logo-img

सरकारले जनअपेक्षा पूरा गर्न नसक्दा राजावादी र पुनरुत्थानवादी शक्ति बढे : झलनाथ

पूर्वप्रधानमन्त्री एवं नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनालले सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले जनअपेक्षा पूरा गर्न नसकिएकाले जनतामा असन्तोष, आक्रोस बढ्नुका साथै जनताले दिशाहीन महसुस गरेको उल्लेख गरे । नेता खनालले जनताका आधारभूत समस्या छुनेगरी सरकारले काम गर्नुपर्ने बताए । 

सरकारले सही ढंगले काम गर्न नसक्दा राजावादी र पुनरुत्थानवादी शक्ति बढेको नेता खनालले जिकिर गरे । अहिलेको बाटो यथास्थितिको भएकाले यसको परिवर्तन सम्भव भएकाले राजनीतिक पार्टीहरुले नयाँ ढंगले सिंहावलोकन गर्नुपर्ने उनले उल्लेख गरे । 

नेता खनालले भने, 'सत्तामा बसेका शक्तिले ठीक ढंगले काम गर्न नसकेकाले अन्य शक्ति देखिएका छन् । सत्तामा बस्नेले नीति र कार्यक्रममा परिवर्तन गर्नु आवश्यक छ ।' नेपालको कम्युनिष्ट आन्दोलनमा गलत वैचारिक र राजनीतिक कार्यदिशाका कारण विभाजन आउने गरेको उनको भनाइ थियो । उनले सही कार्यदिशा भएका खण्डमा कम्युनिष्ट आन्दोलन पुनःएकताबद्ध हुने उल्लेख गरे । 

'दश लाख पार्टी सदस्य भएको नेकपामा विभाजन भएको छ । विभाजनका कारण गलत वैचारिक राजनीतिक कार्यदिशा हो । सही वैचारिक राजनीतिक कार्यदिशा भयो भने कम्युनिष्ट आन्दोलन एकताबद्ध हुन्छ । कम्युनिष्ट, वामपन्थीको एकता इतिहासको आवश्यकता हो,' खनालले भने । समाजवाद प्राप्तिको नीति, कार्यक्रम र नेपाली विशेषताको समाजवादका बारेमा उनले प्रस्ट पार्नुपर्नेमा जोड दिए । 

नेकपा(एकीकृत समाजवादी)को आसन्न राष्ट्रिय महाधिवेशनपछि नेपाली कम्युनिष्ट र समाजवादी आन्दोलनमा नयाँ लहर सिर्जना हुने नेता खनालले दाबी गरे । 





  • प्रकाशित मिति : माघ २७, २०८० शनिबार १६:३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया