logo-img

वायुसेवा निगमको व्यवस्थापन करारमा दिने सरकारको तयारी

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापन करारमा दिने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमको पुनःसंरचनाका निम्ति करार व्यवस्थापनमा जाने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 
     
प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री किरातीले उक्त कुरा बताएका हुन् । ‘निगमको पुनःसंरचनाका निम्ति अब करार व्यवस्थापनमा जानैपर्ने देखिएकाले हामी यो प्रणालीमा जाने तयारीमा छौँ,’ उनले भने, ‘करार व्यवस्थापनका निम्ति मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको छ । छिट्टै यस विषयमा निर्णय हुनेछ ।’

मन्त्री किरातीले आवश्यक अध्ययन र सरोकारवालाको सुझाबका आधारमा वायुसेवा निगमलाई करार व्यवस्थापन प्रणालीमा लगेर निगमको सुधार गर्नुपर्ने अपरिहार्यता भएको जिकिर गरे । उनले विभिन्न देशमा व्यवस्थापन करार प्रणाली प्रभावकारी देखिएकाले नेपालले पनि यो अभ्यास अवलम्बन गर्दा उपयुक्त हुने धारणा राखे । 
     
पर्यटनमन्त्री किरातीले वायुसेवा निगम अहिलेकै अवस्थामा सञ्चालन हुन नसक्ने निष्कर्षमा मन्त्रालय पुगेको भन्दै निगमलाई नयाँ ढंगले संरचनागत सुधार गरेर लैजाने योजना बनाइएको जानकारी दिए । 
 
सांसद प्रकाशमान सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार गरिनुपर्ने धारणा राख्दै आवश्यक अध्ययन गरेर मात्रै विमानस्थल निर्माण गरिनुपर्ने बताए । 

सांसद उदयशमशेर जबराले निगममा भएका जहाजको प्रभावकारी सञ्चालन गर्नुका साथै नयाँ जहाज थपेर अन्तर्राष्ट्रिय बजारमा दरिलो उपस्थिति जनाउन जरुरी भएको उल्लेख गरे । 
    
सांसद डा. धवलशमशेर जबराले करार व्यवस्थापनमा लगेर वायुसेवा निगम सुधार्ने योजना उपयुक्त भए पनि यसको औचित्य र सान्दर्भिकतालाई ध्यान दिएर अघि बढ्नुपर्नेमा जोड दिए । 

सांसद सुनिता बरालले वायुसेवा निगमको विद्यमान स्रोत साधनको भरपुर उपयोग गर्दै हालको अवस्थालाई सुधारेर सेवालाई प्रभावकारी बनाउन जरुरी रहेको बताए । 
     
सांसद शिशिर खनालले निगमको जहाज बारम्बार ग्राउण्डेड हुनेगरेको समाचार सञ्चारमाध्यममा आइरहेको भन्दै प्राविधिक मर्मत गर्दै उडान सेवालाई प्रभावकारी बनाउन आग्रह गरे । 

सांसद प्रेम सुवालले निगमको व्यवस्थापन करार दिन नहुने धारणा राख्दै विद्यमान अवस्थालाई सुधार गर्न सबै जिम्मेवार बन्नुपर्ने बताए । 
     
सांसद दामोदर पौडेल बैरागीले निगमलाई प्रतिस्पर्धी बजारमा खरो रुपमा उर्तानुपर्नेमा जोड दिए । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले जहाज थपेर अन्तर्राष्ट्रिय उडानका गन्तव्य विस्तार गर्नेतर्फ लागिरहेको जानकारी दिए । 
 
तीन जहाज खरिद गरिने 
     
पर्यटनमन्त्री किरातीका अनुसार निगमले आन्तरिकतर्फका दुर्गम क्षेत्रका विमानस्थलमा उडानका लागि तीन थान ट्विनअटर जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।

आन्तरिक उडानका लागि तीन थान एटीआर–७२ र अन्तर्राष्ट्रिय उडानका तीन थान न्यारोबडी जहाज लिज प्रक्रियाबाट ल्याउने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । निगमसँग हाल आन्तरिक उडानका लागि दुई थान न्यारोबडी ए ३२० र दुई थान वाइडबडी ए ३३० जहाज छन् ।



निगम र विमानस्थल सुधारको प्रतिवेदन पेस गर्न निर्देशन
     
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले वायुसेवा निगम र विमानस्थल सुधारबारे हालसम्म भएका अध्ययन र प्रयाससहितको प्रतिवेदन समितिसमक्ष पेश गर्न निर्देशन दिएको छ ।
     
समितिका सभापति राजकिशोर यादवले निगम तथा विमानस्थलको सुधारलगायत समग्र विषयमा के कस्ता अध्ययन÷अनुसन्धान भएका छन् तिनको प्रतिवेदन समितिमा पेस गर्न पर्यटन मन्त्रालय र वायुसेवा निगमलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए । 

बैठकमा नेपाल वायुसेवा निगमको जहाजमा देखा परेका समस्या तथा प्राविधिक विषयका सम्बन्धमा पर्यटनमन्त्री, सचिव र निगमका कार्यकारी अध्यक्षसँग छलफल भएको छ ।



निजगढ विमानस्थल निर्माणमा जोड
     
पूर्वप्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपालले बाराको निजगढमा प्रस्तावित निजगढ विमानस्थल निर्माणमा विलम्ब भइरहेको भन्दै चाँडो निर्माण प्रक्रिया अगाडि बढाउन सरोकारवालाको ध्यानाकर्षण गराए । 

उनले भैरहवा र पोखरा विमानस्थलको प्रभावकारिता नदेखिएको भन्दै निजगढ विमानस्थल उपयुक्त भएकाले यसको निर्माण गर्नुको विकल्प नरहेको उल्लेख गरे । 

नेपालले भने, ‘धेरै पहिलादेखि निजगढ विमानस्थलको कुरा उठिरहेको थियो । देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउन निजगढ विमानस्थल बनाउनुको विकल्प नै छैन ।’ 

उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले धेरैपटक छलफल र स्थलगत अध्ययन गरेर निजगढमा विमानस्थल निर्माण गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको स्मरण गराए । 

  • प्रकाशित मिति : माघ ९, २०८० मंगलबार २१:४२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया