logo-img

केएमसी विवाद : आत्मलोचनापछि डा. विशद दाहालको निलम्बन फुकुवा

काठमाडौं मेडिकल कलेजको विवाद समाधान भएको छ । कलेज प्रशासनले एक महिना निलम्बन गरिएका आवासिय चिकित्सक डा. विशद दाहालले आत्मलोचना गरेपछि विवाद समाधान भएको हो ।

आज कलेजका तर्फबाट सहायक प्राचार्य डा. पावना कायस्थ तथा कलेजका आन्दोलनरत आवासीय चिकित्सकहरुका तर्फबाट प्रतिनिधित्व गर्ने डा. विजय केसीबीच सहमति भई विवाद समाधान भएको हो ।

डा.विशद दाहालले विगतका कमीकमजोरी स्वीकार्दै आत्मालोचना गरेपछि काठमाडौं मेडिकल कलेजले उनको निलम्बन समेत फिर्ता लिएको छ । आज बसेको वार्तामा दुई पक्षबीच कलेजले सञ्चालन गर्ने निःशुल्क स्वास्थ्य शिविरलाई व्यवस्थित र सहज रुपमा सञ्चालन गर्नसमेत आठबुँदे सहमति गरिएको छ ।

मंगलबार शिक्षामन्त्री अशोककुमार राईले पत्र नै काटेर निलम्बित डा. विशद दाहालको निलम्बन फुकुवा गर्न कलेजलाई निर्देशन दिएका थिए । 

सोक्रममा कलेजका सञ्चालक डा. सुनीलकुमार शर्माले कलेजको स्वास्थ्य सेवा र शैक्षिक गतिविधि नै प्रभाव पार्ने कार्य गरेका चिकित्सकको पक्षमा शिक्षामन्त्री नै उभिनु लज्जास्पद र हास्यास्पद भन्दै विशद दाहाललाई विश्वविद्यालयमै फर्काइदिने र शिक्षामन्त्रीको निर्देशनको विरुद्ध कानुनी कारबाहीमा जाने चेतावनी दिएका थिए ।

आज भएको सहमतिअनुसार आवासीय चिकित्सकहरुले पुस १२ गते घोषणा गरेका सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिई नियमित कामकाज र अध्ययनमा फर्कने, ८१ जना आवासीय चिकित्सकले पुस ११ गते कुनै पनि स्वास्थ्य शिविरहरुमा संलग्न नहुने भनी दिएको निवेदन बदर हुने तथा कलेजले स्थानीय स्तरमा आयोजना गरिने निःशुल्क स्वास्थ्य शिविरमा संलग्न हुने भनिएको छ ।



यस्तै, निःशुल्क स्वास्थ्य शिविरका सवालमा अब उप्रान्त अर्को व्यवस्था नभएसम्म दुई हप्तामा तीनपटक र स्टे क्याम्प महिनामा एकपटक वा अस्पताल व्यवस्थापनले आवश्यक ठाने बढीमा दुईपटकसम्म आयोजना गर्ने, शिविर हुने ठाउँ, दूरी र आवश्यकताका आधारमा एकपटकको आवासीय स्वास्थ्य शिविर सामान्यतया एक हप्तासम्मको हुने तथा एक हप्ताभित्र विभिन्न ठाउँहरुमा गरिने शिविरलाई एउटा स्टे क्याम्पका रुपमा गणना गरिने लगायतको सहमति भएको छ ।



  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार २२:५६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया