logo-img

गण्डकी प्रदेशसभामा बिउविजन विधेयक सर्वसम्मतरूपमा पारित

गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतरूपमा पारित भएको छ । 

गत १५ भदौमा प्रदेशसभामा प्रस्तुत भएको सो विधेयकमाथि दफाबार छलफल गरेपछि परिमार्जनसहित पारित गरिएको समितिका सभापति फणीन्द्र देवकोटाले जानकारी दिए ।

‘किसान, बिउविजन व्यापारी, कृषि क्षेत्रका विज्ञदेखि सरोकार भएका सबै पक्षलाई समितिको बैठकमा बोलाएर विधेयकमाथि सघन हिसाबले छलफल गर्‍यौँ’, उनले भने, ‘विज्ञलगायतबाट प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जनसहित विधेयक समितिबाट पारित भएको छ ।’

सभापति देवकोटाले अबको हिउँदे अधिवेशनमा उक्त विधेयक प्रदेशसभामा पेस हुने बताए । प्रदेशसभामा दफाबार छलफलपछि उक्त विधेयक पारित हुने र ऐनको रूपमा कार्यान्वयनमा आउने उनको भनाइ छ । 

समितिमा भएको विधेयकमाथिको छलफलका क्रममा बाली विज्ञ, बिउ उत्पादक किसान, व्यवसायीलगायतलाई सहभागी गराइएको सभापति देवकोटाले बताए । ‘विधेयकलाई कार्यान्वयमुखी बनाउनुपर्छ भन्नेमा सबैको जोड रह्यो, विधेयकले बिउविजनसँग सम्बन्धित समग्र विषयलाई सम्बोधन गरेको छ’, उनले भने । 

प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयको योजना तथा अनुगमन महाशाखाका वरिष्ठ कृषि अर्थविज्ञ भानुभक्त भट्टराईले उक्त विधेयकमा गरिएका व्यवस्थाले गण्डकी प्रदेशभित्रका बीउबिजन उत्पादन गर्ने किसान र व्यापारीलाई सहजता थपिने बताए । ‘बिउविजनको प्रमाणीकरणका लागि सङ्घ सरकारसँग भर पर्नुपर्ने अवस्था थियो, अब प्रदेशमै बीउबिजन गुण नियन्त्रण केन्द्र’, उनले भने । 



प्राकृतिक विपद्, रोककीरा आदि कारणले किसानले उत्पादन गरेको बिउविजन नष्ट भएमा किसानलाई क्षतिपूर्ति दिने व्यवस्था विधेयमा रहेको उनले बताए । ‘यदि बिक्रेताले गुणस्तरहीन या गलत बिउविजन दिएका कारण किसानले कुनै आर्थिक क्षति व्यहोर्नुपरेमा सम्बन्धित व्यापारीले किसानलाई क्षतिपूर्ति दिनेपर्ने प्रावधान विधेयकमा छ’, वरिष्ठ कृषि अर्थविज्ञ भट्टराईले भने । 

किसानलाई उन्नत, सुलभ र गुणस्तरयुक्त बिउविजन उपलब्ध गराउने र प्रदेशलाई बिउविजनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ विधेयकमा नीतिगत व्यवस्था गरिएको उनको भनाइ छ । विधेयक निर्माण गर्दा रैथाने बालीको पनि संरक्षण र प्रवर्द्धनमा जोड दिइएको वरिष्ठ कृषि अर्थविज्ञ भट्टराईले बताए । बिउविजनको उत्पादन, उपलब्धता र आपूर्तिको सुनिश्चिताका लागि विधेयकमा कानुनी प्रबन्ध गरिएको उनको भनाइ छ ।



गुणस्तरीय बीउबिजनको उपलब्धतामार्फत बालीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै किसानको सुविधा तथा आर्थिक हितलाई ध्यानमा राखेर विधेयक ल्याइएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । विधेयकमा बिउविजनसम्बन्धी नीति निर्माण र कार्यान्वयन गर्न, सो सम्बन्धमा प्रदेश सरकारलाई आवश्यक परामर्श दिन र संघीय ऐनले तोकेका कार्य गर्न प्रदेश बिउविजन समिति गठन हुने उल्लेख छ ।  

विधेयकले कुनै व्यक्ति या संस्थाले बिउविजनको कारोबार गर्न चाहेमा, मूल वा स्रोत बिउ, वर्णशंकर बिउलगायत उत्पादन गर्न चाहेमा अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।  

मन्त्रालयले जीवनाशक विषादीसम्बन्धी विधेयकको पनि मस्यौदा तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको वरिष्ठ कृषि अर्थविज्ञ भट्टराईले बताए । रासस 

  • प्रकाशित मिति : माघ २२, २०८० साेमबार ९:१७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया