logo-img

जाडोमा दाँतको हेरचाह कसरी गर्ने ? यस्ता छन् डा. अञ्जलीका सुझाव
फाइल तस्बिर

जाडो महिनामा डेन्टलमा दाँतको समस्या लिएर आउने बिरामीको संख्या बढेको छ । विशेषगरी जाडो मौसममा दाँतमा सिरिङसिरिङ भयो भनेर डेन्टल आउने बिरामीको संख्या बढेको हो । 

दाँतमा किन सिरिङसिरिङ हुन्त त ? यस्तो समस्या गिजामा फोहोर अथवा दन्त लेउ जम्मा भएर आउने गर्दछ । गिजा तल सर्दै जाँदा गिजामा सिरिङसिरिङ हुने समस्या हुन्छ । 

जाडोयाममा मौसम चिसो हुन्छ । यस्तोमा चिसो पेय पदार्थ, चिसो पानी पिउँदा दाँतमा सिरिङसिरिङ महसुस हुन्छ । गिजामा लेउ जम्ने समस्या मौसमले केही फरक पर्दैन । तर, गिजामा लेउ जमिरहेको हुँदा चिसो पानी पिउँदा सिरिङ हुन्छ । यसका साथै गिजाबाट रगत आउनु गिजासम्बन्धी अर्को समस्या हो । गिजाबाट रगत आउने, पिप जम्मा हुने जस्ता समस्या लिएर विरामी अस्पताल आउने गरेका हुन्छन् । 

खाना खाएको केही समयपछि दाँतमा लेउ जम्मा हुन्छ । खाना खाइसकेपछि र दिनमा दुई पटक दाँत माझेनौँ भने दन्त लेउ जम्मा हुन्छ । यसरी जम्मा भएको दन्त लेउ पत्थर जस्तो हुन्छ । दन्त लेउमा भएका ब्याक्टेरियाले गिजामा पुगेर हड्डीलाई कमजोर बनाउँछ । हड्डी कमजोर भएपछि दाँत हल्लिने समस्या पनि देखिन्छ । चिसो समयमा दाँतमा चिसो हावा पर्ने, चिसो खानेकुराको प्रयोग बढी हुने तथा शरीरका तापक्रममा पनि कमी आउँदा दाँतको दुखाइ बढी हुने गर्छ ।

हामीले दाँतको हेरचाह गर्न एकदमै आवश्यक हुन्छ । गिजा तथा दाँतको हेरचाह निम्न प्रकारले गर्न सकिन्छ :

– दिनमा दुईपटक दाँत माझ्ने,



– दाँत माझ्ने तरिका सिकेर दाँत माझ्दा उत्तम हुन्छ, 

– दाँतको कुना–कुनामा ब्रस नपुग्ने भएकाले डेन्टल फ्लस गर्नुपर्छ, 



– दाँत सिरिङ–सिरिङ हुने समस्या छ भने डि–सिन्सिटाइज पेस्ट प्रयोग गर्ने,

– दाँतमा केही समस्या छ भने तुरुन्त दन्त चिकित्सक कहाँ जानुपर्छ, 

– माउथ वासको प्रयोग गर्ने,

– दाँतमा समस्या हुने मानिसले धेरै साह्रो खानेकुरा खानुहुँदैन,

– खराब किसिमबाट ब्रस गर्ने, खैनी, पान, पराग, सुपारी, चुरोटको सेवन गर्दा दाँतमा समस्या हुन्छ,

– सामान्य दुखाइमा साधारण नुनपानीले मुखकुल्ला गर्दा पनि स्वस्थ रहन सकिन्छ,

– खाना खाइसकेपछि जाडोले गर्दा ब्रस गर्न सकिँदैन भने नुनपानीले राम्रोसँग मुखकुल्ला गर्नु उत्तम हुन्छ,

– गिजाबाट रगत मात्र आउने समस्या छ भने सामान्य सरसफाइ गर्दा पनि विरामीलाई राहत पुग्छ,

– दाँतमा समस्या हुने मानिसले धेरै साह्रो खानेकुरा सेवन नगर्दा राम्रो हुन्छ ।

– गिजामा समस्या छ भने गिजासम्बन्धी चिकित्सकलाई देखाउने,

– दाँतको समस्या अनुसार दाँतको उपचार गरिन्छ । त्यसैले हरेक वर्ष ६–६ महिनामा दन्त चिकित्सक कहाँ पुगेर दाँत परीक्षण गराउनु पर्छ । 

(हिमाल डेण्टल अस्पतालमा कार्यरत गिजारोग तथा दन्त प्रत्यारोपण विशेषज्ञ डा. अञ्जली भट्टराईसँगको कुराकानीमा आधारित )

  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार ९:६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया