logo-img

प्राणप्रतिष्ठापछि मोदीले भने- अब नव इतिहासको सुरुवात भयो

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको गर्भगृहमा पूजा गर्दै विधिवत् रूपमा प्राण प्रतिष्ठा गरेका हुन् । प्रतिष्ठापछि आरती गरिएको छ ।

गर्भगृहमा मोदीसँगै आरएसएस प्रमुख मोहन भागवत, मुख्यमन्त्री योगी आदित्यनाथ, आनन्दीबेन पटेललगायतले साथ दिएका थिए । स्थानीय समयअनुसार १२:२९:०८ बजे शुभ मुहूर्त भएको हो । ८४ सेकेन्डको उक्त मुहूर्त १२:३०:३२ बजेसम्म चलेको थियो । 

पूजाको नियमअनुसार मोदीले यम नियमको पालना गरी प्राण प्रतिष्ठा पूजा गरेका हुन् । उनले ११ दिनदेखि नरिवलको पानी मात्र पिएर भुईँमा सुतेर अनुष्ठान गरेका थिए । प्राण प्रतिष्ठाका क्रममा मोदीले भगवान रामका कारण आज(सोमबार)को दिन एक अद्भुत आभा लिएर आएको बताए ।

मोदीले आजको दिन पात्रोमा छापिएको एक मिति मात्र नभएर नयाँ कालचक्रको उद्गम भएको बताए । उनले भने, ‘आजको दिन क्यालेण्डरमा राखिएको मिति मात्र होइन । यो एक नयाँ कालचक्रको उद्गम हो । राम मन्दिरको भूमि पूजा गरेदेखि देशमा उत्साह र उमङ्ग बढ्दै गएको छ । राम मन्दिर निर्माण कार्यदेखि देशबासीमा एक नयाँ विश्वास उत्पन्न भएको छ ।’

आम नागरिकले सदियौँदेखि पर्खिरहेको धरोहर प्राप्त भएको भन्दै प्रधानमन्त्री मोदीले मुलुकमा नव इतिहासको सुरुवात गरेको बताए । आज साँच्चिकै राम भगवान देखिएका बताउँदै उनले यस दिनलाई हजारौँ वर्षपछि चर्चामा रहने बताए ।

आठ हजार भन्दा बढीलाई विशेष अतिथिका रूपमा निमन्त्रणा गरिएको प्राण प्रतिष्ठामा करिब ५० देशका मानिसलाई विशेष अतिथिका रूपमा बोलाइएको थियो ।
कार्यक्रममा सहभागी हुन पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश-नीता अम्बानी, गौतम अदाणीलगायत पनि सहभागी भएका छन् । भारतीय कलाकारहरू पनि सहभागी भएका छन् ।



यसअघि गत माघ २ गते १६ जनवरीदेखि प्राण प्रतिष्ठाको प्रक्रिया सुरु भएको थियो । विभिन्न अनुष्ठान चलिरहेको थियो । भगवान् रामको नयाँ मूर्ति माघ ३ गते मन्दिर परिसरमा प्रवेश गराइएको थियो । गत वर्ष माघमा नेपालको काली गण्डकीबाट राम मन्दिरका लागि दुई ओटा देवशीला अयोध्या लगिएको थियो ।   



  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार १७:७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया