logo-img

सिटाैलाका जिल्लाका कांग्रेस कार्यकर्ताले कोइरालासामु भने- अब माओवादी बोकेर हिँड्न सकिँदैन

‘समुदायमा कांग्रेस’ अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासामु विभिन्न तहका कार्यकर्ताले गुनासो र आक्रोश पोखेका छन् ।

सोमबार बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांशले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी विचार शून्य भएको भन्दै अब माओवादी बोकेर हिँड्न नसक्ने चेतावनी दिए ।

‘हाम्रै साथी मार्नेसँग कसरीसँगै हिँड्ने ? कांग्रेसका साथीहरू काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउने ?’,एक सहभागीले आक्रोशित मुद्रामा प्रश्न गरिन् ।

सहभागीले एकै व्यक्ति धेरै समय नेतृत्वमा रहँदा पार्टीका गतिविधि चुस्त नभएको, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले पार्टीको घोषणापत्रअनुसार काम नगरेको जस्ता गुनासा राखेका थिए । भ्रष्टाचारी, माफियासँग टाढै बस्नसमेत उनीहरूले नेताहरुलाई सुझाब दिए ।

सबैको कुरा सुनेर जवाफ दिने क्रममा नेता कोइरालाले गठबन्धनका बारेमा उठेका सवालमा पार्टीभित्र छलफल हुने र अबका कुनै पनि निर्वाचनमा कसैसँग गठबन्धन नहुने ठोकुवा गरे । डा.कोइराला उक्त अभियानका क्रममा कोशी प्रदेशका जिल्लाहरूको भ्रमणमा छन् । 

झापा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गृहजिल्ला हो । संसदीय निर्वाचनमा सोही जिल्लाबाट शर्मा विजयी बनेका थिए भने पराजित भएका सिटौला पुनः राष्ट्रिय सभा निर्वाचनमा विजयी भएका छन् । 



कोशी प्रदेशमा गठबन्धनबाट कांग्रेसका सिटौला विजयी हुँदा माओवादीकी उम्मेदवार चम्पा कार्की भने पराजित भएकी थिइन् । सो परिणामबाट माओवादी कांग्रेससँग चिढिएको छ । कांग्रेसको शेखरपक्षको असहयोगकै कारण आफ्नो उम्मेदवार हारेको माओवादीकै बुझाइ छ । 


 



  • प्रकाशित मिति : माघ २२, २०८० साेमबार १९:६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया