logo-img

मन्थली नगरपालिकाले महिलालाई उद्यमी बनाउन ल्यायो यस्तो कार्यक्रम

रामेछापको मन्थली नगरपालिकाले महिलालाई उद्यमी बनाउन ‘उपप्रमुखसँग उद्यमशीलता तथा सिप विकास कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । 

महिलाको सीप र क्षतमा विकास गरी आयआर्जनमा सहयोग पुर्‍याउन यस वर्षबाट सो कार्यक्रम सञ्चालनमा ल्याइएको मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले जानकारी दिइन् । ‘यस वर्षबाट कार्यक्रम सुरु गरेका छौँ, यसको प्रभावकारितालाई हेरेर कार्यक्रमलाई निरन्तरता दिने छौँ’, बस्नेतले भनिन् । 

कार्यक्रमका लागि यस वर्ष नगरपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ । महिलालाई घरमा नै बसेर वा समूहमा बसेर आफ्नो सिप प्रयोग गरी आयआर्जनमा सहयोग पुग्ने खालका सिप विकासका तालिम सो कार्यक्रम अन्तर्गत प्रदान गरिने मन्थली नगरपालिकाकी उद्यम विकास सहजकर्ता मञ्जु दंगालले जानकारी दिइन् । 



मागको आधारमा सञ्चालन हुने सो कार्यक्रम अन्तर्गतको पहिलो तालिम क्रिष्टलका गहना बनाउने तालिम सञ्चालन गरिएको दंगालले बताइन । तालिममा क्रिष्टलको प्रयोग गरी माला, चुरा, औँठी, लकेट, नेकलेस, टप, झुम्का, नौ गेडी, रानी हार, मिनी हार, सारी पिन, ब्रास्लेट जस्ता गहना बनाउन सिकाइएको उनले बताइन् ।

तालिममा १३ वटा वडाका २९ जनाका महिलाको सहभागिता रहेको दंगालले जानकारी दिइन् । महिलाले तालिम सिकेपछि व्यवसाय सञ्चालनको लागि समेत नगरपालिकाले सहयोग गर्ने उनले बताइन् । व्यवसाय गर्ने ठाउँको समेत नगरपालिकाले तयारी गरिसकेको उनले जानकारी दिइन् । 

तालिमबाट क्रिष्टलका गहना बनाउन सिकेको बताउँदै मन्थली–१ आकाशेकी शर्मिला देवकोटाले अब आफूले क्रिष्टलका गहना बनाउने व्यवसाय सञ्चालन गर्ने सोच बनाएको बताउँछिन् । ‘घरमा नै बसेर गहना बनाएर अनलाइनबाट पनि व्यवसाय गर्न सकिन्छ भन्ने लागेको छ, समूहमा गर्‍यो भने अझ राम्रो हुन्छ भन्ने विश्वास लागेको छ’, उनले भनिन् ।  



तालिमकी सहजकर्ता सावित्रीदेवी कुँवर प्रशिक्षार्थी महिलाहरूको इच्छाशक्ति हेर्दा सिप सिकेपछि क्रिष्टलका गहना बनाएर आयआर्जन गर्न सक्छन् भन्ने विश्वास जागेको बताउँछिन् । क्रिष्टलका गहनाको बजारमा राम्रो माग भएकोले यसबाट उनीहरूले राम्रो आम्दानी गर्न सक्ने उनको विश्वास छ । 

मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ केही गर्छौँ भन्नेलाई स्थानीय सरकारको सधैँ साथ र सहयोग रहने बताउँछन् । महिलाहरूलाई सिप सिकाइमा आत्मनिर्भर बनाउन यस्ता तालिमले महत्त्व राख्ने भएकोले मागको आधारमा सिप विकास तालिम निरन्तर सञ्चालन हुने उनले बताए । 



  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार १४:१५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया