प्रहरीलाई गृहमन्त्रीको निर्देशन- दबाब र प्रभावमुक्त भएर काम गर्नू
फाइल तस्बिर

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दबाब र प्रभावमुक्त भएर कानुनबमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन् । 

सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा खटिइएका ३४ प्रहरी उपरीक्षकलाई आज विशेष निर्देशन दिँदै उनले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरेर सुरक्षा स्थितिको गहन विश्लेषण गर्दै कार्यक्षेत्रमा कटिबद्ध भएर खटिन अनुरोध गरे ।  

उपप्रधानमन्त्री श्रेष्ठले लागुऔषध नियन्त्रण र कारोबारीलाई कारबाही गर्न, त्यसविरुद्ध युवाबीच सचेतना कार्यक्रम सञ्चालन गर्न तथा सुधार केन्द्र बनाउनसमेत निर्देशन दिए । सरकारले सामाजिक न्यायको क्षेत्रमा अभूतपूर्व काम गरिरहेको उल्लेख गर्दै उनले मिटरब्याजीका नाममा कुनै बिचौलिया देखिए तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए । 

मन्त्रालयले पहुँच र विभिन्न स्वार्थका आधारमा नभइ क्षमता, कार्यदक्षता र अवसरको मापदण्ड बनाएर सरुवा गर्ने नीति अगाडि बढाइसकेको जनाउँदै उनले अब सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल नचल्ने र जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कारबाही गरिने बताए । प्रमुखको जिम्मेवारी पाउन दल एवं नेताको ढोका चहार्ने, विचौलियामार्फत घुसको अफर गर्ने र आफूले जिम्मेवारी नपाए जिम्मेवारी पाउने सहकर्मीको बदनाम गर्ने प्रवृत्ति त्याग्नसमेत उपप्रधानमन्त्री श्रेष्ठले प्रहरी अधिकारीलाई निर्देशन दिए । 

मन्त्रालयले यही फागुन १ गते २२ जिल्ला प्रहरी कार्यालय, सात प्रहरी गण, चार ट्राफिक प्रहरी कार्यालय र एक अन्य गरी ३४ प्रहरी उपरीक्षकको सरुवा गरेको थियो । सो अवसरमा गृह मन्त्रालयमा सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायत उच्च अधिकारीको उपस्थिति थियो । 

उपप्रधानमन्त्री श्रेष्ठले जिम्मेवारीमा जानुअघि प्रशासनिक तथा प्रहरी अधिकारी आवश्यक निर्देशन दिने प्रचलनको सुरुआत गरेका हुन् । उनले यसअघि नयाँ जिम्मेवारी तोकिएका प्रमुख जिल्ला अधिकारीलाई पनि उनले मन्त्रालयमा बोलाएर सरकारका प्राथमिकतालाई ध्यान दिएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए । 





  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार १२:२३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया