराइरहेको सरोकारवाला बताउँछन् ।

वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. भोला भोला रिजाल भ्रूणको लिंग पहिचान गर्ने कार्य कानुनविपरीत भएको बताउँछन् । ‘भ्रूणको लिंग पहिचान गर्ने कार्य गैरकानुनी हो । यस्ता गतिविधि गर्ने र गराउनेलाई कानुनअनुसार कारबाही गर्नुपर्छ,’ उनले भने । 



असुरक्षित गर्भपतन गराउँदा स्वास्थ्य कमजोर हुने, विभिन्न रोग लाग्ने अथवा दीर्घकालीन रूपमै अशक्त हुनेजस्ता स्वास्थ्य समस्या बल्झिने डा. रिजाल जानकारी दिन्छन् । उनका अनुसार खासगरी औजारको प्रयोगबाट गरिएको गर्भपतनमा पाठेघरमा चोट लाग्ने, घाउ हुने वा पाठेघर फुट्न सक्ने जोखिम रहन्छ । यसले विभिन्न संक्रमण हुन सक्छ । जसकारण सेतो पानी बग्ने, पाठेघरमा क्यान्सर हुनेसमेत हुन्छ । कतिपय अवस्थामा पछि गएर बाँझोपनको समस्या पनि हुने गर्छ । सुरक्षित तरिकाले गर्भपतन नगराउँदा ज्यान पनि जानसक्ने उनको भनाइ छ । 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार नेपालमा ५७ प्रतिशत महिलाले असुरक्षित रूपमा गर्भपतन गराइरहेका छन् । महाशाखाका अनुसार सूचीकृत स्वास्थ्य संस्थाबाट विसं ०६० देखि हालसम्म १४ लाख ६४ हजार १५ जनाले सुरक्षित गर्भपतन गराएका छन् । असुरक्षित गर्भपतनको यकिन तथ्यांक भने सुरक्षितको जस्तो लिन सहज नहुने महाशाखाले जनाएको छ । 

असुरक्षित रूपमा हुने गरेको गर्भपतनलाई निरुत्साहित पारी जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सरोकारवालाले जोड दिइरहे पनि समाजमा व्याप्त गलत धारणामा विश्वास गरी गैरकानुनी रूपमा गर्भपतन गर्नेको संख्या कति छ भनेर यकिन तथ्यांक कसैसँग पनि छैन । सरोकारवालाका अनुसार कतिपय नेपाली दम्पतीले भ्रूण पहिचान गरेर गर्भपतन गराउन नेपालमा असम्भव भएर छिमेक भारतमा गएर पनि असुरक्षित गर्भपतन गराउँदै आएका छन् । 

नेपालमा छोराको तुलनामा छोरी कम जन्मिने गरेको विभिन्न तथ्यांकले देखाएको छ । हालै सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा लिंग पहिचान गरेर गरिने गर्भपतनको प्रभाव परेको देखिन्छ । जनगणनामा नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ ।

छोरीभन्दा छोराको संख्या धेरै

समाजमा छोराप्रतिको बढ्दो चाहना र महिलालाई गरिने विभेदपूर्ण व्यवहारका कारण पनि छोरो जन्माउने गर्छन् । सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएको छ । तर, यही कानुनी मान्यताबाट फाइदा उठाउँदै भ्रूण पहिचान गरी छोरी भएमा भ्रूण हत्या गर्ने गरिएको पाइन्छ ।

लिंग पहिचान गरेर छोरीको हत्या गरेपछि नेपालमा छोराको तुलनामा छोरी कम जन्मिने गरेको विभिन्न तथ्यांकले देखाएको छ । हालै सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा लिंग पहिचान गरेर गरिने गर्भपतनको प्रभाव परेको देखिन्छ । जनगणनामा नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ ।  
  
जनगणना ०७८ अनुसार चार लाख १२ हजार नौ सय ३५ जना जन्मिएका बच्चामध्ये दुई लाख १८ हजार ७४ जना छोरा (५२.८ प्रतिशत) र एक लाख ९४ हजार आठ सय ६१ छोरी (४७.३ प्रतिशत) जन्मिएका छन् । तथ्यांकले छोराहरू जन्मिने क्रम बढेको र छोरी घटिरहेका देखाएको छ । 

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन, ०७५ को भाग ४ को दफा १५ ले गर्भवतीको अवस्थाअनुसार १२ हप्तादेखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । गर्भवतीको मन्जुरीमा १२ हप्तासम्म जस्तो प्रकारको गर्भ पनि पतन गराउन सकिन्छ ।

के छ कानुनी प्रावधान ? 

विश्व स्वास्थ्य संगठनले समेत २२ हप्तासम्म गर्भपतन गर्न सकिने व्यवस्था गरेको छ । सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन पर्याप्त कानुन बनाउनेमा नेपाल अग्रणी मुलुकमा पर्छ । 

नेपालमा मातृमृत्युदर घटाउनुका साथै महिलाको प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न सरकारले ०५९ सालदेखि सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएको थियो । यसैलाई कार्यान्वयन गर्नका लागि मन्त्रालयले सुरक्षित गर्भपतन सम्बन्धी राष्ट्रिय नीति, ०६० बनाई लागूसमेत गरेको छ । 

विसं ०७२ को संविधानको धारा ३८ को उपधारा २ ले महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको हक प्रदान गरेको छ । संविधानप्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी हकको सम्मान र संरक्षण गर्न सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, ०७५ र नियमावली, ०७७ जारी गरेको छ । 

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन, ०७५ को भाग ४ को दफा १५ ले गर्भवतीको अवस्थाअनुसार १२ हप्तादेखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । गर्भवतीको मन्जुरीमा १२ हप्तासम्म जस्तो प्रकारको गर्भ पनि पतन गराउन सकिन्छ । गर्भपतन नगराएमा ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ता महिलाको मन्जुरीमा २८ हप्तासम्मको गर्भ पनि पतन गराउन पाइने व्यवस्था उक्त ऐनले गरेको छ । 

यसबाहेक जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, रोग प्रतिरोधात्मक क्षमता उन्मुक्ति गर्ने जीवाणु वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेमा पनि महिलाको मन्जुरीमा २८ हप्तासम्म सुरक्षित गर्भपतन गराउन पाइने व्यवस्था सो ऐनमा छ ।

  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार १८:४३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया