logo-img

सिरीजंघामा विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक

ताप्लेजुङको सिरीजंघा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ ।

विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ जारी भए पनि गाउँपालिकाभित्र शैक्षिक क्षेत्र प्रभावित हुने गतिविधि नरोकिएकाले गाउँपालिकाले कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

विद्यालय हाताभित्र वा विद्यालयको सम्पत्ति प्रयोग गरी राजनीतिक दल वा दलसम्बद्ध संगठन निर्माण, आमसभा, गोष्ठी, बैठक, सभा सम्मेलन गर्न नपाइने गाउँपालिकाले जनाएको छ ।  

सो निर्देशिकालाई पूर्णरूपमा लागू गर्न गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा स्पष्ट व्यवस्था गरेको जनाउँदै विद्यालय क्षेत्रमा राजनीतिक गतिविधि रोक्न थप कडाइका साथ लाग्ने निर्णय गरेको छ ।

गाउँपालिकाले हालै सूचना जारी गर्दै विद्यालय शान्ति क्षेत्र ढाँचा कार्यान्वयनमा उल्लेख भएअनुसार कुनै पनि समूहद्वारा विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिलाई प्रभाव पार्ने गरी हातहतियार देखाउने, त्रास फैलाउने, कुटपिट गर्ने, विद्यालय बन्द गराउने, बल प्रयोग गर्ने, धम्की दिने, चन्दा आतंक मच्चाउनेलगायतका गतिविधिमा कडाइका साथ पूर्णरूपमा रोक लगाउने निर्णय भएको र सोहीअनुसार गर्न गराउन सचेत गराएको छ ।

विद्यालय क्षेत्रलाई शान्त र बालमैत्री बनाउन गाउँपालिकोको उक्त निर्णयलाई कडाइका साथ कार्यान्वयन गराउन स्थानीय तह, विद्यालय, राजनीतिक दल, दल सम्बद्ध संघसंस्था र शैक्षिक पेसागत संघसंगठनलाई गाउँपालिकाले आग्रहसमेत गरेको छ । रासस





  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार ८:२१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया