logo-img

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ २३ फागुनमा, के छ हालसम्मको प्रगति ?
फाइल तस्बिर

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी २३ फागुनमा गरिने भएको छ । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा सुरुङमार्गको हालसम्मको प्रगतिबारे छलफलमा नागढुंगा सुरुङमार्ग आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले यस्तो जानकारी दिएका हुन् । 

उनले मुख्य सुरुङ २.६८८ किमीमध्ये ३२ मिटर मात्र खन्न बाँकी रहेको बताए । डुमरुले सुरुङ निर्माण गर्दादेखि धादिङ र काठमाडौंतर्फ केही मुआब्जालगायतका समस्या केही समस्या अझै बाँकी रहेको बताए । उनले अहिलेसम्म २ हजार ६ सय ३६ मिटर सुरुङ खन्ने काम सकिएको बताए । 

डुमरुलेले समग्र आयोजनाको भौतिक प्रगति ६८.५ प्रतिशत र तीनवटा अण्डरपास, चार वटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल निर्माण भएको बताए । उनले एउटा फ्लाइ ओभर निर्माणको क्रममा रहेको बताए । डुमरुले अहिलेसम्म ७१ दशमलव ८७ प्रतिशत भौतिक काम सम्पन्न भएको र ३२ मिटर अझै सुरुङ खन्ने काम बाँकी रहेको जानकारी दिए ।  

समिति बैठकमा सांसदले सुरुङमार्ग निर्माण गर्दा जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने समस्या, पानीको मुहान सुक्ने लगायतका समस्यालाई समाधान गरी निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने धारणा राखे । राष्ट्रिय सभा सदस्य रमेशजङ्ग रायमाझीले समितिलाई आयोजनाले झुटो बोलेको बताए । उनले समितिलाई आयोजनाले ठगिरहेको भन्दै वर्तमान प्रविधिको युगमा समेत समितिलाई यकिन अवस्थाको विषयमा जानकारी दिन नसक्नु राम्रो नभएको बताए ।  

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुरुङमार्ग निर्माण गर्दा देखिएका जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने समस्या, पानीको मुहान सुक्ने लगायतका समस्यालाई समाधान गरी निर्माण कार्य रोक्न नहुने बताए । उनले सुरुङ निर्माणको काम समयमा नै सम्पन्न गर्न आवश्यक रहेको बताए ।

नागढुङ्गा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेल (उद्धार सुरुङ) को ‘ब्रेक थ्रु’ यसअघि नै भइरहेको छ । सुरुङको शिलान्यास ४ कात्तिक २०७६ मा भएको थियो । नागढुङ्गा–नौबिसे सुरुङ मार्गको २.६ किमी लम्बाइ रहेको छ ।  





  • प्रकाशित मिति : माघ २३, २०८० मंगलबार १४:१४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया