यू–१९ विश्वकप : बंगलादेशविरुद्ध २२ वर्षअघिको इतिहास दोहोर्याउने दाउमा नेपाल
फाइल तस्बिर

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्समा नेपालले आज बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ देखि ब्लोमफन्टेनमा सुरु हुनेछ । 

जारी विश्वकपमा नेपालको सेमिफाइनल सम्भावना सकिएको छ । बंगलादेशको भने झिनो आशा कायमै छ । उसले अब दुवै खेलमा जित निकालेर अन्य टिमको नतिजामा पनि भर पर्नुपर्ने छ । 

बंगलादेशले समूह चरणबाट दुई अंक जोडेर सुपर सिक्सको यात्रा गरेको थियो । समूह वानबाट भारतले सेमिफाइनलको यात्रा गर्ने लगभग पक्का भएको छ । पाकिस्तान पनि सेमिफाइनल पुग्ने सम्भावना बलियो छ । 

हालसम्म यू–१९ विश्वकपमा नेपाल र बंगलादेशले एकअर्काविरुद्ध दुई खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा दुवै टिमले एक/एक खेल जितेको विगत छ । नेपाल र बंगलादेशले पहिलोपटक सन् २००२ को विश्वकपमा एकअर्काको सामना गरेका थिए । सो विश्वकप प्लेट सेमिफाइनलमा नेपालले बंगलादेशलाई २३ रनले स्तब्ध बनायो । 

न्यूजिल्याण्डमा भएको उक्त विश्वकप खेलमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनायो । १ सय ८१ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको बंगलादेश ४७.३ ओभरमा १ सय ५७ रनमै अलआउट भयो । त्यसपछि यू–१९ विश्वकपमा नेपाल र बंगलादेशबीच दोस्रो भेट सन् २०१६ मा भयो । 

उक्त विश्वकपमा भने आयोजक बंगलादेशविरुद्ध नेपाल ६ विकेटले पराजित भयो । पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ११ रन बनायो । २ सय १२ रनको लक्ष्य बंगलादेशले ४८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपाल यसपटक ८ वर्षअघिको हारको बदला लिने दाउमा छ ।





  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार ११:०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया