logo-img

[अन्तर्वार्ता] विदेश जाने विद्यार्थी आर्थिक रूपमा सबल हुनुपर्छ  : सचिव चन्द (भिडियाेसहित)

उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीले आवश्यक ध्यान पुर्याउन नसक्दा त्यहाँ पुगेपछि विद्यार्थी विभिन्न समस्यामा पर्ने गरेका छन् । विदेश पुगेपछि भविष्य सुनिश्चित भइहाल्छ भन्ने भ्रम विद्यार्थी र अभिभावकमा बढ्दै गएको छ । जसरी पनि विदेश जाने महत्वाकांक्षा बोकेकै कारण धेरै विद्यार्थीहरू विदेश पुगेपछि समस्यामा पर्ने गरेका छन् ।

आफू जान लागेको देश र अध्ययन गर्न लागेको शैक्षिक संस्थाबारे जानुअघि आवश्यक अध्ययन, अनुसन्धान नगरी शैक्षिक परामर्श संस्थाको मात्र भरपर्ने गरेका कारण पनि विद्यार्थीले नेपालदेखि नै विभिन्न समस्याको सामना गर्नुपरिरहेको हुन्छ । त्यसैले आज हामीले अध्ययनका लागि विदेश जाने योजना बनाएका विद्यार्थीले अपनाउनुपर्ने सावधानी, सही कन्सल्टेन्सीको छनोट कसरी गर्ने ? अध्ययनका लागि विदेश गएका विद्यार्थीले भोग्नुपरेका समस्या र त्यसको समाधानको पाटो केलाउने प्रयास गरेका छौँ ।

यसैगरी आफ्ना छोराछोरीलाई उच्च शिक्षा प्राप्तिका लागि विदेश पठाउँदा अभिभावकले कसरी सावधानी अपनाउने ? लगायतविषयमा स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)का सचिव पृथ्वीबहादुर चन्दसँग फरकधारका लागि मिलन दाहालले गरेको विशेष कुराकानी 

नेपाली विद्यार्थीको रोजाइमा कुन–कुन देश पर्ने गरेका छन् ?

पहिला अष्ट्रेलियाको एउटा चार्म थियो । पछिल्लो समय अष्ट्रेलियाले भिसासम्बन्धी केही नियम परिवर्तन गरेकाले विद्यार्थीले आफ्नो गन्तव्य परिवर्तन गरेको देखिन्छ । बीचमा क्यानडा पनि नेपाली विद्यार्थीको गन्तव्य बनेको थियो । तर, क्यानडाले पनि अन्तर्राष्ट्रिय विद्यार्थीसम्बन्धी नियम परिवर्तन गरेकाले अहिले विद्यार्थीको रुची बेलायत, अमेरिका र जापानतर्फ बढ्दै गएको देखिन्छ ।

क्यानडा र अष्ट्रेलियाले नियम परिवर्तन गरेका कारण त्यसतर्फ नेपाली विद्यार्थीको क्रेज घटेको हो ?



हाम्रा विद्यार्थीको रोजाइकोे परिप्रेक्ष्यमा भन्दा अष्ट्रेलिया र क्यानडा नै हो । हरेक देशले बेलाबखतमा आफ्ना नीति नियम परिवर्तन गर्दै मापदण्ड तयार गरेका हुन्छन् । त्यसको मारमा हाम्रो जस्ता देशका विद्यार्थीलाई पर्ने गर्छ । यसले नेपाली विद्यार्थीलाई मात्र नभएर हाम्रो छिमेकी देश भारतलाई पनि असर परेको छ । त्यहाँका विद्यार्थीलाई पनि कडाइ गरेको अवस्था छ ।

अष्ट्रेलियामा भारतबाट जाने विद्यार्थीको संख्या पनि घटेको छ । भारतबाट जाने विद्यार्थी संख्या जहिले पनि बढी हुन्छ । तर, तुलनात्मक रूपमा भने घटेको छ । भारतबाट क्यानडा जाने विद्यार्थीको संख्या घटेको र नेपालबाट पनि अहिले लगभग रोकिएका अवस्था छ । क्यानडाको नयाँ नियम र डकुमेन्टेसन पक्ष कस्तो खालको आउँछ भन्ने स्पष्ट भएको छैन ।



त्यसैले अहिले भिसा प्रोसेस नै रोकिएको अवस्था हो । भिसा लगाउन मिल्छ, तर पनि डकुमेन्ट नआईकन अप्लाई गर्दा भिसाको डिसिजन आउने सम्भावना कम हुन्छ । त्यही भएर क्यानडा जाने विद्यार्थीको संख्या कम भएको हो । अन्यथा त्यो देशले दिएको सुविधा, त्यहाँ पढ्न जाने विद्यार्थीले प्राप्त गर्ने अवसर र त्यहाँका विश्वविद्यालयको स्तर हेरेर अहिले पनि क्यानडा, अष्ट्रेलिया विद्यार्थीको रोजाइमा पर्ने गर्छ ।

अस्ट्रेलिया, युके, क्यानडाजस्ता देशमा नेपाली विद्यार्थीलाई सर्भाइभ हुनै गाह्रो छ भन्ने सुनिन्छ । किन त्यस्तो हुन्छ ?

कोभिड पछिको परिप्रेक्ष्यमा संसारभर नै महँगी बढेको छ । अष्ट्रेलियाले बसाइ खर्च बढाएको छ, युके र क्यानडामा पनि बढेको छ । यसले पनि असर परेको हो । अन्य देशको दाँजोमा नेपालीको आम्दानी स्रोत घटेको छ, तर विदेश जाने विद्यार्थीको संख्याचाहिँ बढेको छ ।

नेपालबाटै जाँदा विद्यार्थीमा तयारी कम भएको हो कि भन्ने हामीलाई पनि भइरहेको छ । कतिपय कुरामा विद्यार्थीलाई परामर्शको समस्या हुनसक्छ, कतिपय विद्यार्थी र अभिभावकले धेरै महत्वाकांक्षा राख्दा पनि विद्यार्थीलाई मानसिक तनाव भएको हो किजस्तो देखिएको छ । यद्यपि, ती देशमा विद्यार्थीको उचित व्यवस्थापनचाहिँ हुन्छ ।

विद्यार्थीले विदेशमा अध्ययनसँगै पैसा कमाउन सक्ने सम्भावना कत्तिको छ ?

विदेशमा विद्यार्थी पढ्न जानु र पढाइसँगसँगै केही समय काम गर्न दिनु ती देशले दिएको एउटा सुविधा मात्र हो । परामर्शको ठूलो समस्या पनि यहीँनिर देखिन्छ । विद्यार्थीको सहजताका लागि केही समय काम गर्न दिएको कुरालाई हामीले काम गर्नै जान लागेको भनेर सोच्नुहुँदैन । 

विद्यार्थी मात्र नभएर अभिभावकले पनि यसबारे जानकारी लिन जरुरी देखिन्छ । किनकि तपाईं आफ्नो छोराछोरीलाई १८–१९ वर्षको युवा उमेरमा विदेश पठाइराख्नुभएको छ । यो त्यति ठूलो उमेर पनि होइन । त्यो उमेरमा विद्यार्थीले जति जान्न जरुरी हुन्छ त्यति नै अभिभावकले पनि छोराछोरीको भविष्यबारे बुझ्न जरुरी हुन्छ । परामर्शका पक्षमा पनि यो चिज कहीँ कतै खड्केको चाहिँ छ ।

विद्यार्थीलाई परामर्श गर्दा तिमी पढ्न जान लागेको हो । पहिला अध्ययनको तयारी गर, तिमीले पार्टटाइम पाएको जब एउटा सानो सुविधा मात्र हो, त्यो ग्यारेन्टेड चिज होइन, भोलि पार्टटाइम जब नपाउन पनि सक्छ, त्यति समय काम गरेर विदेशमा सर्भाइभ हुँदैन भन्ने प्रस्ट पारिदिनुपर्छ । त्यसैले हामी आर्थिक रूपमा कसरी सबल भएर जाने र भविष्यका योजनाको तयारी गरेर गयौँ भने केही हदसम्म सहज हुन्छ ।

त्यसैले अध्ययन सकिएपछि अष्ट्रेलिया, क्यानडा, युकेजस्ता देशले पोस्टस्टडी ओर्क पनि दिने गर्छन् । त्यतिबेला विद्यार्थीले पूरा समय काम गर्न पाउने सुविधा नै पाउँछन् । विद्यार्थीले भविष्य बनाउने समय पनि त्यही हो । तर, अध्ययन गरिरहँदा गर्ने काम भनेको एउटा सुविधा मात्र हो । त्यसले विद्यार्थीलाई सर्भाइबल बनाउँछ भन्ने ग्यारेन्टी भने गर्न सकिँदैन । त्यसका लागि पूर्वतयारी गर्न धेरै आवश्यक छ ।

विद्यार्थीले विदेश जानुअघि अपनाउनुपर्ने सावधानी के–के हुन् ?

विदेश जानुअघि विद्यार्थी तीनवटा कुरामा परिपक्व र पूर्वतयारी गर्नुपर्छ भन्ने मलाई लाग्छ । पहिलो–विद्यार्थीले आफ्नो शैक्षिक अवस्था कस्तो छ र कुन विषय पढ्न कुन देशको, कुन विश्वविद्यालय जान खोजेको हो त्यसबारे राम्रो जानकारी लिएर जानुपर्छ ।

दोस्रो– विद्यार्थीको आर्थिक पाटो कस्तो छ भन्ने हो । अन्तर्राष्ट्रिय विद्यार्थी खास गरी नेपालबाट जाने विद्यार्थीले पूरा शुल्क तिरेर नै जाने हो । छात्रवृत्ति पाएको छ भने अलग पाटो भयो अन्यथा विद्यार्थीले पूरा शुल्क तिरेर जाने हो । यस अर्थमा नेपालमा लाग्ने शैक्षिक शुल्कको तुलनामा विदेशका कलेज, विश्वविद्यालयमा लाग्ने शुल्क अत्यन्तै महँगो हुन्छ । त्यति हामी तिर्न सक्छौँ वा सक्दैनौँ ।

अहिलेको परिदृश्य के देखिएको छ भने पहिलो एक सेमेस्टर वा एक वर्षको शैक्षिक शुल्क नेपालबाट तिरेर जाने, बाँकी शुल्क विद्यार्थीले उतै कमाउँदै तिर्छु भन्ने भेटिन्छन् । यदि कुनै विद्यार्थीले कमाएर शुल्क तिर्न सक्छ भने राम्रो हो । तर सकेन भने के गर्ने ? भन्ने प्रश्न आउँछ । विद्यार्थीले कमाउन सकेन भने परिवारले सहयोग गर्न सक्छ ? त्यसको तयारी पहिले नै गर्नुपर्ने हुन्छ । यो कुरा विद्यार्थीका अभिभावकले बुझ्नुपर्छ । 

आफ्ना छोराछोरीलाई विदेश पठाउँदा यी कुरामा पूर्ण जानकारी राख्ने र सहयोग गर्नुपर्छ । अभिभावकलाई के सहज हुन्छ भने भिसा लागेर विद्यार्थी विदेश गइसकेको अवस्थामा पनि विद्यार्थीको अवस्थाबारे शैक्षिक परामर्शदातालाई जानकारी गराएको खण्डमा भइपरिआएको समस्यामा हामी पनि सहयोग गर्न सक्छौँ । तर, अहिले प्रायः विद्यार्थी भिसा लागेपछि विदेश जान्छन् र परामर्शदाताको सम्पर्कमा नै रहँदैनन् । त्यो अर्थमा पनि कहिलेकाहीँ विद्यार्थीलाई गाह्रो भएको देखिन्छ अन्यथा अभिभावकले पनि त्यो एउटा सहयोग गर्ने हो भने हामीले पनि विद्यार्थीलाई सहयोग गर्न सक्छौँ । यसले आजको मात्र नभएर भविष्यमा सबै समस्यामा हाम्रो पनि सहयोग रहन सक्छ ।

विद्यार्थीले राम्रो शैक्षिक परामर्श संस्था छनोट कसरी गर्ने ?

नेपाली विद्यार्थी जो विदेश जान चाहान्छन् ती सबैलाई अनुसन्धान नै गर्न भन्छु । नेपालका कुनै पनि कन्सलटेन्सीमा बुझ्न जाँदा शुल्क लाग्दैन । त्यसैले विद्यार्थीले धेरैभन्दा धेरै कन्सल्टेन्सीमा बुझ्न सक्छन् । अहिले फेसबुक फेज, वेबसाइटजस्ता विभिन्न सामाजिक सञ्जालमा कन्टेन्ट राखिएका हुनसक्छन् । त्यसबारे सत्यतथ्य जानकारी लिन सक्छन् ।

परामर्श दिने परामर्शदाताको दक्षता के हो ? त्यो प्रत्यक्ष भेट नगरेर बुझ्न सकिँदैन । २० देखि ३० वटा कन्सल्टेन्सी भिजिट गर्न विद्यार्थीलाई अनुरोध गर्छु । भविष्यका लागि ठूलो लगानी गर्ने भएका कारण सोचेर बुझेर मात्र लगानी गर्नुहोस् भन्छु ।

तपाईं आबद्ध मार्क एजुकेसन फाउन्डेसन कन्सल्टेन्सीबाट विदेश जाने विद्यार्थीलाई के फाइदा हुन्छ ?

हाम्रो कन्सल्टेन्सीले विद्यार्थीलाई तथ्यपूरक परामर्श गर्छ । विदेश गएपछि भविष्य राम्रो बन्छ पैसा कमाउँछौँ भन्ने तरिकाले हामी परामर्श दिँदैनौँ । म आफैँ कन्सल्टेन्सीको ओनर भएको नाताले मैले मेरा हरेक काउन्सिलरलाई त्यो तालिम दिएको छु र हाम्रा काउन्सिलरहरू हामीले काम गर्ने पाँच देशबारे अप टु डेट हुन्छन् ।

उहाँहरूले सजिलै विदेश जान सकिन्छ भन्ने तरिकाबाट काउन्सिलिङ गर्नुहुन्न । विदेश जान विद्यार्थी सक्षम छ कि छैन छानेर मात्र हामी काम गर्छौं । त्यसैले कान्सिलिङका लागि जति पनि विद्यार्थी आउँछन् उनीहरूलाई तिम्रो काम हुन्छ भनेर हामी भन्दैनौँ । हामी योग्य विद्यार्थीलाई मात्र पठाउँछौँ । योग्य विद्यार्थीभन्दा उसको शैक्षिक योग्यता मात्र नभएर आर्थिक पाटो कस्तो छ ? परिवारले सपोर्ट गर्न सक्छ या सक्दैन ? त्यसलाई पनि हेरेर अप्लाई गर्न तिमी योग्य छौँ वा छैनौँ भनेर जानकारी दिने काम गर्छौं ।

विद्यार्थीको आकर्षण युरोपियन देशतर्फ मोडिएको हो ?

युरोपियन देशतिर पनि विद्यार्थीको चार्म बढेको छ । केही हदसम्म युरोपियन देश जान सहज हुने देखेर पनि होला । डकुमेन्टेसनको पार्ट सहज र धेरै खर्चिलो नभएको भएर पनि विद्यार्थीको आकर्षण त्यसतर्फ मोडिएको हुनसक्छ । विद्यार्थी युरोपका देशहरूमा कम खर्चले पनि जान सक्छन् । त्यस्तै बेलायत जाने विद्यार्थीको संख्या पनि बढेको छ । युकेको भिसा सक्सेस रेसियो पनि राम्रो छ । जुन देशको भिसा धेरै लाग्छ, त्यही देशमा धेरै जाने नेपाली विद्यार्थीको परिदृश्य भएर पनि हुन सक्छ ।

साँचो कुरा के हो बुझेरभन्दा पनि भिसा जहाँ लाग्छ त्यहाँ सेटल भइहाल्छु भन्ने हिसाबले पनि भिसा सहजै आउने देशमा जाने विद्यार्थीको संख्या बढ्दै गएको देखिन्छ ।
डकुमेन्टेसनको पार्ट सजिलो हुनुका साथै भिसा सक्सेस रेट पनि राम्रो भएका कारण युकेलगायत युरोपियन देशमा विद्यार्थीको चार्म बढेको देखिन्छ ।

विद्यार्थीले पाठ्यक्रम छनोट गर्दा ध्यान दिनुपर्ने कुरा के हुन् ?

पहिलो कुरा हाम्रा विद्यार्थीहरूमा अनुसन्धान गर्ने क्षमताको कमी देखिन्छ । रिसर्च त गर्नै चाहँदैनन् । अर्काे कुरा, कन्सल्टेन्सीको धेरै भर पर्छन् । कन्सल्टेन्सीले जे भन्यो त्यहीमा भर पर्छन् । विद्यार्थीले रिसर्च गर्ने बानी बसाल्नुपर्छ । कन्सल्टेन्सीमा गएर परामर्श पनि लिने र आफैँले पनि रिसर्च गर्नुपर्छ ।  विश्वविद्यालयसँग सीधै कुरा गर्न पाउने अवसर पनि विद्यार्थीलाई हुन्छ ।

पाठ्यक्रमबारे विश्वविद्यालयको  वेबसाइटमै राखिदिएको हुन्छ । यसमा गएर पनि विद्यार्थीले हेर्न, खोज्न र अध्ययन गर्न सक्छन् । त्योभित्र भएका कन्टेन्ट र सब्जेक्ट के–के छन् जुन आफूलाई सुहाउँछ कि सुहाउँदैन, मैले गर्न सक्छु कि सक्दिँन भनेर विद्यार्थीले मजाले हर्न सक्छन् । अन्यथा हामीसँग आएर पनि त्यसबारे जानकारी लिनसक्छन् । सजिलोका लागि मात्र विश्वविद्यालय छनोट गरेर जानुहोस् भन्ने सल्लाह हामी दिँदैनौँ ।

विद्यार्थीले विदेशमा भोग्नुपर्ने समस्या मानसिक र आर्थिक मात्रै हुन् कि अरू पनि छन् ?

आर्थिक र मानसिक समस्या छ नै अर्काे पाटो विद्यार्थीको अध्ययन गर्ने पाटो पनि घट्दै गएको छ । विश्वविद्यालयबाट ड्रपडाउन हुने रेसियो पनि बढ्दै गएको देखिन्छ । यसमा विद्यार्थीको पूर्वतयारीमा पनि कमी भएको म देख्छु । जहिले पनि अन्तिम समयमा मात्र तयारी गर्ने बानी हामीमा छ । कुनै पनि देशमा पढ्न जाँदा ५ देखि ६ महिनासम्मको तयारी गरेर जाँदा धेरै हदसम्म सहज हुन्छ । तर, हाम्रा विद्यार्थीमा जहाँ छिटो हुन्छ, जुन कन्सल्टेन्सीले छिटो काम गरिदिन्छ त्यहीँबाट भिसा अप्लाई गरेर जाने बानी छ । विद्यार्थीलाई भिसा मात्र चाहिएको छ ।

भिसा आइसकेपछि त्यो देशको नीति नियम, महँगी, अन्तर्राष्ट्रिय विद्यार्थीले त्यहाँ गर्न पाउने वा नपाउने क्रियाकलापजस्ता कुरा बुझेर जानुपर्छ । भिसा लागेको भोलिपल्ट हिँडेको पनि देखेको छु । तर, विद्यार्थीले जानुअघि त्यहाँको बारेमा बुझ्नुपर्छ, त्यहाँ कुनै समस्यामा पर्याे भने कुन निकायसँग सम्पर्क गर्नेलगायत कुराको जानकारी पहिले नै लिनुपर्छ । पूर्वतयारी महत्वपूर्ण कुरा हो । विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी शाखा हुन्छ, त्यसको सम्पर्कमा रहँदा पनि धेरै सहज हुन सक्छ ।

विद्यार्थीले छिटो–छिटो विश्वविद्यालय परिवर्तन गर्नुको कारण के हो ?

विश्वविद्यालयको शुल्कभन्दा कलेजको शुल्क कम हुन्छ । कलेजमा अध्ययन गर्न पार्टटाइम काम गरेर शुल्क तिर्न पनि सहज हुन्छ । अहिले विद्यार्थी त्यहीँमा रमाइरहेका हुन्छन्, तर विद्यार्थीले भविष्य देखेकै छैनन् । विश्वविद्यालयबाट अध्ययन गरेर निस्किने विद्यार्थी र एउटा सामान्य कलेजबाट पास भएर निस्किने विद्यार्थीको भविष्यमा धेरै फरक हुन्छ । यो कुराको महसुस विद्यार्थीलाई अध्ययन गरेर निस्केपछि मात्रै थाहा हुन्छ ।

त्यसको एउटा सानो उदाहरण म तपाईंलाई दिन्छु– क्यानडाले नयाँ नियम ल्याउँदै छ । जसमा प्राइभेट कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई पोस्टग्र्याजुएट वर्क पर्मिट नदिने उल्लेख गरिएको छ । उक्त नियम सेप्टेम्बरपछि लागू हुँदै छ भन्नुको अर्थ प्राइभेट कलेजहरूको पोचिङ के छ र विश्वविद्यालयको शिक्षा प्रणालीले कति परक पार्छ भन्ने हो ।

विद्यार्थी आकर्षित भएको सस्तो शुल्कमा हो, अन्यथा विद्यार्थीको भविष्य र भोलि उतै सेटल हुन खोज्दा वा नेपालमै फर्केर कुनै काम गर्नको लागि पनि राम्रो डिग्री आवश्यक पर्छ । त्यो कुरा विद्यार्थीले सामान्य कलेजबाट पाउँदैन । कलेजमा जानुको एउटा बेफाइदा यही हो । विद्यार्थीले सर्टटम बेनिफिट खोजेका छन्, तर लङटर्म बेनिफिट हेरेका छैनन् ।

विदेश अध्ययन गर्न जाँदा विश्वद्यिालय छनोट गर्ने कि कलेज ?

विद्यार्थी कुन देश जाँदै छ भन्ने कुरामा भरपर्छ । सबै कलेज खराब पनि हुँदैनन् । अमेरिका, बेलायतका राम्रा टप कलेज पनि छन् । जस्तो किङ्ग्स कलेज, लन्डन स्कुल अफ इकोनोमिक्स एण्ड बिजनेसजस्ता उत्कृष्ट कलेज पनि छन् । यी कलेजहरूका र्याङकिङ विश्वविद्यालहरूको भन्दा हाई छ । यस्ता कलेजहरूमा जाने हो भने राम्रो हो । सरकारले सञ्चालन गरेका कलेजमा जाँदा पनि राम्रो हुन्छ । तर, विश्वविद्यालयमा जाँदा कलेजले दिने अप्सन धेरै हुन्छ । जुन सबै कलेजले दिन सक्दैनन् ।

स्नातक अध्ययन गर्न विदेश जाने कि स्नातकोत्तर ?

प्लस टु को अध्ययनपश्चात् जाँदा पनि हुन्छ वा मास्टर्सको अध्ययन गर्न जाँदा पनि हुन्छ । दुवै पक्ष राम्रो हो । कसरी राम्रो हो भन्नुहुन्छ भने– विद्यार्थीले आफ्नो भविष्य निर्धारण प्लस टुको अध्ययनपछि नै गर्ने हो । ​ब्याचलरको अध्ययन पूरा गरिसक्दासम्म विद्यार्थीले कुन क्षेत्रमा आफ्नो भविष्य लैजाने भनेर छनोट गरिसकेको हुन्छ ।

मस्टर्स अध्ययन गर्न जाने कस्तो हो भने हाम्रो देशको सन्दर्भमा हेर्ने हो भने पहिला प्लस टु त्यसपछि ब्याचलर र  मास्टर्स गर्ने अनि मात्र जागिर खोज्ने प्रचलन छ । मास्टर्स भनेको जीवनमा तपाईंले जहिले पनि गर्न सक्नुहुन्छ । तपाईं आफ्नो भविष्य बनाएर रिटायर्ड जीवनमा पनि मास्टर्स पढ्न सक्नुहुन्छ । मास्टर्सले तपाईंको बेसिक करिअर बनाउने होइन । बनिसकेकेको करिअरलाई एडप गर्ने हो । यसमा नेपाली समाजको सोचाइ फरक छ ।

तर, विदेशमा ब्याचलरलाई पहिलो प्राथमिकतामा राखिएको हुन्छ । तपाईंले हेर्नुभयो भने ब्याचलरमा विद्यार्थीको संख्या धेरै हुन्छ भने त्यसको तुलनामा मास्टर्समा २५ देखि ३० प्रतिशत विद्यार्थी मात्र हुन्छन् । त्यसैले गर्दा तपाईं प्लस टु पछि जानुहुन्छ भने पनि राम्रो वा मास्टर्स गर्न जानुहुन्छ भने पनि राम्रो हो । जुन आ–आफ्नो इच्छा हो ।

मास्टर्स अध्ययन गर्न जाँदा सहज हुन्छ भन्ने भाष्य गलत हो ?

यर्थाथमा तपाईं​ले अनुसन्धान गर्नुभयो भने त्यो सही हुने कुरा वास्तविकता होइन । म आफैँले पनि देखेको । म पनि धेरै देशको भ्रमण गरेर आएको छु । म पनि विदेशमा अध्ययन गरेको हुँ । त्यसैले म के देख्छु भने मान्छे पढ्न र भविष्य बनाउन मानसिक रूपमा तयार हुने समय भनेको १८ देखि २५ वर्षसम्म हो । यो उमेरभित्र तपाईंले एउटा क्षेत्र छनोट गर्नुभयो भने तपाईं लामो समयसम्म त्यस क्षेत्रमा आफ्नो भविष्य बनाउन सक्नुहुन्छ ।

नेपालबाट मास्टर्स अध्ययन गर्न विदेश गएका विद्यार्थीको परिदृश्य के देखिन्छ भने विद्यार्थीले मास्टर्स सकेपछि आफ्नो करिअरलाई निरन्तर दिन होइन कि फेरि करिअर सुरु गर्छु भनेर गएको देखिन्छ । त्यसो गर्दा उमेर ग्यापले लामो समय जान्छ । अर्काे मास्टर्स पढेर सक्दासम्म ब्याचलर अध्ययन गरेको विद्यार्थीको करिअर बनिसकेको हुन्छ । र उसको कम्पिटिसन ब्याचलर अध्ययन गरेको विद्यार्थीसँग हुन्छ । उसले सुरुदेखि फेरि भविष्य सुरु गर्नुपर्छ ।

विदेश जाने तयारी गरेका विद्यार्थी र उनका अभिभावकलाई तपाईंको सुझाव के छ ?

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को सचिव पनि भएको नाताले सकेसम्म आफ्ना छोराछोरीलाई नेपालमै अध्ययन गराउनुहोस् भन्छु । हामीले ‘स्टडी इन नेपाल’ नामक क्याम्पियन चलाइरहेका छौँ । यदि विदेश नै जाने हो भने सबैभन्दा पहिला अध्ययन अनुसन्धान गर्नुहोस् भन्छु । आफूलाई सहज हुने देश र विश्वविद्यालय छनोट गर्नुहोस् । धेरै ठाउँमा काउन्सिलिङ लिनुहोस् । त्यसो गर्दा पनि तपाईंले धेरै कुरा थाहा पाउनुहुन्छ । आर्थिक रूपमा सबल भएर मात्र जानुहोस् ।

विदेश जाँदा ठूला सपना लिएर नजानुहोस् । भोलि आफूले सोचेजस्तो भएन भने सबैभन्दा पहिला गाह्रो तपाईं​लाई पर्छ । आर्थिक रूपमा सबल भएर किन जानुहोस भन्छु भने भोलि विदेशमा अध्ययन गर्न गइसकेपछि आर्थिक समस्यामा पर्नुभयो भने सहयोग गर्ने मान्छे कम हुन्छन् । त्यसैले ब्याकप राखेर जानुहोस् भन्छु । विदेश पुगेपछि सुरुमै तपाईं​ पैसा कमाउनेतर्फ लाग्नुभयो भने तपाईंको पढाइ पनि बिग्रिन्छ । पढाइ भएन भने भविष्य पनि बन्दैन । त्यसैले यी दुवैलाई सन्तुलित बनाएर लैजान आग्रह गर्छु । 

विद्यार्थी मानसिक समस्यामा पर्नुमा अभिभावक कति जिम्मेवार हुन्छन् ?

हामीले भेटेका अधिकांश मध्यम वर्गीय परिवारका छोराछोरी अध्ययनको लागि विदेश जाने गरेका छन् । हुनेखाने परिवारका पनि नगएका होइनन्, तर समस्यामा मध्यम वर्गीय परिवारका विद्यार्थी परेको देखिन्छ । मध्यम वर्गीय परिवारले छोराछोरीलाई अध्ययन गर्न विदेश पठाउँदा बैंकबाट ऋण लिएका हुन्छन् वा आफ्न्त साथीभाइसँग सापटी लिएका हुन्छन् ।

त्यसरी विदेश पठाइसकेपछि ठूलो अपेक्षा यहीँनेर रहन्छ । विद्यार्थीलाई तेरो लागि खर्च गरेको पैसा तैँले नै तिर्नुपर्छ भन्ने बोझ बोकाइन्छ । ऋण दिने बैंक वा व्यक्तिले परिवारलाई पनि तनाव दिइरहेको हुन्छ । यही कुराको ब्यालेन्स मिलाउन नसक्दा समस्या हुने गरेको छ । त्यसकारण धेरै ऋण लिएर विदेश नपठाउन भन्छु । ऋण लिनै पर्ने भए जम्मा खर्चको ३० प्रतिशत मात्र ऋण लिनुहोस् भन्छु जसले धेरै भार पर्दैन ।

विदेश अध्ययन गर्न कस्ता विषय छनोट गर्ने ?

प्लम्बिङ, मोटर मेकानिक, कम्प्युटर टेक्निसियन, एसी मेकानिक, इलेक्ट्रिसियनजस्ता विषयमा कमाइ पनि राम्रो छ । विदेशमै सेटल हुन चाहनुभयो भने पनि पिआरको अप्सन पनि धेरै छ । यसको डिमान्ड नेपाली बजारमा पनि धेरै । अब जाने विद्यार्थीले मेडिकलसम्बन्धी विषय छनोट गर्न सक्छन् । ​साइकोलोजी धेरै कम परेको देखिन्छ । यसको माग नेपालसँगै विदेशमा पनि बढ्दै गएको छ । त्यस्तै, टेक्निकलसम्बन्धी विषय अध्ययन गर्दा राम्रो हुन्छ ।

  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार १७:३७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया