logo-img

चिया र अलैँची अनुसन्धान केन्द्र स्थापनाको पहल
फाइल तस्बिर

चिया उत्पादनको उद्गम भूमि इलाममा चिया र अलैँचीबारे व्यवस्थित रूपमा अनुसन्धान गरिने भएको छ । यसका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।

राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । इलाम नगरपालिका–१ साँखेजुङमा बन्ने अनुसन्धान केन्द्रका लागि प्रारम्भिक चरणको काम सुरु भइसकेको छ । स्थानीय तीन जनाले केन्द्रका लागि निःशुल्क रूपमा जग्गा दान गरेका छन् ।

केन्द्रका लागि जग्गा व्यवस्थापनको काम इलाम नगरपालिकाले गरिरहेको छ । पहिलो चरणमा भवनलगायत संरचना निर्माणका लागि १३ रोपनी क्षेत्रफललाई सम्याइएको छ । भवन निर्माणका लागि ठेक्का लागिसकेको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए । 

अनुसन्धान केन्द्रका लागि इलाम नगरपालिका–१ स्थित साँखेजुङमा ४२ रोपनी जग्गा प्राप्त भएको छ । स्थानीय रेतनाथ दाहालले १३ रोपनी, मित्र दाहालले १४ रोपनी तथा देवी दाहालले १५ रोपनी जग्गा हस्तान्तरण गरेको इलाम नगरपालिका–४ का वडाध्यक्ष तथा इलाम नगरपालिका प्रवक्ता नुतनदेव दुलालले बताए ।

अनुसन्धान केन्द्रका लागि एक सय रोपनीभन्दा बढी जमिन आवश्यक पर्नेमा ४२ रोपनी जग्गा प्राप्त भइसकेको र अब थप ५२ रोपनी जग्गा आवश्यक रहेको दुलालको भनाइ छ ।डेढ शताब्दीभन्दा अघि नेपालमै पहिलो पटक इलामबाट चिया खेती सुरु भएको इतिहास छ । जिल्लाभरि हजारौँ किसानले चिया खेती गरिरहेका छन् ।

इलामबाट बिस्तार भएर पाँचथर, झापा, धनकुटालगायत अन्य थुप्रै जिल्लामा चिया खेती भइरहेको छ । यसैगरी, अलैँची उत्पादनका लागि पनि इलाम उर्वर जिल्ला मानिन्छ । यहाँबाट वर्षेनि ठूलो परिमाणमा अलैँची उत्पादन भई निर्यात हुने गरेको छ । छिमेकी जिल्लाहरू पाँचथर, ताप्लेजुङ र अन्यत्र पनि अलैँची खेती मनग्य हुने गरेको छ । 



अब यी दुवै मुख्य उत्पादनबारे अनुसन्धान गर्न व्यवस्थित केन्द्र स्थापना भएपछि खेतीमा देखिएको समस्या, रोग, उत्पादनसँग सम्बन्धित अन्य प्राविधिक पक्षहरूबारे सूक्ष्म रूपमा जानकारी लिन सकिने चिया उद्यमी निर्मला कट्टेलको भनाइ छ ।



  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार १७:१४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया