logo-img

इण्डियन आइडलमा मेनुकाको उत्कृष्ट गायन, पुगिन् शीर्ष १० मा

जित हासिल गर्नुभन्दा पनि अझै महत्वपूर्ण कुरा हो– हिम्मत नहार्नु । हार्दै नहार्नु । यस्तै उदाहरण हुन्, अहिले भारतमा रहेकी नेपाली चेली मेनुका पौडेल । 

नेपाल आइडल हुँदै ‘सारे गा मा पा मा’ धिपधिप बलेकी मेनुका आज इण्डियन आइडलमा धपधपी बलेकी छन् । भारतमै पनि उनको प्रशंसा भइरहेको छ । निर्णायक देखि दिग्गज कलाकार सबैबाट निरन्तर उनले वाहवाही र स्टयाण्डिङ ओभेसन पाउँदै आएकी छन् । 

आइतबार प्रसारित भएको कार्यक्रमबाट मेनुकाको हातमा खुसी नै खुसीको ओइरो लागेको छ । भारतीय गायन रियालिटी शो इण्डियन आइडलमा उनी उत्कृष्ट १० मा परेको घोषणा आइतबार साँझ प्रसारित कार्यक्रममा भएको हो ।

मेनुकाले आशा भोसलेको ‘कजरा मोहब्बत वाला’ र ‘पान खाए सैयाँ हमारो’ बोलका दुई वटा गीत गाएकी थिइन् । प्रायः लता मङ्गेशकरको गीत छान्ने मेनुकाले यो एपिसोडका लागि भने लताकी बैनी आशा भोसलेको गीत छानेर ’सप्राइज’ दिएकी थिइन् । 

पहिला दुई वटा एपिसोडमा लडखडाएकी मेनुकाले गीतका अन्तरा बिर्सेकी थिइन् । तर, आज उनले यो जोखिम मोलिन् । आफ्नो कम्फर्ट जोनबाट निस्केर यस्तो गीत चुनिन्, जुन उनको शैलीको गीत होइन ।

अर्को खुसीको खबर के छ भने, जन्मजात दृष्टिविहीन मेनुकाको आँखाको उपचार गर्न लगिएको विषय पनि आइतबारको कार्यक्रममा प्रस्तोता हुसेनले उल्लेख गरेका थिए । तर, उनको आँखाको अवस्था हेरेका डाक्टरले मेनुकाको आँखाको अप्टिक नर्भले काम नगरेको र त्यही कारण उनले देख्न सक्ने सम्भावना नरहेको बताएका छन् । तर, यस्तो खालको उपकरण रहेको जसले गर्दा मेनुकाले उनी एक्लै हिँड्न, अनुहार पहिचान गर्न, आफ्नो अगाडि को उभिएको छ भनेर थाहा पाउन र पढ्न पनि एकदमै सजिलोसँग सक्छिन भनेर कार्यक्रममा प्रसारित भिडिओमा ती डाक्टरले भनेका थिए ।



डाक्टरले यसो भने लगत्तै निर्णायक र कार्यक्रममा सहभागीले खुसी व्यक्त गरेका थिए । आजको दिनमा मेनुकाको गायनले उनलाई जसरी नेपाल र भारतमा चिनाएको छ, त्यसैगरी भोलिका दिनमा उनको गायनले नेपाललाई अरू भूगोलमा पनि चिनाउने आशा र विश्वास सम्पूर्ण नेपालीले राखेका छन् । 



  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार १४:४१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया