logo-img

महिलाहरूले क्यान्सरको उपचार गर्न ढिलाइ गर्दा भयावह बन्दै स्थिति
सांकेतिक तस्बिर

चिकित्सकहरूले महिलाहरूले प्रजनन अङ्गहरूको उपचारमा ढिलाइ गर्दा क्यान्सरको जोखिम बढेको बताएका छन् । नेपालमा स्तन र पाठेघरको क्यान्सरले महिलाहरूलाई नराम्रोसँग दुःख दिइरहेको उनीहरूको भनाई छ । 

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा बिपी क्यान्सर अस्पतालका पूर्व निर्देशक डा. प्रकाशराज न्यौपानेले अहिले प्रत्येक जसो पालिकाको वडा कार्यालयमा दैनिक एक जना जसो क्यान्सर बिरामी सिफारिसका लागि जाने गरेको बताए ।

आफू बस्ने मध्यपुर-३ मा गत वर्ष २० जना मात्रै सिफारिस लिन पुगेको तथ्याङ्क रहेकोमा यो वर्ष दुई सय पुगिसकेको जानकारी उनले दिए । नेपाल एनसिडी एलायन्सले काठमाडौं महानगरभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्तन क्यान्सर सम्बन्धी स्क्रिनिङ्ग प्रशिक्षणमा उनले नेपालमा स्तन क्यान्सर र पाठेघरको क्यान्सरले महिलाहरूलाई नराम्रोसँग दुःख दिइरहेको बताए ।

महिला प्रजनन अंग भएकाले अरूलाई भन्न पनि लजाउने र चिकित्सकमा जान पनि अप्ठ्यारो मान्ने गरेका कारण महिलाहरूको क्यान्सर रोगको उपचार गर्न ढिलाइ हुने गरेको उनले स्पष्ट पारे। 
सहरी भेगका महिलाहरूमा समेत स्तन र पाठेघरको क्यान्सरको बारेमा चर्चा गर्न लजाउने प्रवृत्ति भएको हुनाले महिला स्वयंसेविकामार्फत महिलाहरूसम्म सन्देश पुर्‍याउनका लागि कार्यक्रमको आयोजना गरेको आयोजक समितिका अध्यक्ष शान्तलाल मुल्मीले बताए । 

महिलालाई हुने क्यान्सरको स्थिति भयावह भएको पाइएपछि महिला स्वयंसेविकामार्फत यसबारे जनचेतना जागृत गर्ने र आफैले स्तन क्यान्सर परीक्षण गर्ने क्षमता प्रदान गर्नका लागि कार्यक्रमको आयोजना गरेको उनको भनाइ छ । 

हेल्थ राइट्स एन्ड टोबाको कन्ट्रोल नेटवर्क नेपाल, पहल फाउन्डेसन, नेपाल मधुमेह समाजको सहआयोजनामा भएको प्रशिक्षण कार्यक्रममा डा. न्यौपानले सुर्ती सेवन र मदिराका कारणका साथै खानपान एवं रहनसहनले गर्दा क्यान्सर रोगीहरूको सङ्ख्या बढिरहेको बताए । 



वरिष्ठ प्रशिक्षक किशोर प्रधानाङ्गले जंक फुड खाने अनि शारीरिक अभ्यास नगर्ने त्यसमाथि क्यान्सर रोगको बारेमा अरूले थाहा पाउला भनेर छलफल नहुने गरेको बताए । क्यान्सरको जोखिम कम पार्नका लागि शङ्का लाग्ने बित्तिकै चिकित्सकसँग परामर्श गर्नुपर्ने सन्देश स्वास्थ्य स्वयंसेविकाले घरघरमा पुर्‍याउनुपर्ने आवश्यकता रहेको उनले बताए । 



वरिष्ठ परिचारिका सीता अधिकारीले स्तनमा गाँठागुठीहरु देखिए वा दुखेमा तुरुन्तै स्वास्थ्य संस्थामा जान र आफैले समय समयमा स्तनको स्वपरीक्षण गर्न आग्रह गरिन् । उनले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्तन क्यान्सरको स्वपरीक्षणका विषयमा प्रयोगात्मक अभ्यास गराएका थिए । 

हेल्थ राइट्स एन्ड टोबाको कन्ट्रोल नेटवर्क नेपालका पूर्ण दुवालले स्वास्थ्य अधिकारको हनन् कतै भएमा र सुर्ती नियन्त्रण सम्बन्धी कानुनको पालना नभएमा उजुरी दिन आग्रह गरे । 

  • प्रकाशित मिति : माघ २१, २०८० आइतबार १७:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया