गण्डकी प्रदेशले जित्यो राइनो संरक्षण गोल्डकपको उपाधि

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जारी छैटौँ राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले उचालेको छ । जिल्लाको मध्यविन्दु नगरपालिका-२, स्थित राइनो रङ्गशालामा जारी प्रतियोगितामा नवलपुरको अठ्ठाइस बिघा क्लबलाई एककाविरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै उपाधि गण्डकी प्रदेशले उचालेको हो ।  

बुधबार भएको फाइनल खेलमा पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको खेल सुरु भएलगतै खेलको ४७ औँ मिनेटमा गण्डकी प्रदेशका जर्सी नम्बर ६ का खेलाडी मुकुन्द निउरेले पहिलो गोल गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ५५ औँ मिनेटमा गण्डकीका खेलाडी मुकुन्द निउरेले पुनः गोल गर्दै आफ्नो टिमको अग्रता दोब्बर बनाएका थिए । 

अठ्ठाइस बिघा क्लबका जर्सी नम्बर दुईका खेलाडी एन्जल महर्जनले आफ्नो टिमका लागि खेलको ७० औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि कुनै गोल हुन नसकेपछि गण्डकीले जित निकालेको हो ।

जितसँगै गण्डकी प्रदेशले उपाधिसहित ८ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको गरेको छ । उपविजेता बनेको अठ्ठाइस बिघा क्लबले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

गैँडा संरक्षणको सन्देश दिने उद्देश्यले २० वर्ष अघिदेखि राईनो संरक्षण गोल्ड कप प्रतियोगिता हुँदै आएको छ । छैटौँ संस्करणको प्रतियोगितामा नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टिम, लुम्बिनी, बागमती र गण्डकी प्रदेश, मछिन्द्र, सङ्कटालगायत १२ वटा टिम सहभागी थिए । 

नवलपुरलाई खेलको माध्यमबाट चिनाउने साथै गैँडा संरक्षणको सन्देश दिन प्रतियोगिता गरिँदै आएको आयोजक राईनो क्लबका अध्यक्ष दोमनबहादुर भण्डारीले बताए । छैटौँ संस्करण सफल रुपमा सम्पन्न भएको र नियमित रुपमा आगामी दिनमा प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।





  • प्रकाशित मिति : फागुन १०, २०८० बिहीबार ७:४१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया