logo-img

‘संसदीय क्यालेन्डरलाई पछ्याए संसद् र समिति दुवै प्रभावकारी बन्छन्’

संसद्को हिउँदे अधिवेशन व्यवस्थित र प्रभावकारी बनाउन सातामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक बस्ने गरी संसद् सचिवालयले संसदीय क्यालेन्डर तयार गरेको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुक्रबार राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबीच भएको छलफलका क्रममा सचिवालयले बनाएको सो कार्य तालिका (क्यालेन्डर)सम्बन्धमा जानकारी गराए । 

सभामुखले प्रस्ताव गरेको संसद् र संसदीय समितिलाई प्रभावकारी बनाउने हेतु बनाइएको उक्त कार्य तालिकामा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकबीचमा सघन रूपमा छलफल भएको र त्यसमा आफूहरू सहमत भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । 

प्रस्तावमा संसद्को आगामी बैठक र संसदीय समितिको बैठकलाई कसरी प्रभावकारी बनाउने सँगसँगै सांसदहरूलाई जनतामाझ जाने समयलाई व्यवस्थापन गर्ने विषयमा सघन ढंगले छलफल गरेको र क्यालेन्डर उपयोगी हुने गिरीले बताए । गिरीले छलफलका क्रममा सभामुखलाई केही सुझाव दिएको र त्यसलाई समेटेर उक्त प्रस्तावलाई अन्तिम रूप दिने तयारी सचिवालयले गरेको जानकारी दिए । 

छलफलमा ६ दिने आलोपालो बैठक बस्ने गरी सचिवालयले बनाएको क्यालेन्डर राम्रो भएको प्रतिक्रिया कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले दिए । क्यालेन्डर अनुसार काम हुने हो भने संसद् प्रभावकारी बन्ने दाबी लेखकले गरे । 

‘वास्तवमा क्यालेन्डर आवश्यक नै हो । अहिले प्रतिनिधि सभाको नियमावलीमा नराखी यसको अभ्यास प्रारम्भ गरौँ भन्ने कुरा छ, हामी सहमत भयौँ । सचिवालयले बनाएको क्यालेन्डर अत्यन्त राम्रो छ। क्यालेन्डर अनुसार हामी हिँड्न सक्यौँ भने संसद् निकै प्रभावकारी हुन्छ । यसले कानुन पारित गर्ने कुरामा पनि सहजता हुन्छ,’ लेखकले भने । 



क्यालेन्डर पहिलो चरणमा माघ २२ गतेदेखि १५ दिनसम्मका लागि सो तालिका कार्यान्वयन हुने गरी आफूहरूले समर्थन गरेको भनाई उनको छ । सो क्यालेन्डर कार्यान्वयन भए सांसदहरूलाई तीन दिनसम्म कार्यव्यस्थता नहुने तथा संसदमा बोल्ने विषयमा पूर्व तयारी गर्न पर्याप्त समय मिल्ने हुँदा संसद्को प्रभावकारिता र सांसदका लागि समेत सहज हुने धारणा लेखकको छ ।  

‘मान्य सदस्यहरूलाई कुन दिन बैठक बस्छ,त्यो दिन के बारेमा छलफल हुन्छ भनेर पूर्व तयारी गर्नका लागि पनि राम्रो हुन्छ । जुन दिन बैठक बस्दैन त्यो दिन उहाँहरूले अरू काम गर्ने कुरामा पनि सहजता हुने भएको हुनाले क्यालेन्डर संसद्को प्रभावकारिताको लागि पनि राम्रो छ र मान्य सदस्यहरूको आफ्नो समयको व्यवस्थापनको लागि पनि यो उचित छ ।’



बैठकमा सहभागी राप्रपाका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले संसदीय क्यालेन्डर बनेपछि संसद् बैठक बस्छ भन्ने पहिल्यै जानकारी हुने भएकाले सांसदलाई गृह जिल्ला जान समेत समय व्यवस्थापन गर्न सहज हुने बताए । उनले २२ गते भन्दा अगाडि नै क्यालेन्डरको बनिसक्ने बताए । 

  • प्रकाशित मिति : माघ २०, २०८० शनिबार १३:३३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया