logo-img

हिन्दु राष्ट्रको बाटोतिर भारत
अयोध्यामा राम मन्दिर : भाजपा-आरएसएसका लागि सत्ताको साँचो

आगामी सन् २०२५ सम्म भारतलाई हिन्दु राष्ट्र बनाइ छाड्ने भारतीय हिन्दुवादी संघ अर्थात् आरएसएसको घोषणालाई अघि बढाउँदै आज एक भव्य समारोहबीच उत्तर प्रदेशस्थित अयोध्यामा  नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । यो कार्यक्रम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति र नेतृत्वमा सम्पन्न भएको हो ।  भारतीय जनता पार्टी अर्थात् बिजेपी आरएसएसकै एउटा राजनीतिक हाङ्गा हो । 

भारतमा भइरहेको र हुन लागेको विधानसभा र लोकसभा निर्वाचनलाई दृष्टिगत गरेर सत्ताको नेतृत्व गरिरहेको भाजपाले अयोध्याको राम मन्दिरलाई प्रयोग गर्न खोजेको बुझ्न कठिन छैन । अहिले भारतमा चुनावी माहोल छ, आगामी चुनावमा भारतको हिन्दु मतलाई आकर्षित गर्न राम मन्दिर कार्ड भाजपाले खेलिरहेको रहस्यको विषय रहेन । 

हिन्दु शास्त्रअनुसार अहिले उक्त मन्दिरमा प्राणप्रतिष्ठा गर्ने बेलै भएको छैन भनेर भारतभित्रैबाट विरोध भइरहेको छ । कतिसम्म भने भारतका शक्तिशाली भनिएका कतिपय महन्त र शंकाराचार्यहरू पनि भोटको राजनीतिका लागि हतार–हतार मन्दिरको प्राणप्रतिष्ठा गर्न खोजिएको भन्दै असन्तुष्ट छन् । उक्त कार्यक्रममा उनीहरू उपस्थित पनि भएनन् । 

राम मन्दिरको प्राणप्रतिष्ठालाई लिएर भारतको ज्योर्तिमठका शंकराचार्य अभिमुक्तिश्वेराय सरस्वतीदेखि गोवर्द्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले पनि आज हुने भनिएको प्राणप्रतिष्ठा शास्त्र अनुसार नभएको भन्दै उनीहरूले कार्यक्रम बहिष्कार गरेका छन् । 

अयोध्यामा लामो विवादपछि राममन्दिर बनेको हो, जहाँ आज रामको मूर्ति विराजमान गरिनेछ । भाजपा त्यही पार्टी हो, जसले आजभन्दा ठीक ३१ वर्षअघि हिन्दु अतिवादीहरूलाई प्रयोग गरेर मुस्लिम समुदायको पवित्रस्थल १६औँ शताब्दीको बाबरी मस्जिद ध्वस्त पार्न मद्दत पुर्याएको थियो ।



जसमा झन्डै २ हजार जनाको ज्यान गएको थियो । त्यही ठाउँमा राममन्दिर बनाउने वाचा गर्दै भाजपाले देशव्यापी रथ यात्रा गर्दै यसलाई राजनीतिक मुद्दा बनाउँदै आएको थियो । राममन्दिर बनाउने अभियान चलाएकै कारणले भारतीय जनता पार्टीको सन् १९९० को दशकमा राजनीतिक उदय भएको ठानिन्छ । सन् १९८४ को चुनावमा लोकसभामा दुई सिट मात्र चुनाव जितेको भाजपा हिन्दु धर्म, राम मन्दिर निर्माणको विषयलाई राजनीतिक मुद्दा बनाउँदै २०१४ देखि भारी मतका साथ केन्द्रमा सरकार चलाइरहेको छ । 

आज भाजपाले त्यो वाचा पूरा गरेको देखिएको छ, यसले विशेषगरी उत्तर भारतीय क्षेत्रमा हिन्दु मतलाई आकर्षित गर्न उसका लागि लाभप्रद हुन सक्छ । भारतमा हिन्दुत्ववादी विचारधारा स्थापित गर्नका लागि न्वारनको बल लगाइरहेको भाजपाका लागि मतदातासमक्ष मत माग्ने एउटा बलियो आधार हुनेछ ।



सायद यही कारण हुन सक्छ भारतका विपक्षी राजनीतिक दलहरूले आजको कार्यक्रम बहिष्कार गरेका छन् । भारतको प्रमुख विपक्षी दल राष्ट्रिय कांग्रेसले यसलाई ‘भाजपा–आरएसएसको कार्यक्रम’ भनेर टिप्पणी गरेको छ ।

रामजन्मभूमि–बाबरी मस्जिद मुद्दामा आजभन्दा चार वर्षअघि भारतको सर्वोच्च अदालतले गरेको फैसला भाजपाको पक्षमा आएको थियो । बाबरी मस्जिद भगवान रामको जन्मस्थल रहेको अदालतको ठहर थियो । 

बाबरी मस्जिदस्थल धेरै पहिलेदेखि नै दुई धार्मिक समुदायका लागि विवादित स्थल बनेको थियो । विवादकै कारण ब्रिटिस शासकले १८५९ मा मस्जिदको भित्री हिस्सा मुसलमानका लागि र बाहिरी हिस्सा हिन्दुहरूका लागि निर्धारित गरेको थियो । भारतको स्वतन्त्रतापछि हिन्दुहरूले उक्त स्थान प्राप्तिका लागि पटकपटक प्रयास थालेका थिए । सन् १९८० को दशकमा स्थापना भएको भाजपाले राम मन्दिर निर्माणको विषयलाई मुख्य मुद्दा नै बनाएपछि यो राष्ट्रिय विषय बन्न पुगेको थियो ।

रामलाई राजनीतिमा ल्याएर चुनावी मैदानमा उत्रिन खोजेको भाजपाको यो रणनीतिले ‘भारत हिन्दुको र भारत हिन्दुराष्ट्र’ भन्ने संकीर्ण विचारधारालाई प्रश्रय दिने निश्चित छ ।

  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार १४:२९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया