सार्वजनिक स्थानमा दुई हजार फोहर संकलन ‘बिन’ राख्दै कामपा

काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि छुट्टाछुट्टै गरी एक हजार नौ सय ५० सेट फोहर संकलन बिन राख्ने भएको छ ।  महानगरको वातावरण विभागका अनुसार एक सेटमा दुई बिन हुन्छन् । यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहर व्यवस्थापनका लागि हो । 

उत्पादन भएकै ठाउँमा फोहरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको हो वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सबै बिन विभागमा ल्याइसकिएको र वडाको माग तथा आवश्यकताअनुसार वितरण गर्ने तयारी छ ।   

स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै संकलन भयो भने व्यवस्थापनमा सहज हुने उनको भनाइ छ । कामपाका सबै स्थानमा एकैपटक काम गर्दा परिणाम प्राप्त गर्न कठिन हुने भएकाले नमुनाका रुपमा अहिले वडा नं २७ र त्यसपछि अन्य वडामा उक्त बिन राख्ने काम गरिने प्रमुख श्रेष्ठले बताए । 

यसका लागि घरदैलो कार्यक्रममार्फत उत्पादकलाई फोहर वर्गीकरण विधिमा सचेत गराउने काम पनि महानगरले गरिरहेको छ । वर्गीकरण गरिएको फोहर छुट्टाछुट्टै व्यवस्थापन गर्न रङ संकेतसहितको सवारीसाधन तयारी अवस्थामा राखिएको पनि उनले जानकारी दिए । 

घरघरमा फोहर वर्गीकरण गरेजस्तै सार्वजनिकस्थलमा उत्पादन हुने फोहरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा संकलन गरी  दिगो रूपमा फोहर व्यवस्थापन गर्न लागिएको हो । यसरी राखिने सेट दुई प्रकारका छन् । पहिलो सेट सानो आकारको रहेको जनाइएको छ । 

सोमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । एक दशमलव दुई मिटर उचाइ, एक दशमलव २३ मिटर चौडाइ र २५ दशमलव ५५ किलोग्राम तौलको फलामे स्ट्यान्डमा बिन राखिनेछ । यसमा राखिने स्ट्यान्डको मूल्य पाँच हजार एक सय ५० र डस्टबिन प्रतिगोटा मूल्य दुई हजार नौ सय ५० पर्नेछ । 



मध्यम आकारका सेटमा एक दशमलव तीन मिटर चौडाइ र एक दशमलव चार मिटर उचाइ भएको स्ट्यान्ड हुनेछ । एक सय २५ लिटर क्षमताका दुईवटा बिन राखिनेछन् । यसमा प्रयोग हुने स्ट्यान्डको मूल्य पाँच हजार चार सय ५० र बिनको मूल्य तीन हजार आठ सय ९० हो । 

राखिएका सबै बिनको संरक्षणको जिम्मा सम्बन्धित वडाले लिने बताइएको छ । 



  • प्रकाशित मिति : फागुन ५, २०८० शनिबार १४:२१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया