logo-img

अध्यागमन विभागले सुरु गर्‍यो ई-भिसा र अनलाइन भुक्तानी सेवा

अध्यागमन विभागबाट हुने सबै सेवा शुक्रबारदेखि ई–भिसा तथा अनलाइन भुक्तानीको प्रारम्भ भएको छ । शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा तथा नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने ई–भिसा तथा अनलाइन भुक्तानी सेवाको शुभारम्भ गरेका छन् ।  

अध्यागमन विभागले शुक्रबरादेखि अध्यागमन प्रशासनलाई पूर्णरूपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको छ । अध्यागमन विभाग र अन्तर्गत कार्यालयमा पूर्णरूपमा डिजिट र स्वचालित रुपमा सञ्चालनले कार्यालयमा सेवा लिने र दिने दुवैले घरमा बसेर नै सेवा लिनसक्ने भएका छन् । 

विभागले माघ महिनाबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षरको प्रयोग गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ । विभागले सुरु गरेको अनलाइन भुक्तानी सेवाको पहिलो सेवाग्राही ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरी बास्तोला हुनुभएको छ भने ई–भिसा एक विदेशी नागरिकलाई दिएर सुरुवात भएको छ । 

उक्त सेवा शुभारम्भ भएसँगै नयाँ भिसा प्राप्त गर्न,भिसाको म्याद थप गर्न,पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राही भौतिकरूपमा अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने, आवेदन दिन र भुक्तानी गर्न लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अब नाता र विवाहको आधारमा गैरपर्यटक भिसा लिनेबाहेक अन्य सेवाग्राही विभाग आउनुपर्ने छैन । 

सबै प्रक्रिया अनलाइनमार्फत हुने र अन्तिममा भिसा स्टिकर टाँस गर्न मात्रै विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालयबाट भिसा स्टिकर टाँस गर्न सकिने भएको छ । शुभारम्भ कार्यक्रममा गृहसचिव दिनेश भट्टराईले अध्यागमन लगायत अन्य गृहमन्त्रालय अन्तर्गत रहेका सेवालाई स्वचालित र अनलाइन सेवा दिने मिसनमा रहेको बताए । उनले गृह मन्त्रालयले मात्रै लागेरभन्दा पनि अन्य निकायको पनि समन्वय आवश्यक रहेको बताए ।  

अध्यागमन विभागबाट लिने सेवा शुल्क, भिसा शुल्क तथा जरिवाना सबै नेपाली बैंकका मोबाइल बैंकिङ एपको क्युआर तथा वालेट सेवा प्रदायक कनेक्ट आइपिएस, इसेवा र खल्तीको खाताबाट अनलाइनमार्फत भुक्तानी गर्नसक्ने व्यवस्था पनि लागू भएको छ ।  





  • प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार १६:१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया