logo-img

स्याङ्जामा सुन्तला बेचेर एउटै वडाका किसानले भित्र्याए ११ करोड रुपैयाँ
फाइल तस्बिर

स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष ११ करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ । 

भिरकोट–७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यसवर्ष सुन्तला बिक्रीबाट ११ करोड रुपैयाँभन्दा बढी भित्रिएको बताए ।

करिब एक सय घरपरिवारले व्यावसायिकरूपमा सुन्तला उत्पादन गर्दै आइरहेका उनले जानकारी दिए । तिहारका बेलादेखि सुन्तला बजार पठाउन सुरु गरेर माघको दोस्रो सातासम्म सबै बिक्री गरिसक्ने अध्यक्ष अर्यालले जानकारी दिए ।

सुरुमा प्रतिकेजी ४० रुपैयाँमा बिक्री गरेको सुन्तला अन्तिममा आइपुग्दा प्रतिकेजी ७० रुपैयाँका दरले बिक्री भएको जनाइएको छ । स्थानीय व्यापारी तथा काठमाडौंबाट आएका व्यापारीले बगैँचा नै ठेक्का लिएर बिक्री गर्ने गरेका छन् ।

कतिपय किसानले चिनजान र फोन सम्पर्कका आधारमा गाडीबाट व्यापारीकहाँ पठाइदिने गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन र भिरकोट नगरपालिकाको ७५ प्रतिशत अनुदानमा बिरुवा, सिँचाइ ट्याङ्की, पाइप वितरण गरिएको अध्यक्ष अर्यालले बताए ।

नयाँ बिरुवा हुर्कँदै गरेकाले आगामी वर्ष थप ५/६ करोड बढी सुन्तला बिक्रीबाट आम्दानी भित्रिने दाबी उनको छ । कोदोखेती गर्दै आएका बारीमा अहिले सुन्तलाका बोट देख्न सकिन्छ ।



सुन्तलाखेतीबाट आम्दानी लिन सकिने भएपछि यहाँका स्थानीय सुन्तलाखेतीतर्फ आकर्षित हुँदै गएका छन् । गत वर्ष स्याङ्जामा सुन्तला बिक्रीबाट १ अर्ब २५ करोड रुपैयाँ भित्रिएको थियो भने यस वर्ष उत्पादन कम भएसँगै आम्दानी पनि केही घट्ने अनुमान कृषि ज्ञान केन्द्र स्याङ्जाले गरेको छ । रासस 



  • प्रकाशित मिति : माघ ९, २०८० मंगलबार ८:६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया