चार अस्पतालको फोहर संकलनमा महानगरको रोक

काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि आजदेखि चारवटा अस्पतालको फोहर संकलन नगर्ने भएको छ । 

महानगरले कलंकी क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चाबहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहर संकलनमा रोक लगाइएको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए । 

कामपाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन अनुगमनको क्रममा ती अस्पतालको फोहर व्यवस्थापन प्रचलित ऐनबमोजिम नभएको भन्दै रोक लगाएको हो ।  यसअघि पनि कामपाले कान्ति बाल अस्पतालको फोहर संकलनमा रोक लगाएको थियो । 

फोहर संकलनमा रोक लगाइएका अस्पतालहरुलाई संक्रमित फोहर निःसंक्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहरमैला व्यवस्थापनका लागि गरिएका प्रतिबद्धतासँग सम्बन्धित कागजपत्र, अहिले फोहर व्यवस्थापनका लागि सहकार्य गरिएका संघ-घसंस्थाहरुको विवरण लिएर तीन दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । 

'ल्याण्डफिल साइटमा मानव स्वास्थ्यका निम्ति हानीकारक फोहर नपुगोस् भनेर हामीले अनुगमन गरेका हौँ । अनुगमनका क्रममा फोहर व्यवस्थापन अभ्यास हेर्दा फरक  अवस्था देखिएको छ,' श्रेष्ठले भने, 'संक्रमित फोहरको व्यवस्थापन उत्पादक आफैँको हुन्छ । अस्पतालहरुको अवस्था हेर्दा सबैको एकै किसिमको गल्ती छैन, कसैले तत्काल सुधार गर्न सक्ने देखिन्छ । कुनै अस्पतालको फोहर व्यवस्थापनका लागि पूर्वाधार र संयन्त्र नै बनाउनुपर्ने देखिएको छ । यसका आधारमा रोकिएको फोहरको सम्बन्धमा निर्णय गरिनेछ ।’

फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कामपाले विगत दुई हप्तादेखि अस्पतालजन्य फोहरको नियमित अनुगमन र  आवश्यक निर्देशन दिदैँ आएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई स्वास्थ्यजन्य फोहरमैला सङ्लन, पुनः उपयोग, प्रशोधन, विसर्जन र त्यसको सेवा शुल्क निर्धारण र नियमन गर्ने अधिकार दिएको छ ।  साथै स्वास्थ्य संस्थाहरुले चिकित्साजन्य फोहरको उचित व्यवस्थापन नगरे त्यस्ता संस्थाहरुलाई दण्ड गर्ने अधिकार पनि स्थानीय सरकारलाई दिएको छ । 





  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार २०:६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया