logo-img

फिल्म खेल्दै केपी ओली, कस्तो भूमिकामा देखिएलान् ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फिल्म खेल्ने भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अभिनेता रमित ढुंगानाको डेब्यू निर्देशित फिल्म ‘नमेटिने घाउ’मा अभिनय गर्न लागेका हुन्। 

एसिड आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटेर निर्माण हुन लागेको चलचित्रमा ओली प्रधानमन्त्रीको भूमिकामा देखिने भएका हुन् । निर्माता ढुंगानालगायतको टोलीले निर्माण गर्न लागेको ‘नमेटिने घाउ’ को शुभमुहूर्त पनि ओलीले नै गरेका हुन् ।

ओलीले देशको न्याय प्रणाली प्रभावकारी नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा एसिड(तेजाब) आक्रमण पीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ चलचित्र घोषणा कार्यक्रममा बोल्दै उनले नेपालको न्याय प्रणाली दोषी भए पनि उसको राजनीतिक संलग्नता हेरेर फैसला हुने गरेको भन्दै न्याय प्रणाली प्रभावकारी नभएको बताएका हुन् । 

उनले भने, ‘नेपालको न्याय प्रणाली दोषी हुनुमा राजनीतिक संलग्नता हो । मानव विरुद्धको जघन्य अपराधमा सोझै सत्ता दुरुपयोग गरेर माफी दिने काम भइरहेको छ । त्यसैले यति बेला उठिरहेको प्रश्न भनेको हाम्रो न्याय प्रणालीमाथि हो ।’

अध्यक्ष ओलीले एसिड पीडितहरूका बारेमा प्रधानमन्त्रीसँग भेटेर एउटा एजेण्डाको रुपमा नै छलफल गर्ने प्रतिबद्धता जनाए । उनले प्रावधान बनाएर मात्र एसिड विक्री वितरण गर्नुपर्नेमा जोड दिए । 



उनले भने,‘एसिडपीडितहरूको बारमा प्रधानमन्त्रीसँग भेटेर कुरा गर्नेछु । एउटा एजेण्डाको रुपमा नै छलफल गर्नेछु । एसिडको उपलब्धता नै हुनुहुँदैन भन्ने होइन तर कसले के प्रयोजनको लागि किन्ने र कति मात्रा प्रयोग गर्ने र बाँकी रहेको फिर्ता गर्नेसहित प्रावधान बनाएर विक्री गर्न आवश्यक छ । यो प्रतिनिधिसभाको छलफलको विषय बन्छ ।’ 

एउटा निर्दोषलाई चाहिँ फसाइदिने र दोषीलाई चाहिँ उमक्याइदिने काम भइरहेको बताए । त्यसैले न्याय प्रणालीमा सुधार गर्न आवश्यक रहेको उनको भनाई छ । 



  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार १५:५४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया