logo-img

अघि बढ्यो वर्षौँदेखि थन्किएका गाडीको लिलामी प्रक्रिया

गौर भन्सार कार्यालयले लामो समयदेखि थन्किएर रहेका सवारी साधनको लिलामी प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न मितिमा पक्राउ गरी भन्सारमा दाखिला गरेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको लिलाम प्रक्रिया अघि बढाएको गौर भन्सार कार्यालय जनाएको छ । 

२०७५ सालदेखि अलपत्र अवस्थामा थन्किएका दुई हजार भन्दा बढी सवारी साधनको समयमा लिलाम नगरिँदा कवाडी बनेको आरोप लागेपछि भन्सार कार्यालयले लिलाम प्रक्रिया अघि बढाएको जनाएको छ । भन्सार कार्यालयका अनुसार, कार्यालय परिसरमा रहेका गाडीको चालु आर्थिक वर्षमै लिलाम गर्ने गरी प्रक्रिया अघि बढाइएको हो । 

लिलामका लागि अहिले गाडीको ‘इन्जिन’ तथा ‘चेचिस’ नम्बर टिप्ने कार्य भइरहेको भन्सार कार्यालयका सूचना अधिकारी रेवतीराम रोक्काले बताए ।गाडीको अवस्थाको आधारमा इन्जिनियरले मूल्याङ्कन गरेपछि मात्र लिलामको लागि सूचना प्रकाशित गराइने सूचना अधिकारी रोक्काले बताए । 

विगत पाँच वर्षको अवधिमा ६० वटा भन्दा बढी चार पाङ्ग्रे र दुई हजारभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन थन्किएको गौर भन्सार कार्यालयको तथ्याङ्क छ । भन्सार कार्यालयले समयमै लिलाम प्रक्रिया अघि नबढाएका कारण राजस्व समेत प्रभावित भएको स्थानीयको गुनासो छ । 

गौरका युवा नेता रेवन्त झाले सवारी लिलाममा ढिलाइ हुँदा जीर्ण अवस्थामा पुगेकाले अव मूल्याकंन समेत कम हुने बताए । बरामद गरिएको सवारी साधन अलपत्र र अव्यवस्थित अवस्थामा रहेको कारण घाम, वर्षा, शीत, डुबानलगायतले जीर्ण भएको र पाटपुर्जा समेत चोरी भएकाले मूल्याकंन कम हुँदा राजस्वमा कमी आउने उनको तर्क छ । 

पर्याप्त कर्मचारी नहुँदा बरामद सवारी साधनको अभिलेख राख्न र लिलाम गर्न नसकेको भन्सार कार्यालयले जनाएको छ । लिलामी प्रक्रियाबाट कति राजस्व संकलन वा असुल हुन्छ अहिले नै यकिन गर्न नसकिने भन्सार कार्यालयले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार १४:२२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया