logo-img

एकवर्षे कार्यकाल उपलब्धिमूलक रहेको मुख्यमन्त्री जम्कट्टेलको दाबी
फाइल तस्बिर

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारले धेरै सकारात्मक काम गरेको दाबी गर्दै आफ्नो एकवर्षे कार्यकाल कामका दृष्टिले उपलव्धिमूलक रहेको बताएका छन् । 

आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले गरेका प्रमुख कार्य सार्वजनिक गर्दै मुख्यमन्त्री जम्कट्टेलले यस अवधिमा प्रदेश सरकार तथा कानुनी मन्त्रिपरिषद्का २४ बैठक सञ्चालन भई एक सय ३८ निर्णय गरिएको साथै प्रदेशसभासमक्ष पेस भएका सातवटा ऐन जारी भएको जानकारी दिए । 

प्रदेश सरकारलाई संस्थागत र सुदृढ बनाउनका लागि आवश्यक कानुन तथा नीतिहरू तर्जुमा गरिएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको दोस्रो आवधिक योजना तयारीको कार्य सुरु गरिएको जानकारी दिए । प्रदेश सरकार मातहतका मन्त्रालय, निकाय र कार्यालय स्थापना गरी सबै जिल्लाबाट सेवा सञ्चालन गर्ने, भौतिक पूर्वाधार र आवश्यक जनशक्तिको प्रबन्ध र कर्मचारी वृत्तिविकासका कार्यमा उल्लेखनीय उपलब्धि हासिल भएको उनले बताए । 

मुख्यमन्त्री जम्कट्टेलले सङ्घ, अन्तर प्रदेश र यस प्रदेशभित्रका स्थानीय तहसँग सहकार्य र समन्वय गर्नेमा उल्लेखनीय प्रगति भएको बताउँदै प्रदेशभित्रका स्थानीय तहको क्षमता विकासका लागि सरकारले गरेको वित्तीय हस्तान्तरण, लगानी र सहयोगले स्थानीय शासन सुदृढीकरणमा योगदान पुगेको जनाए । नीतिगत, संस्थागत र कार्यप्रक्रियागत सुधारबाट सार्वजनिक सेवाप्रवाह जनमैत्री र शासन व्यवस्था जवाफदेही एवं पारदर्शी भई सुशासन कायम हुने अपेक्षा गरिएको उनको भनाइ थियो ।  





  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार १७:५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया