logo-img

बाथराेग : पुरुषको तुलनामा महिलालाई तीन गुणा बढी

के हो बाथरोग ? महिलालाई बाथ किन बढी हुन्छ ?

बाथरोग कुनै एक मात्र रोग नभएर विभिन्न प्रकारका रोगको संकलन हो । बाथरोग भन्ने शब्द आफैँमा बृहत् छ । यसभित्र सयौँ प्रकारका बाथरोग हुन्छन् । अटोइम्युनका कारण गठिया, लुपस, मेरुदण्डको बाथ, स्पनेलाहरू पर्छन् । 

यस्तै, उमेरअनुसार हड्डी खिइने, मेरुदण्ड खिइने, कुरकुरे हड्डी खिइने बाथ पर्छ । त्यसैगरी खानपानसँग सम्बन्धित मेटाबोलिक डिजिज, मांसपेशीसँग सम्बन्धी बाथ हुन्छन् । यी बाथभित्र पनि विभिन्न प्रकारका बाथरोग पर्छन् ।

बाथरोग वंशाणुगत रोग हो ? 

बाथ किन हुन्छ भन्नेकुरा हो भने बाथ विभिन्न कारणले हुन्छ । जुनमा अटो इम्युन डिजिजहरूको कुरा गर्नुपर्दा गठिया, मेरुदण्डको लुपस यस्ता बाथहरू अटो इम्युनिटीको कारणले हुन्छ । हाम्रो शरीरमा जुन रोगप्रतिरोधात्मक क्षमता हुन्छ, त्यो क्षमतामा गडबढी आउँदा शरीरका कोषिकाहरूले आफ्नै अंगलाई बिगार्न थाल्छ ।

जोर्नी, भित्रि अंगहरूलाई पनि बिगार्न थाल्छ । त्यसबाट अटो इम्युन डिजिजहरूको उत्पत्ति हुन्छ । बाथ हुनैबाट जोगिन त सकिँदैन । तर, भइसकेपछि केही सावधानी सर्टेन प्रिकसनहरू लिन सकिन्छ । बाथहरूमा जेनेटिक एसोसिएसनहरू हुन्छ । तर, वंशानुगत हुँदैन ।



बाथरोगका लक्षण कस्ता हुन्छन् ? 

बाथरोग विभिन्न प्रकारको भएको कारणले र हरेक प्रकारको बाथले शरीरका सबै अंगलाई समात्ने गर्छ । त्यसैले यसको लक्षण पनि फरक–फरक हुन्छ । 



बाथरोगमा समान रूपमा देखिने लक्षण भनेको हातका, खुट्टाका साना तथा ठूला जोर्नीमा दुखाइ हुनु तथा सुन्निनु हो । बिहानपख उठ्दा अररो हुने, मुठ्ठी कस्न गाह्रो हुने, बिस्तारै दिन ढल्दै गएपछि जोर्नीहरू खुल्दै जाने यी प्रमुख लक्षण हुन् । त्यस्तै, छालामा विभिन्न किसिमको डाबर आउने, खुट्टामा बारम्बार घाउ हुने, निलो डाबर आउने, अनुहारमा डाबर आउने, कपालमा अध्यधिक चायापोतो आउने, कपाल झर्दै जाने पनि बाथरोगको अर्का प्रमुख लक्षण हो । राति निद्रामा कम्मर दुख्ने, सुतेर उठ्दा पनि कम्मर दुख्ने, अररोपना हुने मेरुदण्ड बाथरोगको लक्षण हो । 

यसैगरी, आँखा बारम्बार रातो हुने, आँखा र मुख सुख्खा हुने, आँखा बिजाउने, भित्री अंगमा असरमा गरेको छ भने पिसाबमा प्रोटिन जाने, मिर्गौलामा समात्ने, फोक्सोमा पानी जम्ने, प्वाल पर्ने, आन्द्रा आक्रमण गर्यो भने बारम्बार पखाला लागिरहने, मुटुमा पानी जम्नेजस्ता लक्षण देखापर्छन् । बाथरोगले शरीरको कुन अंग समातेको छ, त्यहीअनुसार लक्षण देखापर्छन् । कुनै एउटा वा दुईवटा लक्षण हुने भन्ने हुँदैन । करिब मोटामोटी लक्षण माथि उल्लेखित नै हुन्छन् । 

जाडोयाममा बाथरोगले बढी सताउँछ भन्ने गरिन्छ । यो कुरामा कति सत्यता छ ?

बाथरोगले प्रायः सबै मौसममा सताउने गर्छ । तर, बाथको लक्षण जाडोयाममा बढी देखिन्छन् । जाडोमा वातावरण चिसो भएकाले चिसो पानी चलाइरहँदा जोर्नी दुखाइ बढ्नुका साथै नयाँ जोर्नी दुखाइ पनि सुरु हुनसक्छ । यस्तै, चिसोयामा चिसोपानी धेरै चलाउँदा छालाको रङमा परिवर्तन देखिन्छ । चिसोपानी चलाउँदा हातका औँला सेतो, पहेँलो, निलो भएर रङ उडेको जस्तो देखिन्छ । 

पुरुषको तुलनामा महिलालाई बाथरोगले बढी सताउँछ ? 

पुरुषको तुलनामा महिलालाई बाथरोग सताउँछ भन्ने गरिन्छ, जुन सत्य पनि हो । कुनै प्रकारको बाथ महिलालाई बढी हुन्छ भने कुनै बाथ पुरुषमा बढी देखिन्छ । महिलामा हुने हर्मोनल परिवर्तनका कारण बाथरोगले बढी सताउने गर्छ ।

गठिया, लुपसजस्ता बाथ महिलालाई पुरुषको तुलनामा तीन गुणा बढी हुन्छ । तर, मेरुदण्डको बाथ, युरिक एसिड महिलाको तुलनामा पुरुषमा बढी छ । सामान्यतया पुरुषको तुलनामा महिलामा स्ट्रेजोन नामक हर्मोन बढी हुन्छ । यसबाहेक मानसिक तनाव, शारीरिक क्रियाकलापका कारणले पनि गठिया र लुपस बढी पाइन्छ ।

कुन उमेर समूहका व्यक्तिलाई बाथरोग हुने सम्भावना बढी हुन्छ ? 

बाथरोग प्राय वृद्धवृद्धालाई हुन्छ भन्ने भ्रम समाजमा व्याप्त रहेको पाइन्छ । बाथ सानो बालबालिकादेखि वृद्धवद्धा सबैलाई हुन्छ । कुन प्रकारको बाथ कुन उमेर समूहकालाई बढी हुन्छ भन्ने कुरा हामीलाई थाहा हुन्छ । जस्तैः गर्भवती महिलालाई लुपस बाथ छ भने पेटमा भएको बच्चामा पनि लुपस बाथ हुनसक्ने सम्भावना हुन्छ । 

जीवनशैली र बाथको सम्बन्ध हुन्छ ? 

जीवनशैली र बाथको अन्तरसम्बन्ध हुन्छ । तर, सबै बाथमा जीवनशैलीको सम्बन्ध हुँदैन । बाथको प्रकारअनुसार जीवनशैलीले पनि फरक पारिरहेको हुन्छ । अटोइम्युन कारणले हुने बाथमा भने जीवनशैलीको सम्बन्ध हुँदैन । तर, एकपटक बाथरोग पुष्टि भइसकेपछि भने जीवनशैलीमा भने मिलाउनुपर्ने हुन्छ ।
 
बाथरोगको उपचार कसरी गरिन्छ ? 

बाथरोगको उपचार बाथको प्रकार हेरेर हुन्छ । यसका साथै बाथ कति जटिल छ, कुन–कुन अंग समातेको छ ? त्यहीअनुसार उपचार तलमाथि हुन्छ । बाथले बाहिरी अंग छाला, जोर्नीलाई समातेको छ भने उपचार एकदम सहज र कम खर्चिलो छ ।

तर, बाथले भित्रि अंग मिर्गौला, मस्तिष्क, फोक्सोमा जाली परेको भने यसको उपचार जटिल र खर्चिलो हुन्छ । कतिपय बाथमा औषधि, उपचार लामो समयसम्म चल्छ भने कसैलाई जिन्दगीभर नै औषधि खानुपर्ने हुनसक्छ । 

बाथरोगको लक्षण देखापरेको प्रारम्भिक स्टेजमै उपचारका लागि अस्पताल आइपुगेमा उपचार खर्च सहज हुन्छ । प्रारम्भिक अवस्थामै उपचार गर्दा प्ररारम्भिक उपचारबाटै बाथलाई नियन्त्रण गर्न सकिन्छ । तर, बाथ जटिल भइसकेको छ, जोर्नीहरू छिप्पिसकेको, जोर्नी बांगो भएको छ, भित्री अंगलाई आक्रमण गरेको छ, औषधि पनि कडा प्रयोग गर्नुपर्छ । र, उपचार लामो समयसम्म गर्नुपर्छ । त्यही भएर बाथरोगको लक्षण देखिएका व्यक्तिले प्रारम्भिक समयमै उपचारका लागि अस्पताल आउनुपर्छ । 

बाथरोग भएका व्यक्ति कस्तो खानपान अपनाउनुपर्छ ?

बाथ हुनैबाट जोगिन त गाह्रो छ । किनभने अटो इम्युन डिजिज हो । तर, बाथ भइसकेका बिरामीले यसलाई बढ्नबाट जोगिन चिसोबाट जोगिने, चुरोटको धुवाँबाट जोगिने, समयमै उपचार सुरु गर्नुपर्छ । उपचार सुरु गरिसकेपछि त्यसलाई निरन्तरता पनि दिनुपर्छ ।

बाथको उपचार भनेको खाली लक्षणको उपचार होइन, बाथको उपचारले भित्री अंगहरू सबै बिगार्नसक्ने भएकाले यसको जटिलतालाई पनि प्रिभेन्ट गर्नुपर्ने हुन्छ । उपचारलाई निरन्तरता दिँदै अघि बढ्ने हो भने बाथ रोगबाट जोगिन सकिन्छ ।

बाथ रोगबारे नेसनल बाथरोग सेन्टरकी बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मीसँग फरकधारका लागि रेश्मा सिंहले गरेको कुराकानीको सम्पादित अंश ।

  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार १८:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया