logo-img

क्यानडासँग राम्रो क्रिकेट खेल्छौँ : रोहित पौडेल

नेपालले क्यानडासँग बिहीबारदेखि सुरु हुने एकदिवसीय क्रिकेट श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । आइसिसी विश्वकप लिग–२ को तयारीस्वरूप खेल्न लागेको श्रृंखलामा नेपालले उत्कृष्ट क्रिकेट खेल्ने लक्ष्य राखेको हो ।

नेपालले क्यानडासँग तीन खेलको श्रृंखला खेल्दैछ । श्रृंखलाको पहिलो खेल आज हुँदैछ । क्यानडासँग खेल्नुअघि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले योजनाअनुरूप काम भइरहेकाले सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

उनले प्रधानमन्त्री कप खेलेका सबै खेलाडीसँग आफू सम्पर्कमा नै रहेको र अहिलेसम्म सबै खेलाडी फिट रहेकाले राम्रो क्रिकेट खेल्ने बताए । नेपालले दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल आगामी सोमबार खेल्नेछ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले घरेलु प्रतिस्पर्धा प्रधानमन्त्री कप क्रिकेटबाट खेलेकाले टोली राम्रो रहेको बताए ।  

केही नयाँ खेलाडी पनि रहे पनि उनीहरू टिमसँग घुलमिल भइरहेको बताए । पुबुदु दसानायकेको प्रशिक्षणमा रहेको क्यानडा केही अनुभवी खेलाडीबिना नै नेपाल आएको छ । क्यानडाले पनि मार्चदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा आइसिसी क्रिकेट विश्वकप लिग–२ को सुरुवात गर्दैछ । 

क्यानडाका कप्तान सादबीन जाफरले विश्वकप लिग–२ को तयारीका लागि नेपाल नै राम्रो स्थान र टोली रहेको उल्लेख गर्दै यो श्रृंखलामा राम्रो क्रिकेट खेल्ने धारणा राखे । केही अनुभवी खेलाडी चोटका कारण टोलीसँग बाहिर रहेको उल्लेख गर्दै उनले अहिले टोलीमा ६ नयाँ खेलाडी समावेश भएको बताए ।



अहिले टोली निर्माण प्रक्रियामा रहेकाले यो टोलीबाट धेरै आशा पनि राखेको उनको भनाइ छ । क्यानडाका प्रशिक्षक दसानायकेले एक दशक अगाडि क्यानडा धेरै राम्रो टोली रहेको उल्लेख गर्दै पछिल्ला समय टोली राम्रो लयमा फर्किएको धारणा राखे ।   




  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार ७:५०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया