पोखरामा मह खाने प्रतियोगितामा, लामिछाने भए प्रथम

सुन्दा अनौठो लाग्न सक्छ, दुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ । वि.सं २०६० मा तीन/तीन हजार रुपैयाँमा दुईवटा मौरीका घारबाट सुरु गरेका उनीसँग अहिले भने ३ सय ५० मौरीका घार पुगिसकेका छन् ।

आफ्नो अनुहार भरी मौरीलाई राख्न सफल भई स्वदेश तथा विदेशमा चर्चा कमाएका लामिछानेसँग मौरीकै कारण नेदरल्याण्ड्ससहित युरोपियन मुलुकमा भ्रमण गर्न पाएको अनुभव छ ।

आफ्नो व्यावसायिकतामा उत्साह थप्न सञ्चारमाध्यमले ठूलो भूमिका निर्वाह गरेको बताउँदै लामिछानेले मौरीपालनको इच्छा र लगाव हुनसकेमा सामान्य रोजगारीका लागि विदेशिनु नपर्ने बताए । बेगनास मौरीघार उद्योगमार्फत मौरीपालन व्यवसाय गरिरहेका लामिछानेले उद्योग स्थापनाको २० औँ वार्षिकोत्सव मह खाने प्रतियोगिताका साथ मनाएका छन् ।

प्रतियोगितामा १० जना सहभागी भएकोमा पोखरा महानगरपालिका–२३ का जीवनाथ लामिछाने प्रथम भएका छन् । त्यस्तै, द्वितीय पोखरा–३० खुदीका वसन्त पौडेल र तृतीय पोखरा–२७ का विक्रम अधिकारी बने । पोखरा–३१ की सृजना लामिछानेले महिला प्रतिस्पर्धीका रूपमा पुरस्कृत बन्नुभएको थियो । कूल ३ सय ग्राम महका लागि तीन मिनेटको समय छुट्याइएकोमा प्रथम, द्वितीय र तृतीयले क्रमशः एक मिनेट ४८ सेकेन्ड, दुई  मिनेट आठ सेकेन्ड र दुई मिनेट ११ सेकेन्डमा मह खाएर विजयी भए ।

विजयीलाई महानगरको वडा नंं ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, ३१ का वडाध्यक्ष ढकनाथ कँडेल र मौरीपालक कृषक सूर्यप्रसादले संयुक्तरुपमा मह प्रदान गरी पुरस्कृत गरे । प्रथम हुनेलाई एक किलोग्राम महसहित एक फ्रेम चाकासहितको मह, द्वितीय हुनेलाई एक किलोग्राम मह र तृतीय हुनेलाई आधा किलोग्राम मह प्रदान गरिएको थियो । रासस 





  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार ९:४५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया