नेपालमा पनि कोभिडको नयाँ सब-भेरिअन्ट : रोकथामका लागि के गर्दै छ सरकार ?

छिमेकी मुलुक भारतमा प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस ओमिक्रोनको नयाँ सब–भेरिअन्ट जेएन.१ नेपालमा पहिलोपटक पुष्टि भएको छ ।

विभिन्न देशबाट फरक–फरक उमेरका व्यक्तिबाट संकलित १६ वटा पीसीआर र एन्टीजेन पोजिटिभ नमुनामा गरिएको परीक्षणमा सात जनामा यो संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा कोरोना भाइरस ओमिक्रोन भिरिअन्टको सब–भेरिअन्ट जेएन.१ भेटिएपछि नेपाली नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी तथा कडाइ गर्ने कार्य थप बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले बताएका छन् ।

‘देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा पीसीआर तथा एन्टिजन पोजिटिभ नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मिति २०८०/९/२२ मा गरेको पछिल्लो जिन सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब–भेरिअन्ट जेएन.१ नेपालमा पहिलोपटक पुष्टि भएको जानकारी गराउँदछौँ ।’ 

नयाँ सबभेरिअन्ट भेटिएका व्यक्ति कहाँका हुन् ?

स्वास्थ्य मन्त्रालयका अनुसार, अहिले नयाँ सब–भेरिअन्टको संक्रमण पुष्टि भएका व्यक्ति काठमाडौं, पोखरा, चितवन, भक्तपुर, धनगढीलगायतका क्षेत्रका हुन् । 



उनीहरू विदेशबाट आएको वा विदेशबाट हालै फर्केका व्यक्तिको सम्पर्कमा रहेको वा नरहेकोबारे मन्त्रालयले बुझिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । 
यद्यपि, संक्रमितमध्ये कोही पनि अस्पताल भर्ना हुनुपर्ने अवस्थाका नरहेको बुढाथोकीले मन्त्रालयका अधिकारीले बताए । 

रोकथामका लागि के गर्दै छ सरकार ?



नयाँ सब–भेरिअन्ट भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड नियन्त्रणका लागि महामारीका बेलामा चालेका सबैखाले कदमहरू चाल्न सुरु गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

‘हामीले पहिले महामारीका बेलामा अपनाएका सबै उपायहरू पुनः सक्रिय बनाउने निर्णय गरेका छौँ र त्यसै अनुसार काम भइरहेको छ,’ उनले भने ।

बुढाथोकीका अनुसार नेपालमा ९२ प्रतिशतले बुस्टर मात्रासहित खोप लगाइसकेकाले यो सब–भेरिअन्टले धेरै असर नपार्ने ठानिएको छ । कम घातक खालको सब–भेरिअन्ट भएपनि दीर्घरोगी र ज्येष्ठ नागरिकलाई धेरै असर पर्नसक्ने भएका निगरानी बढाउन आवश्यक रहेको उनको भनाइ छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नयाँ सबभेरियन्टको जोखिमलाई ख्याल गरी सीमा नाकाहरूमा आवश्यक स्क्रिनिङ र निगरानी गर्न थालिएको छ ।

जेएन.१ भेरिअन्ट के हो ?

विश्व स्वास्थ्य संगठनले कोभिडविरुद्ध मान्यता पाएका खोपहरूले यो उपप्रजातिको जोखिम कम गर्ने भए पनि थप अध्ययन आवश्यक रहेको उल्लेख गरेको छ । उसले निगरानी गरिरहेको यो भेरिअन्ट सबैभन्दा पहिले अमेरिकामा पत्ता लागेको थियो ।  

तीव्र सङ्क्रमणदर रहेको यो भाइरस हालसम्म नेपालका छिमेकी भारत र चीनसहित विश्वका ४० भन्दा धेरै देशहरूमा फैलिसकेको विवरण आएका छन् । 

यो भेरिअन्ट अहिले अमेरिकामा सबैभन्दा तीव्र गतिमा फैलिरहेको छ र १५ देखि ३० प्रतिशत संक्रमितमा यो भेरिअन्ट देखिएको छ । विश्व स्वास्थ्य संगठनले अहिले यसको जोखिमदर कम रहेको जनाएको छ । 

यद्यपि अधिकारीले स्वास्थ्यको जोखिम समूहमा रहेका व्यक्तिमा जोखिम हुन सक्नेतर्फ सचेत गराएका छन् । जाडोयाममा श्वासप्रश्वाससम्बन्धी अन्य समस्या पनि बढ्ने गरेका कारण सचेत रहनुपर्ने विज्ञको भनाइ छ ।  

  • प्रकाशित मिति : पुस २४, २०८० मंगलबार १०:४७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया