logo-img

आइभिएफ सेन्टर : अधिकांशले लिएका छैनन् सञ्चालन अनुमति
निर्देशिका र प्रोटोकल बनाउने तयारीमा सरकार

वर्षौंदेखि निःसन्तानपनको समस्या भोगिरहेका नेपाली दम्पतीलाई इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) अर्थात् टेस्टट्युब बेबी सेवामार्फत बच्चा जन्माउन धेरै सहज भएको छ । तर, नेपालमा भएका अधिकांश आइभिएफ सेन्टर सञ्चालन अनुमति नलिई सेवा दिइरहेका छन् भन्दा धेरैलाई अचम्मित पार्न सक्छ । 

हाल काठमाडौंलगायत देशभरका विभिन्न सहरमा करिब ५० वटा आइभिएफ सेन्टर सञ्चालनमा रहेका छन् । तर, तीमध्ये १२ वटा आइभिएफ सेन्टरले मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सञ्चालन अनुमति लिएका छन् । अधिकांश आइभिएफ सेन्टर दर्ताविनै सञ्चालनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् । 

संघीय राजधानी काठमाडौंमा नै धेरै आइभिएफ सेवा दिइरहेका सेन्टरहरू इजाजत नलिई गैरकानुनी ढंगले सञ्चालन भइरहेका छन् । देशभर सञ्चालनमा रहेकामध्ये १२ वटा संस्थाले मात्र मापदण्ड पूरा गरेर सञ्चालन अनुमति प्राप्त गरेको डा. बुढाथोकीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार वात्सल्य नेचुरल आइभिएफ, काठमाडौं क्रियटर्स आइभिएफ नेपाल, वरदान फर्टिलिटी सेन्टर, नर्भिक अन्तर्राष्ट्रिय हस्पिटल, मनमोहन आइभिएफ सेन्टर, नेपाल इन्टरनेसनल एण्ड ल्याप्रोस्कोपी, स्नेह फर्टिलिटी सेन्टर, इन्दिरा फर्टिलिटी सेन्टर, शुभश्री फर्टिलिटी सेन्टर, एञ्जल फर्टिलिटी सेन्टर, होप फर्टिलिटी सेन्टर र ह्याम्स अस्पतालले सञ्चालनको अनुमति पाएका छन् ।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ अनुसार निजी, गैरसरकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्थाका लागि आइभिएफ सेन्टर सञ्चालन गर्न इजाजत लिनुपर्ने प्रावधान छ । 

उनका अनुसार नेपालभित्र सञ्चालनमा आएका आइभिएफ सेन्टरले नेपालको कानुन मान्दिनँ भन्न पाउँदैनन् । जबसम्म कानुनको फन्दामा पर्दैनन्, तबसम्म चेत्दैनन् भने अर्कै कुरा हो । तर, नेपालको कानुनअनुसार चल्नुपर्छ । उनले भने, ‘गैरकानुनी आइभिएफ सेन्टरलाई बेला–बखत दर्ता तथा सञ्चालन प्रक्रियामा आउनलाई निर्देशन दिने गरेका छौँ,’ डा. बुढाथोकी भन्छन्, ‘अटेरी गर्नेलाई कारबाही पनि गरिएको छ । पहिलोपटक नै बन्द गर भन्दैनौँ । दर्ता तथा सञ्चालन प्रक्रियाका लागि केही समय दिन्छौँ, त्यो समयभित्र दर्ता नगर्नेलाई कारबाहीको दायरमा ल्याउने गरेका छौँ ।’



उनका अनुसार करिब ३८ वटा आइभिएफ सेन्टर अनुमतिको प्रक्रियामा रहेका छन् । सञ्चालनको अनुमतिको प्रक्रियामा रहेका सेन्टरहरूमा काठमाडौं फर्टिलिटी सेन्टर, चितवन फर्टिलिटी सेन्टर, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, ग्राण्डीसिटी हस्पिटल आइभिएफ सेन्टर, माया आइभिएफ क्लिनिक, भेनस आइभिएफ सेन्टरलगायत रहेका छन् ।

डा. बुढाथोकीले मन्त्रालयले गरेको अनुगमनका क्रममा स्त्रीरोग सेवा, बहिरंग सेवा, युएसजी सेवा, अप्रेसन थिएटर, इम्ब्रोलोजी प्रयोगशालाजस्ता न्यूनतम आधारभूत पूर्वाधार नभएका आइभिएफ सेन्टर सञ्चालनमा रहेको पाइएको बताए । अनुमति लिएका अधिकांशले पनि आवश्यक मापदण्ड पूरा नगरेको भेटिएकाले उनीहरूलाई चेतावनी दिइ कारबाही गरिएको उनको भनाइ छ । 



‘दर्ता नभई सञ्चालनमा आएका आइभिएफ सेन्टरलाई प्रक्रियाका लागि मन्त्रालयले ताकेता गरिरहेको छ । बारम्बार निर्देशन दिँदा पनि पालना नगर्ने आइभिएफ सेन्टरलाई कारबाही गर्ने गरी काम भइरहेको छ,’ डा. बुढाथोकीले भने । 

अनभिज्ञ छैन, अनुगमन पनि छैन 

सरकार गैरकानुनी रूपमा देशभर सञ्चालन भइरहेका आइभिएफ सेन्टरबारे अनभिज्ञ नरहेको देखिन्छ । तर, कडाइका साथ किन प्रस्तुत हुन सकिरहेको छैन भन्ने बारेमा भने कसैले पनि मुख खोल्न चाहँदैनन् । 

मन्त्रालयका कर्मचारीले समेत निर्देशन दिने काम गरेको र दिनकै बजारमा भएका आइभिएफ सेन्टरको निगरानी गर्न असम्भव भएको बताइरहेका छन् । यस्तो स्थितिमा धमाधम खुलेका र खुल्ने क्रममा रहेका आइभिएफ सेन्टरलाई सरकारले निगरानी र नियन्त्रणमा ल्याउँनुपर्ने वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल बताउँछन् ।
 
जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ अनुसार निजी, गैरसरकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्थाका लागि आइभिएफ सेन्टर सञ्चालन गर्न इजाजत लिनुपर्ने प्रावधान छ । 

अनुमति नलिई सञ्चालन गर्नु गैरकानुनी हो । यसरी सञ्चालनमा आएका आइभिएफ सेन्टरले सेवाग्राहीबाट मनपरी शुल्क असुल्ने गरेको गुनासो पनि आइरहेको हुन्छ । सरकारले आइभिएफ शुल्कबारे स्पष्ट व्यवस्था नगर्दा र मापदण्ड नतोक्दा सेवाग्राही ठगिनेको संख्या बढेको डा. रिजाल बताउँछन् । 

यो पनि...

विदेशी आइभिएफ सेन्टरको बिगबिगी : नेपाली आनुवांशिकता नै जोखिममा पर्ने खतरा

निःसन्तान दम्पतीका लागि आइभिएफ प्रविधि वरदान सावित भएको भए पनि पछिल्लो समय व्यापारमुखी बन्दै गएको डा. रिजालको भनाइ छ । सोही कारण उनीलगायत ४० जना चिकित्सकको टिमले नेपालमा धमाधम खुलिरहेका आइभिएफ सेन्टरको अनुगमन तथा नियन्त्रणका लागि सरकारलाई घच्घच्याएका छन् । सोहीअनुरूप मन्त्रालयले पनि नियमन तथा नियन्त्रणका लागि कदम चालेको डा. बुढाथोकीको भनाइ छ । डा. बुढाथोकीले आइभिएफ सेवालाई व्यवस्थित गर्न निर्देशिका र प्रोटोकल बनाउने तयारीसमेत भइरहेको जानकारी दिए ।

यस्तै, भेरी अस्पतालमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी पनि गैरकानुनी रूपमा सञ्चालनमा आएका आइभिएफ सेन्टरलाई निगरानीमा ल्याउनुपर्ने बताउँछन् । ‘सर्वप्रथम त आइभिएफ सेवा सरकारी स्वास्थ्य संस्थाबाट दिँदा धेरै उत्तम हुन्थ्यो । 

नेपालभर एउटा सरकारी अस्पतालबाट मात्रै आइभिएफ सेवा प्रदान गरिँदै आइएको छ,’ डा. सुवेदी भन्छन्, ‘निजी तवरबाट खुलिरहेका आइभिएफ सेन्टर पनि दर्ता भएका छन् कि छैनन् अनुगमन गर्नुपर्यो । दर्ता भइसकेका आइभिएफ सेन्टरले गुणस्तरीय सेवा प्रदान गरेका छन् कि छैनन् त्यसको निरीक्षण गर्नुपर्छ ।’

नेपालमा आइभिएफ सेवा धेरै पहिलेदेखि सुरु भए पनि यसले सफलता भने विसं ०६० सालमा पाएको डा. भोला रिजाल बताउँछन् । ०६० साल फागुन २२ गते आइभिएफ प्रविधिमार्फत नैपालकै पहिलो टेष्टट्युब बेबी ओममणि तामाङको जन्म भयो । सोही वर्ष मात्रै आइभिएफ प्रविधिमार्फत ओम अस्पतालमा चारवटा बच्चाको जन्म भएको थियो । 

ओममणिपछि युगेश्वर र युगम्बर कोइराला, निष्क भट्टराईको जन्म भएको थियो । त्यसयता नेपालमा आइभिएफ प्रविधिमार्फत करिब १२ हजारजति बालबालिकाको जन्म भइसकेको डा. रिजालको अनुमान छ । 

बर्सेनि कति बच्चा नेपालमा आइभिएफ प्रविधिको सहयोगमा जन्मन्छन् भन्ने यकिन तथ्यांक सरकारसँग नभए पनि पछिल्ला वर्षमा काठमाडौंलगायत ठूला सहरमा तीव्र रूपमा खुल्दै गएका आइभिएफ सेन्टरको संख्या हेर्दा यो प्रविधिमार्फत सन्तान जन्माउने अभिभावकको संख्या बढ्दो छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । 

आइभिएफका नाममा जनताको स्वास्थ्य र भरोसामाथि खेलबाड नहोस् भन्नका निम्ति यसप्रति सरकारले गम्भीरतापूर्वक निगरानी गर्न आवश्यक भइसकेको सरोकारवाला बताउँछन् ।

  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार २०:०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया