logo-img

सहकारी अपचलनमा १९ जना दोषी ठहर

बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुर/ सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन् ।

अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने बिहीबार फैसला गरेको अदालतका सूचना अधिकारी हेमन्त भट्टराईले बताए । उनका अनुसार अदालतले साबिकको मुलुकी ऐन ठगीको महलका साथै मुलुकी अपराधसंहिता २०७४ बमोजिम अभियुक्तहरुबाट बिगो भराउने, जरिवाना गर्ने र कैद सजाय गर्ने आदेश गरेको छ ।

अदालतले सहकारीको रकम हिनामिनामा संलग्न मुख्य अभियुक्त कर्जा फाँटका प्रमुख अरुण पाठकबाट २४ करोड ९१ लाख रुपैयाँ बिगो भराई पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने आदेश दिएको छ । सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारीबाट चार करोड ४८ लाख नौ सय ५९ रुपैयाँ बिगो भराउन, ५० हजार रुपैयाँ जरिवाना र पाँच वर्ष कैद सजाय तोकिएको सूचना अधिकारी भट्टराईले जानकारी गराए । 

सहकारीको व्यवस्थापकीय भूमिकामा रहेका कर्मचारी गङ्गाधर सुवेदीबाट दुई करोड ८३ लाख ७३ हजार दुई सय ९५ रुपैयाँ बिगो भराउन, ५० हजार जरिवाना र पाँच वर्ष कैद सजाय गर्ने अदालतले आदेश गरेको छ । लिला भन्ने लिलाप्रसाद वलीबाट ८९ लाख २९ हजार सात सय २५ रुपैयाँ बिगो भराउन, ५० हजार रुपैयाँ जरिवाना र पाँच वर्ष कैद सजाय तोकिएको छ । 

सहकारीका कर्मचारी किरण श्रेष्ठबाट ८६ लाख ३५ हजार चार सय ५४ रुपैयाँ बिगो, ५० हजार रुपैयाँ जरिवाना गर्न र पाँच वर्ष कैद सजाय गरेको छ । गौरवकुमार श्रेष्ठबाट एक लाख २९ हजार चार सय ९१ बिगो भराउन, ४० हजार जरिवाना गर्न र चार वर्ष कैद सजाय गर्न आदेश दिएको अदालतका सूचना अधिकारी भट्टराईले बताए । 

त्यसैगरी, सहकारीका कर्मचारी सुरतराम खटिकबाट ९८ लाख ४८ हजार दुई सय ७४ बिगो भराउन, ५० हजार जरिवाना गर्न र पाँच वर्ष कैद, बलराम यादवबाट ५३ लाख ६९ हजार छ सय ५२ बिगो, ५० हजार जरिवाना र पाँच वर्ष कैद सजाय गर्न आदेश दिएको छ ।



सहकारीका खजुरा शाखाका प्रमुख सूर्यबहादुर बिकबाट ३३ लाख ६० हजार छ सय ८१ बिगो, ५० हजार जरिवाना र पाँच वर्ष कैद सजाय गर्न आदेश दिएको छ । 

सहकारीको लेखा समितिमा कार्यरत स्थिरमणि बज्राचार्य, सन्दीप शर्मा र लिला शाहलाई एक वर्ष कैद र पाँच हजार जरिवाना, तुषार शाह र ओमप्रकाश चौधरीलाई दुई वर्ष कैद र पाँच हजार जरिवाना गर्ने अदालतले आदेश गरेको छ । 



सहकारी संस्थाका पूर्वअध्यक्षहरु सिद्धिकुमार महर्जनलाई दुई वर्ष छ महिना कैद ,पाँचहजार जरिवाना,  अम्बरबहादुर खड्का र हरदेवबक्स चौधरीलाई पाँच/पाँच वर्ष कैद र ५०/५० हजार जरिवाना गर्ने आदेश दिएको अदालतलका सूचना अधिकारी भट्टराईले जानकारी दिए ।  

  • प्रकाशित मिति : पुस २७, २०८० शुक्रबार १०:२१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया