बंगलादेशविरुद्ध नेपाललाई पहिलो झड्का, सस्तैमा आउट भए विपिन रावल

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालले पहिलो विकेट सस्तैमा गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा विपिन रावललाई गुमाएको हो । 

१२ बलको सामना गरेका विपिनले आज २ रन मात्र जोड्न सके । उनी ३.५ ओभरमा मारुफ मृधाको बलमा क्याच आउट भए । नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो । 

नेपालले बंगलादेशविरुद्ध प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज दीपकप्रसाद डुम्रे र तिलक भण्डारीलाई विश्राम दिएर अलराउन्डर विशालविक्रम केसी र तीव्र गतिका बलर दुर्गेश गुप्तालाई प्लेइङ–११ मा मौका दिएको हो ।

विशाल जारी विश्वकपमा पहिलो खेल खेलिरहेका हुन् । जारी विश्वकपमा नेपालको सेमिफाइनल सम्भावना सकिएको छ । बंगलादेशको भने झिनो आशा कायमै छ । उसले अब दुवै खेलमा जित निकालेर अन्य टिमको नतिजामा पनि भर पर्नुपर्ने छ । 

बंगलादेशले समूह चरणबाट दुई अंक जोडेर सुपर सिक्सको यात्रा गरेको थियो । समूह वानबाट भारतले सेमिफाइनलको यात्रा गर्ने लगभग पक्का भएको छ । पाकिस्तान पनि सेमिफाइनल पुग्ने सम्भावना बलियो छ । 

हालसम्म यू–१९ विश्वकपमा नेपाल र बंगलादेशले एकअर्काविरुद्ध दुई खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा दुवै टिमले एक/एक खेल जितेको विगत छ ।  



नेपालको प्लेइङ–११ : अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल (कप्तान), विशालविक्रम केसी, गुलशन झा, दिपक बोहरा, दीपेश कँडेल, सुवास भण्डारी, आकाश चन्द र दुर्गेश गुप्ता ।



  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार १४:१३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया