logo-img

गोरखा दरबारको गर्भगृहमा पृथ्वीनारायणको राजगद्दी पुनःस्थापना

भूकम्पले क्षति पुर्याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण सम्पन्न भएसँगै तत्कालीन राजा पृथ्वीनारायण शाहको राजगद्दी मूल दरबारको गर्भगृहमा पुनःस्थापना गरिएको छ । 

भूकम्पका कारण भग्नावशेष अवस्थामा रहेको राजगद्दी मर्मतसम्हार गरी शुक्रबारदेखि पुरानै ठाउँमा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख बिष्णुप्रसाद पाठकले जानकारी दिए । ‘भूकम्पले दरबारमा क्षति पुगेपछि दरबारमा रहेको ऐतिहासिक राजगद्दी पनि दरबार परिसरमा भग्नावशेष अवस्थामा थियो’,  प्रमुख पाठकले भने, ‘त्यसलाई पुरातात्विक तथा ऐतिहासिक महत्व नमेटिने गरी साविकै स्वरुप र शैलीमा साविककै ठाउँमा राखिएको छ ।’ भूकम्पपछि दरबार पुनःनिर्माणका क्रममा राजगद्दी पनि भग्नावशेष अवस्थामा रहेको थियो ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी गोरखा भूकम्पबाट राजगद्दी र पृथ्वीनारायण शाहको बाल्यकालमा सेक ताप गरिएको भनिएको अँगेनाको ध्वनि पनि भूकम्पपछि बन्द भएको थियो ।  पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर राजगद्दी साविककै स्थानमा राखिएको हो । गर्भगृहमा राजगद्दी राखिएसँगै अबदेखि गोरखा दरबार पुग्ने नागरिकले मूलदरबारमा राखिएको ऐतिहासिक गद्दी हेर्न पाउनेछन् । 

‘विगतमा जस्तै अबदेखि गर्भगृहमा राखिएको राजगद्दी दरबार बाहिरको झ्यालबाट अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ’, प्रमुख पाठकले भने, ‘दरबारमा विगतमा बलिरहेको ध्वनिलाई निरन्तर गर्ने गरी कामको थालनीसमेत भएको छ ।’

भूकम्पले क्षति पुर्याएको मूलदरबार, कालिका मन्दिर, रङगमहल, गोरखानाथगुफालगायतका अधिकांश संरचना पुनःनिर्माण र मर्मत गर्ने कार्य लगभग सकिएपछि राजगद्दी पनि देखाउने उपयुक्त हुने भएकाले आवश्यक मर्मत गरी पुरानै ठाउँमा राखिएको उनले जानकारी दिए ।  





  • प्रकाशित मिति : पुस २८, २०८० शनिबार १२:९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया