कोशी प्रदेश पुगेर शेखरले भने- कांग्रेस सधैँ पहिचानको पक्षमा छ

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस सधैँ पहिचानको पक्षमा रहेको बताएका छन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति सुन्दरहरैँचाको प्रथम नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले पहिचानको मुद्दालाई कांग्रेसले जति कसैले नउठाएको दाबी गरे ।

‘कांग्रेसले विगतदेखि नै ‘द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने’ भन्दै आएको छ,’ उनले भने, ‘पहिचानका नाममा समाजमा फाटो ल्याउने होइन, भएका अलिअलि कहीँकतै तुस छन् भने त्यसलाई पनि मेट्ने पहिचानको पक्षमा कांग्रेस छ ।’

प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता कोइरालाले पहिचानका नाममा समाजलाई भत्काउने र द्वन्द्व बढाउने क्रियाकलाप कतैबाट पनि हुन नहुने बताए । 

देशमा भ्रष्टाचार मौलाएको बताउँदै नेता कोइरालाले भ्रष्टाचारविरुद्ध सबै लाग्नुपर्नेमा जोड दिए । उनले संघीयदेखि स्थानीय तहसम्म भ्रष्टाचार मौलाएको दाबी गरे ।

‘सरकारले जनतालाई सुशासनको अनुभूति दिन सकेको छैन,’ कोइरालाले भने, ‘सुशासनविना देशको विकास सम्भव छैन । सबैभन्दा पहिले तीनै तहको सरकारले सुशासन कायम गर्न लाग्नुपर्छ ।’



भ्रष्टाचार र बेथितिकै कारण जनता निराश बन्दै गएको नेता कोइरालाले बताए । ‘पछिल्लो समय युवाहरुमा यो देशमा केही हुँदैन, यहाँ बस्नु बेकार छ भन्ने सोच देखिएको छ,’ कोइरालाले थपे, ‘उनीहरुमा आशा जगाउनु जरुरी देखिन्छ ।’
 
नेता कोइरालाले हरेक क्षेत्रमा अराजकता बढ्दै गएकोमा चिन्तासमेत व्यक्त गरे । राजनीतिमा मात्रै नभएर आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि अराजकता बढेको उनको भनाइ थियो ।
 



  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार २०:४३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया